
काठमाडौँ, २० चैत (केटाकेटी अनलाइन) बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित मासिक कार्यक्रम विद्यालयका बालबालिकासँग लेखक अन्तर्गत २०७८ चैत महिनाका लागि ‘सम्पदा दर्शन’ का आदरणीय लेखक नियात्राकार सुशीला देउजासँग विद्यालयका बालबालिकाहरुले अन्तरक्रिया गर्नुभयो । चाइल्ड केयर क्लब वुढानिलकण्ठ- ४, काठमाडौँमा सम्पन्न कार्यक्रममा लेखक देउजाद्वारा लिखित कृतिहरु सम्पदा दर्शन (बालनियात्रा संग्रह) र चारुमतीको रहस्य (बालचित्रकथा) माथि बालबालिकासँग छलफल गरिएको थियो । यस महिनाको कार्यक्रम विश्वविख्यात परीकथाकार हान्स क्रिश्चियन एण्डरसनको जन्मजयन्ती र अन्तर्राष्ट्रिय बालपुस्तक दिवसको अवसरमा आयोजना गरिएको थियो ।

बालसाहित्य छलफल समूहद्वारा आयोजित कार्यक्रममा बालबालिकाहरुले लेखक देउजालाई उहाँको पहिलो कृति, नियात्रा लेखन, चारुमती को हुन् ?, सम्पदा दर्शनमा आमाछोरा र छोरीसँगैको यात्राबारे रोचक र बाल भावनाका अवोध प्रश्नहरु पनि सोध्नुभएको थियो ।
लेखक देउजाका प्रकाशित कृतिहरु चाइल्ड केयर क्लबमा संलग्न रही कक्षा ४ देखि १० सम्म अध्धययनरत बालबालिकाहरुलाई केही दिनअघि उपलब्ध गराई उहाँहरुले अध्ययन गरिसक्नुभएपछि यो कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा बालबालिकाहरुले चारुमतीको रहस्य कृतिमा बुवाले दूरबिनले छोरीको जासुसी गर्ने रमाइलो कथा र सम्पदा दर्शन कृतिमा लेखक भ्रमणमा क्रममा अत्यन्त रमाउनु भएको चितवन र स्वर्गद्वारीको भ्रमणबारे पढ्दा निकै रमाइलो लागेको विचार व्यक्त गर्नुभएको थियो ।


बालबालिकासँग छलफलका क्रममा बोल्दै आदरणीय लेखक देउजाले बालबालिकाहरुलाई नेपालप्रति गर्व गर्न र आफ्नै देश नेपाल घुम्न प्रेरित गर्ने लक्ष्यकासाथ सम्पदा दर्शन कृतिको शृंखला लेखन गरेकी हुँ भन्नुभयो । उहाँले आफ्ना कृतिहरु लक्षित उमेर समूहका बालबालिकालाई मन परेकोमा आफू निकै खुसी भएको छु भन्नुभयो ।
छलफल कार्यक्रमको अन्त्यमा बालबालिकाहरु गायन, कविता वाचन लगायत क्षमता प्रस्तुत गरी प्रतिभा प्रस्तुति कार्यक्रममा सहभागी हुनुभएको थियो । कर्ण सिंह खड्काको आमा कविताको प्रस्तुति र छात्रा मायाको जिन्दगी कविता प्रस्तुति र गायन कार्यक्रममा विशेष प्रस्तुतिको रुपमा रहेको थियो ।
चाइल्ड केयर क्लबका अध्यक्ष समाजसेवी रोज गार्डेन प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रमको दोस्रो चरणमा बालबालिकाका निम्ति कार्यरत पत्रकार कार्तिकेय घिमिरेले मिडिया शिक्षाबारे प्रवचन दिनुभएको थियो ।