- मीमांशा आचार्य
विषय प्रवेशः
कदम प्रसिद्ध नेपाली लेखक तथा पत्रकार अनन्त वाग्लेद्वारा रचित वि.सं. २०७७ सालमा प्रकाशित पुस्तक हो । यो एक ‘घोस्ट राइटिङ’ हो, जसमा वाग्लेले एक राउटे समाजको सफल व्यक्तित्व कदमको आत्मवृत्तान्तलाई यस कृतिमा उतारेका छन् । यस पुस्तकमा कदमको बाल्यकालका सम्पूर्ण घटनादेखि घुमन्ता सम्मेलनसम्मका घटनालाई समावेश गरिएको छ । वाग्लेको ‘कदम’ पुस्तक र श्याम साहको ’पथेर’ ले संयुक्त रूपमा वि. सं. २०७८ मा पहिचान पुरस्कार प्राप्त गरेका थिए ।
कथावस्तुः
गडाजिउलाको जङ्गलमा राउटी बनाएर बसेको एक घुमन्ते राउटे समाजमा कदमको जन्म भएको थियो । उसको जन्म कदमको रुखमुनि भएकाले नै उसको नाम कदम रहन गएको हो । कदमका पिता घोधने र माता न्याउली थिए । कदम सानो छँदा चट्याङ् लागेर घोधनेको मृत्यु भयो । घरको मुखिया अर्थात् उसको बुबा गुमाउँदा राउटीको जिम्मेवारी र राउटीमा दिदी र आमाको हेरचाह गर्ने काम राउटीको अर्को पुरुष अर्थात् कदमको सानो काँधमा थपिए । खेल्ने, कुद्ने उमेरमा बिस्तारै उसले बसिला चलाउन, कोसी, मदुस बनाउन र गुना सिकार गर्नसमेत सिक्यो । यही सिक्ने क्रममा उसले मुखिया र अरू राउटेहरूबाट लुकेर गाँउपालिकाले नियुक्त गरेका मास्टर र मास्टर्नीबाट अक्षरहरू चिन्छ र स्वाध्ययन गरेर पढ्न सिक्छ । एक रात रक्सीमा डुबेर साथीहरूसँग आगोछेउँ सुतेको कदमको पाखुरा आगाले नराम्रोसँग जल्छ । आगाले पोलेको कदमको पाखुराको घाउ बिस्तारै धेरै बढ्दै गइरहेको थियो । राउटेहरू अस्पताल जाने परम्परा नभएकाले उसको उपचार घरेलु माध्यमबाट भइरहेको थियो तर घाउ निकै फैलिएकाले कर्मा दिदीले उसलाई वीर अस्पताल ल्याएर मृत्युको मुखबाट फिर्ता ल्याई नयाँ जीवन दिएकी थिइन् । यही घाउबाट डाक्टरले चार पाउ किरा निकालेका थिए । कदमको जीवनमा केही गर्ने सपनाहरू त थिए नै तर काठमाडौँको उसको भ्रमणले उसलाई नयाँ संसारसँग परिचित गराएको थियो र यसले उसका सपनाहरूलाई केही हदसम्म असर पुर्याएको थियो । उसको पहिलो सपना भने पढ्नलेख्न जान्ने हुनु थियोे र अर्को सपना उसलाई ड्राइभर बन्नु थियो । उसले आफ्नो सपना पूरा गर्न पहिले भेरीगङ्गा होटेलमा काम गर्यो अनि त्यहाँबाट महिन्द्रा निसानमा सरसामान ओसारपसार गर्न ड्राइभरको सहयोगीका रूपमा काम ग¥यो । महिन्द्रा निसान बेचिएपछि उसले बुलबुले एक्सप्रेसमा खलासीका रूपमा काम ग¥यो । आमदानी भइरहेको बुलबुले एक्सप्रेस अचानक दुर्घटना भएर मृत्युको मुखमा पुगिसकेको कदमलाई एक अघोरी शिवहरनाथले अर्को जीवन दिएका थिए । यत्रो दुर्घटनापछि पनि उसको ड्राइभर बन्ने सपनामा ऊ अझ दृढ नै थियो । यो देखेर कर्मा दिदीले कदमलाई राउटे उत्थान समाजले पाएको स्कोर्पियो चलाउने मौका दिइन् । यसरी बाहिर काम गर्न नमिल्ने परम्पराको समर्थन गर्ने मुखिया पनि कदमको इच्छाशक्तिका कारण कर्मा दिदीको कुरामा सहमत हुन्छन् । यसरी उसले स्कोर्पियो चलाएर आफ्नो ड्राइभर बन्ने सपना पनि पूरा गर्छ । उसलाई स्कार्पियो चलाउन सिकाउने समुद्र गुरूङकै सुझाव र प्रेरणाले प्रभावित भई उसले काठमाडौँमा राउटे रेस्टुरेन्ट खोल्यो र विश्वको पहिलो यायावर सम्मेलन पनि आयोजना गर्याे । यायावर सम्मेलनमा विश्वका दस फिरन्ता जातिहरू राउटे, ग्याउचो, माटेमानव, टिब्टेन, रारामुरी, माओरी, कजाक, हुली, हिम्बा, नेनेट र समाइका प्रतिनिधि आएका थिए ।
मूलभावः
यो पुस्तक पढेर राउटे समाजको वास्तविक अवस्थालाई भने छुटाउन मिल्दैन । राउटे न त शिक्षित छन्, न त उनीहरूले स्वास्थ्य सुविधा नै प्राप्त गरेका छन् । उनीहरूको समाज बाहिरी समाजबाट छुट्टिएर बसे पनि गाउँले र राउटे दुवैलाई एक अर्काको सहयोग र साथ चाहिन्छ । त्यसमाथि राउटे समाजमा महिलाहरूको स्तर पुर्खादेखि नै दबिदैँ आएको छ । किताबमा देखाइएझैँ राउटे आइमाईको नाम राख्ने चलन हुँदैन । त्यस्तै राउटे समाजमा विधवाहरू अपहेलित र लाञ्छित हुन्छन् । महिलाहरू हरेक कर्मक्षेत्रमा र निर्णय गर्ने बेला छुटाइन्छन् । जस्तो कि उनीहरू त्यस समाजका कोही पनि होइनन् । त्यस्तै गर्भावस्था हुँदा न त गर्भवतीको हेरचाह गर्ने गरिन्छ, न त पौष्टिक आहार नै खुवाइन्छ । कदमको समाजमा एक इजा बाइस पटक गर्भवती हुँदा तीनोटा बच्चा मात्र बाँचेका थिए र उन्नाइस बच्चा खेर गए । अर्की आमा सत्र पटक सुत्केरी हुँदा पनि उनका एउटै सन्तान बाँचेनन् । यस्ता घटनाहरू त राउटीमा धेरै नै भइरहन्छन् ।
राउटे समाज रक्सीको लतमा डुबेको छ । सानैदेखि राउटेहरू रक्सीको कुलतमा फसेका छन् । उनीहरूका लागि जे सहयोग आए पनि उनीहरू अन्न किन्नुको साटो रक्सी किन्ने गर्छन् र यो रक्सीको कुलत कुनै एउटा राउटीमा मात्र नभई पुरै राउटीका सानादेखि ठुलासम्म फैलिएको छ । त्यसैले राउटे समाज शिक्षित हुनु जरुरी छ । उनीहरूलाई स्वास्थ्य शिक्षा, गर्भावस्था शिक्षा दिनु र रक्सीको कुलतबाट छुटाउनु जरुरी छ ।
प्रस्तुत किताब पढेर मलाई महात्मा गान्धीको भनाइ “सादा जीवन, उच्च विचार” को याद आयो । राउटेहरूलाई न त केही वस्तुको मोह छ, न उनीहरूमाथि कुनै किसिमको दबाब छ । उनीहरू न त कुनै प्रतिस्पर्धामा छन्, बस्, खान लाउन पुगे उनीहरूको जिन्दगी खुसीसँग चल्छ । भोलिका लागि उनीहरूसँग खान अन्न छैन भने पनि उनीहरू चिन्तित हुँदैनन् । यस्तो समाज र उनीहरूको सादा जीवनयापनबाट हामी गाउँले र सहरिया मानिसहरूले धेरै कुरा सिक्न सक्छौँ ।
कुनै पनि काम दृढ इच्छाशक्ति र निरन्तरका साथ गरियो भने हामीले चाहेको सपना अवश्य नै पूरा हुन्छ । यो कदमको जीवनबाट सिक्नुपर्ने कुरा हो । जङ्गली समाज र सभ्यताबाट बाहिर निस्केर सङ्घर्ष गर्दै कदम ड्राइभर बन्ने सपना पूरा गर्छ ।
मलाई यस किताबमा सबैभन्दा मन परेकी पात्र कर्मा दिदी हन् । कर्मा दिदीजस्ता निःस्वार्थ भावना रहेका समाजसेवीहरू हाम्रो समाजमा देख्दा मलाई यस्ता समाजसेवी माथि गर्व लाग्छ । यस कृतिका केन्द्रीय पात्र कदम सफल हुनुमा कर्मा दिदीको ठुलो हात छ । उनी कदमकी जीवन निर्मात्री पनि हुन् । जसले कदमको जीवन बचाएकी थिइन् । कर्मा दिदीजस्ता व्यक्तिले समाजमा सकारात्मक ऊर्जा र प्रेरणा दिने काम गर्छन् ।
निष्कर्षः
यो पुस्तक पढेपछि मैले राउटे समाजलाई एकदमै नजिकबाट नियालेको अनुभूत गरेँ । प्रस्तुत कृतिमा धेरै ठाउँमा ‘खाम्ची भाषा’ अर्थात् राउटेहरूले बोल्ने भाषाको प्रयोग गरिएको छ । जसले पुस्तकलाई यथार्थपरक र रोचक बनाएको छ । मलाई किताब पढ्दा केही कुराहरू अनौठा पनि लागे । कदमले आफू सानो हुँदा उसलाई अरूले के के भनेका छन्; सबै कुरा संवादको रूपमा लेखकले जस्ताको त्यस्तै उतारेका छन् । कृतिमा वर्णन गरिएका कुरा सबै साँच्चैँ हो कि होइन भनेर मलाई बुझ्न अलि गार्हो भयो । किताब हरेक पक्षबाट अब्बल छ । यस कृतिमा प्रस्तुत गरिएका विषयवस्तु रोचक तथा राउटे समाजलाई नजिकबाट बुझ्न सकिने खालका छन् ।
म यो किताब विशेष गरी युवा पुस्ता र सबै नेपालीलाई पढ्न अनुरोध गर्दछु । किनकि हाम्रो समाजमा यस्ता व्यक्ति पनि छन्, जो राउटे र राउटी समाजबाट अपरिचित छन् । राउटे भनेर नाम मात्रै सुनेका तर उनीहरूको वास्तविक जीवनसँग अपरिचित धेरै मानसिका लागि यो पुस्तक उपयोगी छ । जीवन सन्तोषजनक, शान्तिपूर्ण, सुन्दर बनाउनु छ भने राउटेको जीवनलाई हेर, बुझ र सिक भन्ने आशय यस कृतिमा प्रस्तुत गरिएको छ ।
डियर वाक सिफल स्कुल
कक्षाः ११, नीलगिरि
क्रमाङ्कः २३०२७