‘सम्पदा दर्शन’ का लेखकको बाल्यकाल

अडियो / भिडियो मेरो बाल्यकाल साहित्य

मेरो बाल्यकाल
भाइबहिनीहरु, आज हामीले आदरणीय लेखक सुशीला देउजाको बाल्यकालको रमाइलो अनुभव लिएर आएका छौँ ।
नियात्रा लेखनमा स्थापित लेखक देउजाका १३ वटा कृति प्रकाशित छन् । उहाँको पछिल्लो कृति सम्पदा दर्शन (बालनियात्रा संग्रह) हो । यस कृति पढेर नेपालको गौरव सम्पदाबारे ज्ञान आर्जन गर्न सकिने र किताब पढ्दै नेपालका सम्पदा क्षेत्रहरु घुमेको झैँ रोचक आनन्द पनि लिन पाइने भएकाले सम्पदा दर्शन कृति सबै बालबालिकाले एकपटक पढ्नै पर्ने कृति हो ।
आज यही उत्कृष्ट कृति सम्पदा दर्शनका आदरणीय लेखक सुशीला देउजाको बाल्यकालको सम्झना लिएर आएका छौँ । उहाँ आफ्नो बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ :

वुवा श्री तुङ्ग ध्वज खाण र मुमा श्री लक्ष्मी देवी खाणको कोखबाट सुदूर पश्चिमको डोटी शिलगढीमा मेरो जन्म भएको हो । जीवनको स्वर्णिमकाल भनेको नै बाल्यकाल हो । बुवाआमाको काखमा निश्चिन्त पीरताप दुःखबाट टाढा रमाइलो बेला हो त्यो । अहिले पनि त्यो रमाइलो क्षण सम्झँदा बाल्यकालमा बिताएका दिनहरु नै याद आउँछ ।
मेरो बाल्यकालको अधिकतम समय पश्चिम नेपालको पहाडी इलाकामा बित्यो । न्यायालयमा कार्यरत मेरो बुवाको विभिन्न जिल्लामा सरुवा हुने गथ्र्यो । त्यही क्रममा बुबाको बाग्लुङ्गबाट बैतडी सरुवा भयो रे । सानै थिएँ त्यतिबेला, राम्ररी याद पनि छैन । बैतडीमा हामीले लामो समय बितायाैँ । बाल्यकालका अविस्मरणीय रमाइला पलहरु धेरै जसो बैतडीका नि आउँछन् ।
बैतडी बजार डाँडामा अवस्थित छ । सबै भन्दा माथि जगन्नाथको मन्दिर छ । त्यसभन्दा तल टुँडीखेल अनि तेर्साे परेर बसेको बजार छ । त्यही बजारमा हामी बस्थ्यौँ । मेरो अक्षराम्भ पनि यही भएको हो । स्कुल अलि टाढा थियो । म दाइदिदीहरुको पछि लागेर जान्थेँ । बजारबाट जाने बिद्यार्थीहरुको लिडरजस्तै हुनुहुन्थ्यो मेरो दाइ । सबैजना एकै चोटी स्कुल पुग्थ्यौँ । जति हतार गर्दा पनि कहिले काहि ढीला भइहाल्थ्यो । स्कुल पुग्न अलिकता मात्र ढिला भयो भने मास्टरसाब बिद्यार्थीलाई सजाय दिन तम्सी हाल्थे । कहिले बिद्यार्थीको औंलाको तल सिसा कलम राखेर माथिबाट स्केलले हान्थे । नराम्रो सँग दुख्थ्यो होला, दाइहरु अइँया भन्दै रुन्थे । कहिले कुखुरा बनाउँथे । कहिले पिँडौलामा लौरोले स्वाट स्वाट हान्थे । म सानी भएकीले सजाए पाउदिनथँे । तर त्रसीत भई थुरथुर काम्दै हेर्थेँ ।
