स्थानीय चुनावमा कसलाई भोट दिने होला ?

तस्बिरको कथा मलाई केही भन्नु छ मेरो आवाज सम्पादकीय

– कार्तिकेय घिमिरे

यस पटक स्थानीय चुनावमा कसलाई भोट दिने होला ?
आज सिर्जनात्मक लेखनको कक्षामा कक्षा ७ का १५ वर्षका किशोरले यो प्रश्न सोधे । म एकछिन चुप लागेँ । फेरि सोचेँ, आज मैले यो कक्षा काेठाका बालबालिका र किशोरकिशोरीको मन्चबाट देशभरिका बालबालिका र किशोरकिशोरीहरुलाई केही कुरा भन्नै पर्छ । त्यसपछि मैले केही कुरा भनेँ । त्यही टिपोट यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेको छु :


प्रिय बालबािलका र किशाेर मित्रहरु,
मलाई थाहा छ अहिले तपाईहरुको भोट दिन पाउने उमेर भएको छैन । भोट दिन नपाउने हुँदैमा यो प्रश्न सोध्नु र यो प्रश्नमाथि छलफल नै गर्नुहुन्न भन्ने पनि होइन ।
हो, तपाईंहरुले जस्तै आजभोलि बिहानीको हिँडाइमा यो प्रश्न मैले पनि आफैँले आफैँलाई सोध्ने गरेको छु ।
म कालोपुलको सिफल धर्मभक्तकाे शालिकको चोकबाट बिहानीको हिँडाईमा निस्कन्छु । ओरालो झरेर पुल तरेपछि केही अगाडि मूल बाटोमै चर्च छ । चर्चले ओगटेको क्षेत्र हेरेर म लोभिन्छु, त्यसपछि अलि अगाडि बढेर मालीगाउँको मोडबाट घुम्दै म पुरानो हीरा रत्न हलअगाडि पुग्छु । त्यहाँबाट केही अगाडि महानगर पालिकाको सहयोगमा लोभलाग्दो क्षेत्र ओगटेर बन्दै गरेको नर बुद्भ पार्क गुम्बा छ । त्यहाँबाट पनि म अगाडि बढ्छु । हाँडीगाउँको ओरालोबाट केही अगाडि बढेपछि गणेश मन्दिरले त्यसरी नै लोभलाग्दो क्षेत्र ओगटेको छ । अनि अहिले त्यही क्षेत्र अगाडि महानगर पालिकाकाको विशेष सहयोगमा लोभलाग्दो क्षेत्र ओगटेर गोरखनाथ मन्दिर बनेको छ । त्यहाँ अरु संरचना पनि बन्दैछन् ।
यी सबै हेरेपछि मेरो मनले मलाई फेरि प्रश्न गर्छ, होइन स्थानीय चुनावमा म कसलाई भोट दिऊ ?


त्यसपछि केही दिनअघि एक जना मित्रले पार्टीको घोषणा पत्रमा बालबालिकाको मुद्दा कसरी समेटिन सक्छन् ? भनेर लेख्नुभएको लेखमा समेटिएका कुरा सम्झन्छु ।
फेरि सोच्छु, हाम्रो देशमा विदेशी दातृ निकायले थैली खोलिदिने विषयहरु मात्र ठुलाे स्वरकासाथ बालअधिकारको विषय बन्ने गरेका छन् ।
त्यसैले मित्रहरु,
अहिले तपाईंले भोट दिन पाउनुहुन्न तर भोटका लागि अभिभावकलाई सिफारिस त गर्न सक्नुहुन्छ । त्यसैले तपाईहरुलाई मेरो अनुरोध छ, मन्दिर, गुम्बा र चर्च बनाउनेलाई भोट दिन कहिले सिफारिस नगर्नुस् । म पनि तिनीहरुलाई भोट दिन्नँ ।
हो, हामीले भोट यस्तालाई दिऊँ जसले टोलटोलमा पुस्तकालय र व्यायाम केन्द्र र खेलकुदका लागि व्यवस्थित चौरहरु बनाउने वाचा गर्छन् र त्यस्ताे काम गर्न समाजमा भूमिका खेलिरहेका छन् ।
सोच्छु, यो कालोपुल क्षेत्रमा नि यसरी ओगटिएका सार्वजनिक सम्पत्तिहरुमा धार्मिकस्थल बनाउन यति धेरै जाेड नदिएर पुस्तकालय र व्यायाम केन्द्रहरु पनि बनाउने काम गरिएको भए कति गजब हुनेथियो होला ।


त्यसैले यसपटककाे स्थािनय चुनावमा गाउँगाउँमा भोट दिने जनताले पुरानाे जनप्रतिनिधले कतिवटा भ्यू टावर बनायो भन्ने कुरा होइन, कति वटा स्कुल बनायो ? कति वटा पुस्तकालय बनायो र गाउँको हरियाली र सुन्दरताका लागि के कति काम गर्यो ? यो पक्षलाई पनि हेरौँ ।
बाटाे बनाउनु र स्कुलका भवनहरु ठुलाठुला बन्नु मात्र विकास होइन । त्यो भवन भित्र किताब कुनाे (बुक कर्नर) का लागि दिइएको पैसाको चरम दुरुपयोग भइरहेको नहेर्ने जनप्रतिनिधिलाई किन भोट दिने ?
त्यसैले मित्रहरु,
यस पटक कसलाई भोट दिने होला ? भन्ने यो प्रश्नको उत्तरमा अहिले म स्पष्ट भएको छु । अब नयाँ जितेर आउने जनप्रतिनिधिले पाउने समयमा यो कालोपुलको जस्तै धार्मिकस्थलकाे लागि मात्र सरकारी जग्गा हडप्ने जस्ताे नराम्राे काम तपाईंको क्षेत्रमा पनि नहोस् । त्यसैले भोट दिँदा मैले जस्तै सोचेर दिन आफ्ना अभिभावकसँग छलफल गर्नुहोला ।

तपाईंले सिफारिस गर्नुभएको एक एक भोट मिलेर जित्ने नयाँ सोच भएको जन प्रतिनिधिले तपाईंको गाउँठाउँको वर्तमान सुमधुर बनाउन सक्छ । सुमधुर वर्तमानले नै समुज्ज्वल भविष्य सुनिचित गर्न सक्छ ।
जय नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *