- कार्तिकेय घिमिरे
प्रधानमन्त्री देउवाले मंगलबार नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा हरेक विद्यालयमा नेविसंघको कमिटीहरु गठन गर्न आह्वान गर्नुभएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अभिव्यक्तिप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले असहमति प्रकट गर्दै ध्यनार्कषण गराएको छ ।
प्रधानमन्त्रीको उक्त आह्वानले बालबालिका र विद्यालय शान्ति क्षेत्र हुन् भन्ने मान्यतालाई चुनौती दिँदै कानुन विपरीत कार्य गर्न प्रोत्साहन गरेको अभियानले भनेको छ ।
अभियानका अध्यक्ष राजेश शर्मा र महासचिव मिना शर्माले संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ७ तथा दफा ६६ को विपरीत वक्तव्य दिनुभएको बताउनुएकाे छ।
ऐनमा बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्न, बन्द, हड्ताल चक्काजाम धर्ना वा जुलुसमा प्रयोग गर्न नपाइने उल्लेख छ । ‘प्रधानमन्त्रीको आह्वानले विद्यालयको शैक्षिक कार्यक्रमहरुमा प्रत्यक्ष असर पार्नुका साथै बालबालिकाको भविष्य तथा हाम्रो समाजलाई दूरगामी रुपमा नकारात्मक असर पार्दछ,’ भनी अभियानद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भाइबहिनीहरु, आज यही विषयमा केही छलफल गर्न म तपाईंहरु समक्ष उपस्थित भएको छु ।
विद्यालयमा वैचारिक संगठनहरु नै बन्नुहुँदैन र बनेमा खतम नै हुन्छ भनेर कसैले भन्छ भने पनि त्यो कुरा पनि पूर्ण सत्य होइन । किनकि विद्यालयमा नेपाल विद्यार्थी संघ वा अन्य कुनै पार्टीको भातृ संगठनको कमिटी नै गठन गरी राजनैतिक विषय विद्यालयमा प्रवेश गराउने कुरा उचित हाेइन तर बालबालिकाको शैक्षिक गुणस्तर सुधारका लागि र अहिले सरकारी विद्यालयमा भइरहेको भद्रगोल अवस्थाको सुधारका लागि काम गर्ने वातावरण निर्माण गर्नु पनि अत्यावश्यक देखिएकाे छ । त्यसका लागि विद्यार्थीलाई राजनीतिक प्रयोजनका लागि संगठित गर्न पाइँदैन तर विद्यार्थीले आफ्नो शैक्षिक विकासकाे सवालमा कसरी अधिकतम लाभ लिनसक्छन् भन्ने विषयमा नेपाली माैलिकता बाेकेका वैचारिक तथा सांस्कृतिक संगठनहरुकाे उपस्थितिले विद्यालयमा सकारात्मक उर्जा दिने कुरालाइ नकार्न सकिँदैन ।
वास्तवमा अहिलेकाे अवस्थालाइ हेर्ने हाे भने विद्यालयमा नेपाली माैलिकता बाेकेका स्काउट, रेयुकाइ जस्ता विशेषता बाेकेका मानवतावादि विचार निर्माणका लागि काम गर्ने समूहकाे अभाव अत्यन्त खट्किएकाे देखिन्छ । यसका लागि काम हुनुपर्ने देखिन्छ ।
नेपाल र नेपाली हुँ भन्नेप्रति गाैरवीबाेध गर्ने र माैलिक परम्परा तथा पहिचानकाे संरक्षणप्रति विद्यार्थी वर्गमा जागरण ल्याउने गैरराजनीतिक मानवतावादि समूहहरुले विद्यालयहरुमा पाइला अघि बढाउनु पर्ने देखिएकाे छ । किनकि विदेशी गैरसरकारी सस्थाका एजेण्डा बाेकेर हिँडेका बालअधिकारवादि गैरसरकारी सस्थाहरुले बालबालिकमा विचार निर्माण गर्ने पक्षमा प्रभावकारी रुपमा काम गर्न सकिरहेका छैनन् । एकाेहाेराे अधिकारकाे मात्र कुरा गर्ने र विद्यार्थीकाे कर्तव्य र अनुशासन तथा माैलिक परम्पराप्रति गर्व अनुभूति गर्ने नयाँ पुस्ताकाे निर्माण आजको आवश्यकता हो । यसका लागि अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको एजेण्डा बोकेर उनीहरुकै इसारामा मात्र चल्ने संगठनहरुले नेपाली माटो अनुकूलको बाल व्यक्तित्व निर्माणमा काम गर्न सक्दैनन् र सकिरहेका छैनन् । यो तितो सत्यलाई हामीले स्वीकार गर्नै पर्ने हुन्छ ।
भाइबहिनीहरु, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको एजेण्डा बोकेर हिँड्ने नेपालको बालअधिकार आन्दोलन कतिपय विषयमा आफैँमा त्यति स्पष्ट देखिँदैन। जुन विषयमा विदेशी दाताले सहयोग गर्छन् त्यो विषयमा बालअधिकारवादिहरुकाे चर्को स्वर सुनिन्छ तर बालबालिकाका लागि अति आवश्यक महत्वपूर्ण विषय तर विदेशी सहयोग नआउने सवालमा भने त्यस्ता विषय सधैँ नै ओझेलमा परेका पनि देखिन्छन् । याे नेपालकाे बालअधिकार अभियानकाे सबैभन्दा ठुलाे असफलता हाे । त्यस्ता विषयमध्येका केही उदाहरण हेरौँ,
१. जस्तै कुनै पनि बालबालिकाले प्रयोग गर्ने वस्तुको विज्ञापन र बालबालिकालाई नकारात्मक बानी निर्माण गर्ने वस्तुको विज्ञापन आज हाम्रो देशमा खुलम खुल्ला बालबालिका सक्रिय हुने समयमै भइरहेको छ । बालअधिकारवादिहरुले काम गर्न सकेकाे अन्य मुलुकहरुकाे हकमा हेर्ने हाे भने बालबालिका सुतिसकेपछि लेट आवरमा मात्र यस्ता विज्ञापन प्रसारण गर्न पाइने नियम देखिन्छ ।
जसले गर्दा नेपालमा बालबालिकाहरुमा विज्ञापित वस्तुहरुप्रतिको मोह अत्यधिक बढ्दो छ र जसको प्रयोगले बालबालिकाको हुकाईमा बालअिधकारवादिहरुले साेचेभन्दा नि धेरै नकारात्मक असर गरिरहेको छ । तर यस विषयमा बालअधिकार आन्दोलनमा लागेकाहरुले केही काम गर्न सकिरहेका छैनन् । यस विषयमा उनीहरुको स्वर नै सुनिँदैन किनकि कुनै पनि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले राष्ट्रिय विज्ञापन नीति बालमैत्री बनाउनुपर्छ भनेर सहयाेग गरेकै छैनन् । त्यसैले बालसराेकारका कुनै विषय उठान गर्न पहिला दाता चाहिने बालअधिकारवादी एनजिओहरुले यस विषयमा केही बाेलेकाे देखिँदैन ।
भाइबहिनीहरु, यसाे भनिँरहँदा नेपालमा बालअिधकार अभियानकाे कर्मले केही काम नै गर्न सकेकाे छैन भन्नु पनि पूर्ण सत्य हुँदैन । उनीहरुले बालबालिकाकाे विषयलाइ प्राथमिकताका साथ लिने चलनकाे विकास गर्न ठुलाे याेगदान गरेका छन् । त्यसप्रति हामीले साधुवाद दिनुपर्छ । तर यहाँ उठान गर्न खाेजिएकाे विशेष र सवालमा उनीहरुकाे उपस्थिति नदेखिएकाे र उनीहरुकाे ध्यान नपुगेकाे कुरा भने पक्कै हाे । यस विषयमा हामीले सराेकारावालाहरु सबैकाे ध्यान आकर्षित गर्नु आवश्यक देखिन्छ ।
२. भाइबहिनीहरु, हाम्रो बालअधिकार आन्दोलनले बालबालिकाले पोषिलो कुरा खान पाउनु पर्छ भनेर उनीहरुका लागि ठुलो आवाज निकालिरहेकाे छ । याे कुरा सही हाे, राम्राे हाे तर यहाँनिर एउटा कुरा बिर्सिइएको छ । त्याे के हाे भने एउटा बालक पूर्ण रुपमा स्वस्थ हुन ऊ शारीरिक र मानसिक दुवै रुपमा स्वस्थ हुनुपर्छ । शारीरिक स्वास्थ्यका लागि पोषण भएजस्तै मानसिक स्वास्थ्यका लागि पठन सामग्री हो भन्ने कुरा हाम्रा बालअधिकारवादीहरुले चटक्कै बिर्सिएका देखिन्छन् । याे उनीहरुकाे कमजाेरी हाे किनकि उनीहरुको आवाजमा असल पठन सामग्री बालसाहित्य उत्पादनको कुरा उठेका देखिएकाे छैन । बालबालिकालाई अनलाइनमा सुरक्षित राख्न नेपाली भाषामै बढीभन्दा बढी बालमैत्री अनलाइन सामग्री निर्माणको कुरा उठेका देखिँदैन र पाठ्यपुस्तकमा हट्दै गएकाे नेपाली मौलिक पहिचानप्रति गर्व गर्ने पक्षबारेकाे विषयमाथि पनि बालअिधकार अभियानकाे चासाे पुगेकाे देखिँदैन । यसबाट उनीहरुले विदेशी दाताले नछाेएका विषय जतिसुकै महत्वपूर्ण भए पनि त्यस विषयमा आवाज उठाउँदैनन् भनेर उनीहरुमाथि लगाइने आरोपमा अझ बढी बल पुगेको देखिन्छ ।
त्यसैले भाइबहिनीहरु,
हामीले आफ्नो मौलिक परम्परा जोगाउनु पर्छ, आफ्नो संस्कृतिलाई माया र संरक्षण गर्नुपर्छ, अग्रजलाई आदर, सानालाई माया गर्नुपर्छ र आफ्नो पुर्खाको चिनारी र सभ्यता जोगाउनुपर्छ । त्यसैले हामी नेपाली हौँ भनेर गर्व गरौँ, नेपालको गौरवलाई चिनौँ भनेर विचार निर्माण गर्ने लक्ष्य लिएर कुनै पनि संगठन विद्यालयमा पुग्नुलाई नराम्रो भन्न मिल्दैन । शर्त एउटै मात्र हो, त्यो संगठनले मानवताको हितका लागि काम गर्नुपर्छ, नेपाल र नेपालीको गौरवका लागि काम गर्नुपर्छ । नेपाली विद्यालयका विद्यार्थीहरुकाे स्वस्थ शारीरिक र मानसिक विकासका लागि काम गर्नुपर्छ अनि त्यसमा राजनीतिक लक्ष्य मिसिएकाे हुनुहँदैन ।
त्यसैले आजका बालबालिका र किशोर मित्रहरुले यसरी आफ्ना विषयमा उठ्ने गरेका आवाजहरुलाई ध्यान दिएर सुन्ने र मनन गर्ने अनि आफ्ना सहकर्मी एवम् अग्रजहरुसँग छलफल गर्ने बानी बसाल्नु पर्दछ । हामीले मिडियामा आएका विषयमा छलफल गरी त्यस विषयमा आलोचनात्मक सोच राख्नुपर्छ ।
भाइबहिनीहरु, आलोचनात्मक सोच भनेको के हो ? अब यस विषयमा थोरै चर्चा गरौँ ।
जस्तै नेपालको एउटा चल्तीको हिरोले बालबालिकाले कुनै खानेकुराको विज्ञापनमा खेल्यो । त्यो खानेकुरा खाएपछि खाने बालबालिकाले कप जितेर आएको र परीक्षामा प्रथम भएको देखाइयो ।
के कुनै फास्टफुड खानेकुरा खाएर खेलकूदमा कप जित्न सकिन्छ ? कुनै खानेकुरा खाएर नै परीक्षामा प्रथम हुनसकिन्छ ? यस विषयमा आफैँले आफैँलाई प्रश्न गरी आफूभित्र आलोचनात्मक सोचको विकास गर्नुहोस् ।
फेरि सोच्नुहोस्, यदि त्यो सत्य होइन भने त्यो तपाईंलाई मन पर्ने नायक वा नायिकाले किन त्यस्तो विज्ञापनमा खेल्यो होला त ? किन ऊ हाँसीहाँसी आफूले पनि सगर्व क्यामेराको अगाडि त्यो वस्तु खाँदै विज्ञापन गरिरहेको छ त ?
भाइबहिनीहरु, यसरी आफैँले आफैँलाई प्रश्न सोध्ने बानीले आलोचनात्मक सोचको विकास गर्दछ ।
त्यो नायक वा नायिकाले त्यो वस्तु राम्रो छ भनेर किन विज्ञापन गरिरहेको छ भने त्यो विज्ञापनमा अभिनय गरे वापत उसले धेरै पैसा पाउँछ । यसरी अभिनय गरेर नि पैसा कमाउनु उसको पेशा हो । उसलाई हाम्रो स्वास्थ्यसँग कुनै मतलब छैन । उसलाई आफ्नो आम्दानीसँग मात्र मतलब छ ।
भाइबहिनीहरु, कतिपय विषयमा नेपाली बालअधिकारवादी संगठनहरुले धेरै राम्रा काम गर्दै आएका भए पनि उनीहरुका विषयमा पनि, उनीहरुका विचारलाई पनि हामीले आलोचनात्मक सोच राखेर ग्रहण गर्नु आवश्यक देखिन्छ । यस विषयमा हामी आगामी अंकहरुमा थप चर्चा गर्दै जानेछौँ ।
तर, आज तपाईहरुलाई यति आग्रह गर्न चाहन्छौँ, तपाईंहरुसम्म मिडिया मार्फत् आइपुग्ने तपाईंहरुसँग जोडिएका हरेक विषय वा विचारसँग सम्बन्धित आवाज र गतिविधिलाई आलोचनात्मक सोच राखेर ग्रहण गर्नुहाेस् । त्यस विषयमा साेचविचार गरी छलफल र बहसपछि मात्र एउटा स्पष्ट धारणा बनाउने काेसिस गर्नुहोस् । जसले तपाईको व्यक्तित्व निर्माणमा मिडियाले पार्ने असरलाई कम गर्न सहयोग मिल्दै जानेछ ।
हस् त धन्यबाद, जय नेपाल ।।