सजायको डरले बिस्तारै बिस्तारै बिद्यार्थीहरु स्कुलबाट टाढा हुन थालेका थिए । एउटा समूह नै भई हिँडेका बिद्यार्थीहरु नजिकैको जंगलमा खेलेर समय बिताउन थालेका थियौँ । त्यसको नेतृत्व मेरो दाइले गर्नुहुन्थ्यो । स्कुल छुटेको घन्टी लागेपछि सबै घरतिर जान्थ्यौँ । यसरी नै केही दिन बित्यो । कसैलाई थाहै भएन । एक कपडा पसले पण्डीतजीका परिवार हाम्रो छिमेकी थिए । उनकै पसल अगाडिबाट हामी स्कुल आउने जाने गथ्र्याैँ । उनी हामी केटाकेटी के गर्छाैँ, कहा जान्छाँै भनी चियो गर्दा रहेछन । मलाई दाइले स्कुल नगएकोे कुरा कसैलाई पनि नभन्नु नत्रसँगै स्कुल लान्नँ भनी चेतावनी दिनुभएको थियो । मलाई स्कुल जान असाध्यै रमाइलो लाग्ने भएकाले स्कुल जान नपाइएला कि भनी स्कुलबाट भागेको कुरा कसैलाई पनि भनिनँ । एकदिन दाइ बाठो भएर हाफ टाइममै स्कुल छुट्टी भयो भनी हामी निस्फिक्रीसँग घर पुग्याँ । ती पण्डितले मुमालाई पहिले नै हामी स्कुलबाट भाग्ने गरेको कुरा लगाइसकेका रहेछन् । मुमा पनि रिसले चुर भएर बस्नुभएको रहेछ । स्कुल समयभन्दा पहिले घर पुगेको देख्नासाथ मुमाले डोरी ल्याएर हामी तिनै जनालाई हात पछाडि लगेर बाँधी दिनुभयो । सिस्नो ल्याएर खुट्टामा झ्वाम झ्वाम हान्नुभयो । अइयाँ अइयाँ भन्दै हामी रुन थाल्याँै । खान पिउन केही नदिएर दिनभर चोकमा लडाएर राख्नुभयो । बेलुका अब पनि यस्तो गर्ने हो ? भनी सोध्नु भयो । अब नगर्ने भनी माफी मागेर घरभित्र पस्न पायौँ । दाइ र दिदीको पछि लागेर मैले पनि सजाय भोगेँ । बुवा आइपुग्नुभएपछि फेरि कुटाई खाइएला भनी त्यो दिन हामी तिनै जना खाना पनि छिट्टै सुतेका थियौँ ।
त्यस्तै अर्काे एउटा रोचक घटना पनि छ । नेपालमा छुवाछुतको कुप्रथाले चरम सिमा नाघेको बेला थियो त्यो समय । बैतडी मात्र कसरी अछुतो रहन सक्थ्यो र । हाम्रै छिमेकी ती पण्डितको घरको तल्लो लहरमा सुनारहरुको घर थियो । सुनारको हामी सरहका छोरीहरु थिए । हामी केटाकेटीलाई जातभात भन्ने केही मतलब नै थिएन । मुमालाई थाहै नदिई हामी दिदी बहिनी दौडेर त्यहाँ खेल्न पुग्थ्यौँ । उनीहरु हाम्रा पक्का साथी भइसकेका थिए । कपडाका पुतली बनाउन सिपालु उनीहरुले हामीलाई पुतली पनि दिन्थे । हामी रमाउदै सँगै खेल्थ्यौँ । उनीहरुले केही खान दिए भने खाइदिन्थ्याँै । पण्डितहरुको घर भन्दा उनीहरुको घर झन् सफा सुग्घर चिटिक्क परेको थियो । को चोखो ? को बिटुलो ? हाम्रो सोचाइभन्दा परको कुरा थियो त्यो । हामीलाई ती सबै कुरामा मतलब पनि लाग्दैनथ्यो । तर पण्डितजीलाई यो कुरा पटक्कै मन परेको रहेनछ । मुमालाई कुरा लगाइदिएछन् । एकदिन दिउसो घाममा उनीहरुसँग खेलेर आएका मात्र के थियौँ, ‘कहाँ गएर आइस् ? ’ भनि मुवाले मलाई एक थप्पड लगाउनुभयो । म त्यहीँ लडेँछु । त्यसबेला देखि मुमा हामीलाई हात हाल्न डराउनु हुन्थ्यो
हाम्रो बेलामा अहिलेको जस्तो खेल्नेकुरा पाइदैनथ्यो । बुन्ने कात्ने कुरामा हाम्रो मुमा अति सिपालु, हामी दमाई दाइको घरमा गएर टुक्राटुक्री कपडा ल्याएर मुमालाई दिन्थ्यौँ । मुमाले मेहनत गरेर कति राम्रो पुतली बनाई दिनुहुन्थ्यो । हामी दंग परेर खेल्थ्यौँ । त्यताको एउटा चलन यस्तो रहेछ । वर्ष दिनभरि सबै केटीहरुले खेल्ने गरेको पुतलीलाई माघे सङ्ग्रातीको दिन डोलीमा राखेर बाजा बजाउँदै खोलामा लगेर सेलाउनु पर्ने रहेछ । जन्ती गए जस्तै सबै लावा लस्कर लागेर खोलासम्म पुगेर रुँदै पुतली खोलामा सेलाउँथे । फर्किने बेला बच्चाहरुलाई बेहुलाबेहुली बनाएर डोलीमा राखेर बाजा बजाउँदै घरसम्म ल्याउने गर्थे । अनि सबैजना बसेर भोज खान्थे । हामीलाई पनि मुमाले त्यति मेहनत गरी बनाइदिएको पुतली खोलामा फयाकेर आउदा मन सारै दुखेको थियो । रुँदै फर्किएका थियाँै । मुमाले हामी सबैको लागि खानेकुरा तयार पारिदिनुभएको रहेछ । रमाइलो मानी हामी सबैले खायौँ । हामीलाई बनभोज खान अति रमाइलो लाग्थ्यो । हामी बसेको घरको बारी ठुलो थियो । त्यही बारीमा हामी घरबाट भाडाँकुडा, खाना पकाउने सामान लिएर गई आफैँ पकाएर खान्थ्यौँ । त्यसको लागि मुमाले सघाउनु हुन्थ्यो । खुब रमाइलो हुन्थ्यो । एकपल्टको पिकनिकमा त हामीले त्यही बारीमा सानो परालले छाएको घर पनि बनायौँ । आफुले बनाएको घरभित्र पस्दा पनि असाध्यै धेरै रमाइलो भयो । त्यो खुसीको अनुभव त शब्दमा व्यक्त गरेर साध्य पनि छैन ।
सानोमा एउटा होचो थेप्चो रुखमाथि कार्पेट बिछ्याएर पुतली खेल्थ्यौँ हामी । यस्तै रमाइला कुराहरु त कति छन् कति । सम्झँदै मन फुरफुर भएर नाच्न थाल्छ ।
सानोमा हिउँ परेको बेला हिउँका डल्लाले हानाहान गर्दै हिउँको मान्छे बनाउँदै रमाएर खेल्थ्याँै हामी । बैतडीको मिठो सुन्तला सिरक ओढेर खान्थ्यौँ । त्यहाको अर्काे चिनारी त्रिपुरासुन्दरी भगवतीको मन्दिर पनि हो । जहाँ बर्षमा एकचोटी ठुलो मेला लाग्छ । बजारभन्दा अलि टाढा हिँडेर जानुपथ्र्याे । बजारका सबैजना अध्याँरैमा पेट्रोलम्याक्स बालेर जन्ती गए जस्तै लस्कर लागेर जान्थे । भोलि मन्दिर जाने भनेपछि रमाएर होला हामी केटाकेटीलाई रातभर निन्द्रा नै लाग्दैनथ्यो । कहिले त्यहाँ पुगौँ र चुईचुई गर्ने प्लास्टिकको पुतली, कपालमा लगाउने विभिन्न रङ्गका रिबन, थरिथरिका पिपलामेट र अरु थुप्रै सामान किनौँ जस्तो हुन्थ्यो ।
बर्षदिनसम्म पोषिलो खाना खुवाएर मोटोघाटो बनाएर भगवतीलाई चढाउने भनेर राँगा पालिन्थ्यो । त्यसलाई यस मेलामा हजाराँै तीर्थालुका सामु लखेटी लखेटी भालाले रोपेर बडो निर्दयीताका साथ बली दिइन्थ्यो । यहाँको अर्को नराम्रो चलन देउकी प्रथा । कुनै भाकल पूरा भयो भने देवीको सेवाको लागि भनी बालिका चढाउने चलन । जसले आजीवन घरबार नजोडी विवाह नगरी भगवतीको सेवामा दिन बिताउनु पर्दथ्यो । केही गरी विवाह गरिन् भने श्रीमान्को तुरुन्त मृत्यु हुन्छ भन्ने लोकविश्वासले गर्दा कसैले विवाह गर्ने आँट गर्दैनथे । यसरी यो चलनले गर्दा एक निर्दाेष बालिकाको जीवन दुःखले भरिन्थ्यो । भगवतीले आफ्ना सन्तानलाई पक्कै पनि यस्तो दुख दिन चाहेकी होइनन् होला जस्तो मलाई लाग्छ । आज मानिसमा जागरण आए पनि अझै लुकीछीपी यो चलन चलिरहेकै छ रे भन्ने सुन्दा मलाई दुःख लाग्छ ।
बैतडीको कार्यकाल पूरा गरी बुवाको दार्चुला सरुवा भयो । त्यसबेला दार्चुला अति विकट ठाउँ थियो । वर्षा बेला झमझम पानी परिरहेको चिप्लो बाटो भिरैभिर हामी केटाकेटीलाई डोकोमा बोकाएर लगिएको थियो । गर्भवती मुमालाई हिँड्न गाह्रो भएको थियो । सबै मिलेर थरथर खुट्टा कमाउँदै अनेक गरेर मुमालाई ठुलो भिर पार गराएको दिनको सम्झना अझै पनि ताजै छ । अलिकता मात्र पनि सन्तुलन बिग्रिएको भए सिधै महाकाली नदीमा खसिन्थ्यो । सपना देखेजस्तो अहिलेपनि सम्झदा पनि जिउ सिरिङ हुन्छ । दार्चुलामा जाडोमा साह्रै जाडो हुन्थ्यो । यति अग्लाअग्ला डाँडाहरु छन् कि दुईतिन घन्टा पनि घाम लाग्दैनथ्यो । खोँच भएकाले गर्मीमा अति गर्मी हुन्थ्यो । महाकाली नदि वारि नेपाल र पारि भारत छ । दुवैतिर समथर जमिन एकदम कम मात्र छन् । दुवै तर्फको पहाडको टुप्पो हेर्दा टोपी नै खस्ला जस्तो हुन्थ्यो । चुलाको तिन चम्का जस्तै डाँडा भएकाले पनि दार्चुला नाम रहन गएको हो रे भन्ने किम्बदन्ती छ । नेपालतिरको परिवेश वातावरण आज सम्झदा ढुङ्गे युगजस्तै लाग्छ । न स्कुल, न स्वास्थ चौकी, न कुनै अरु सुविधा नै थियो । दुई चारवटा अफिसहरु बाहेक केही थिएन । उता भारततिर सब कुराको सुबिधा थियो । मैले पहिलो चोटि गाडी त्यहीँ देखेँ । सिनेमा पनि त्यहीँ हेरेकी थिएँ । भारत र नेपाल बिचको महाकाली नदीमा पक्की पुल थिएन । बर्षा याममा तुइँनबाट र हिउँदमा काठे साँघुबाट वारपार गर्नुपथ्र्याे । एक चोटी हाम्रै आँखाअगाडि एउटा मान्छे साँघुबाट झ्वाम्म नदीमा खस्यो । हात हल्लाएर बचाऊ बचाऊ भन्दै थियो । हेर्दाहेर्दै नदीको पानीको बेगले कता पु¥यायो कता । बर्षभरिमा यस्ता घटना कति हुन्थे रे । घाँस दाउरा गर्नेहरु भिरबाट लडेर त्यति नै धेरै मर्थे रे ।
आज त्यहाँ त्यो विकट ठाउँमा सबै सुविधा पुग्यो होला । तर मेरो स्मृतिमा त्यहीँ बेलाको नमिठो याद छाप बनी बसेको छ । त्यसपछिको मेरो बाल्यकाल काठमाण्डौमै बित्यो ।

दाजुभाइ दिदी बहिनी बिच मेरो बाल्यकाल पीरताप दुःखबाट टाढा निश्चिन्त र रमाइलोमा बित्यो । जागिरे बुवाको बिभिन्न जिल्लामा सरुवा हुन्थ्यो । बाल्यकाल बिभिन्न जिल्ला घुम्दै बित्यो । हाम्रो घरमा पढाईको मामलामा छोरा र छोरीमा भेदभाव थिएन । सबैलाई बराबरको अवसर मिलेको हो । भेदभाव भनेको छोराले घरको काम गर्दैनथे छोरीले मात्र गर्थे । बुवा र दाजुको एउटा अर्काे कडा नियम थियो । पढ्न जति सक्छौ पढ तर जागिर खान पाइदैन । छोरी अर्काको नासो विवाह गरी पठाइ दियो टन्टै खतम भन्ने सोचाइ थियो परिवारको ।
मिठो खानु, राम्रो लाउनु मात्रै पनि जीवनको सार हैन । जीवनमा केही गर्नुपर्छ भन्ने हुटहुटी मेरो मनमा सानैदेखि चलिरहन्थ्यो । कथा, कविता लेख्ने रहर मलाई सानैदेखि थियो । आत्मविश्वासको कमी कसैलाई देखाउन पनि अप्ठयारो लाग्थ्यो । अनि लेख्दै च्यात्दै गर्थेँ । कसैले मलाई किन लेखिस् भनी रोकेको पनि हैन । मेरो आफ्नै मनको कमजोरी निर्बलता र अन्तरमुखी स्वभावले मलाई रोक्यो । अघि बढ्न सकिनँ । कसैसँग आफनो मनको अन्तरद्वन्द्व खुलस्त पार्न पनि सकिनँ र मेरो रहर त्यतिकै ओइलाएर बसेको थियो । आज आएर सोच्छु, त्यसबेला मैले मन दह्रो बनाई, आत्मविश्वास बढाउनु पथ्र्याे । आँट गरेर अघि बढनुपथ्र्याे । मेरो यही अप्ठेरो मान्ने बानीले त्यस बेला अपराध मानिने एउटा काम म बाट हुनगयो । पहिलो पाला पर सरेको मिन्स भएको कुरा मैले दिनभर लुकाएर बसेँ । केही दिन देखि सबैले मेरो मुख हेर्दै भन्ने गर्थे । अब यो चाँडै हुन्छे जस्तो छ । मलाई यी शब्दले भित्रै देखि सिरिङ्ग भई त्यसैत्यसै डर लागेर आउँथ्यो । बिहान बिछौनामा देखेँ । संसारै भास्सिए जस्तो पिरोलिएकी थिएँ । कसैले देख्नु र थाहा पाउनु अघि नै मर्न पाए पनि हुन्थ्यो जस्तो लागेको थियो । अब कसरी अरुलाई मुख देखाउनु ? क्वाँक्वाँ रुन मन लाग्यो । यी सारा मनका पीडा दिनभर लुकाएर बसेँ । खान पिउन केही गर्न मन लागेन । होस् बेहोसको हालत मन साह्रै कमजोर भइरहेथ्यो । कसैलाई केही नभने पनि साँझसम्मको मेरो आत्तिएको नर्भस व्यवहारले होला मेरो मुवालाई शंका लागेछ क्यारे, ‘भईस की क्याहो’ भनि सोध्नुभयो । दिनभर रोकी रहेको बाँध फुटेजस्तो डाँको छोडेर रोएा । धेरैबेर रोएपछि बल्ल मन हलुका भयो । अनि बाह्र दिन सम्म अँध्यारो कुनामा लुकाएर राखे ।
यस्तै बितेका बाल्यकालका तिता र मिठा सम्झनाहरु धेरै छन् । सम्झँदा आज पनि रमाइलो लाग्छ ।
लामो अन्तरालसम्म पनि मेरो मनको अन्तरकुन्तरमा लुकेर बसेको मेरो लेख्ने रहरको बिज अझै मरेको रहेनछ । जीवितै रहेछ । जुनसुकै कुराको पनि ठिक समय आउनु पर्छ भने जस्तै लामो समयपछि समय अनुकूल मिलेको हो कि हिम्मत गरेर मैले उत्तराद्र्धमा आएर लेख्न सुरु गरेँ । बाल्यकाल देखिको मेरो रहर आज पूरा हुँदैछ । मैले जीवनको लक्ष्य प्राप्त गरे जस्तो सन्तोष महसुस गरेकी छु । लेख्नु धेरै छ, समय कम छ जस्तो पनि लाग्छ । त्यसैले सकेसम्म लेख्ने प्रयासमा छु । र, यो प्रयास निरन्तर रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *