बाल्यकालकाे दसैँ | सरिता अर्याल
दसैँको बाल्यकालिन अनुभव:
दसैँ हामी नेपालीहरूको सबैभन्दा ठूलो पर्व हो। विशेषगरि बालबालिकाका लागि त यो पर्व अझै बडि रमाइलो अनि महत्वपूर्ण हुने गर्दछ। सबैभन्दा खुसिको कुरा दशैँदेखि तीहारसम्म विद्यालयमा लामो छुट्टी हुन्छ। अनि अर्को कुरा दशैँको छुट्टीमा आफ्नो गाउँघरदेखि टाढा पढ्न बसेका बालबालिका पनि आफ्नो घरपरिवारसँग भेट्न पाउँछन्।
सर्वप्रथम त सम्पूर्ण भाइबहिनीहरूलाई मेरो तर्फबाट २०७९ सालको विजयादसमीको हार्दिक मंगलमय सुभकामना। सदाझैँ यस वर्ष पनि विजया दसमीले हाम्रो घर आँगनमा पाइला टेकिसकेको छ। सानासाना बालबालिकाको अनुहारमा छुट्टै चमक देखिन थालेको छ। घटस्थापनाको दिनदेखि नै धेरै बालबालिकाको स्कूल छुट्टी भैसक्यो। अब उनीहरू यो दसैँमा केके गर्ने? कहाँ घुम्न जाने अनि नया कपडा किन्न कहिले जाने भनेर बाबाआमासँग सोध्न थालेका छन्। बाबाआमाको सकारात्मक जवाफ पाएपछि भने बालबालिकाहरू एकैठाउँमा जम्मा भएर यो दशैँमा उनीहरू के गर्दैछन् भनेर एकअर्कालाई खुसि हुँदै सुनाउँदै छन्। यि बालबालिकाको रमाइलो कृयाकलापले मलाई पनि मेरो बाल्यकालको याद दिलाइ दिएको छ। भाइबहिनीहरू, आज म तिमीहरूलाई पनि मेरो बाल्यकालको दसैँको अनुभव सुनाउँछु है त……
भाइबहिनीहरू, मेरो बाल्यकालको केही अंश बाबाआमासँगै घरमै बसेर बित्यो भने केहि अंश पढाइको सिल्सिलामा छात्रावासमा बित्यो। सानो बेलामा दशैँ पर्व साह्रै रमाइलो लाग्थ्यो। सुनसान गाउँमा शहरबाट फर्किनु भएका आफन्तहरूले गर्दा चहलपहल सुरु हुन्थ्यो। उहाँहरू लामो समयपछि दशैँ मनाउन गाउँमा आउँदा शहरको कोसेली बोकेर हाम्रो घरमा पनि आउनु हुन्थ्यो। शहरको मिठाइ खान पाएपछि त हामी बच्चाहरूको मन फुरुङ्गै हुन्थ्यो। हाम्रा दाजुदिदीहरू मिलेर घटस्थापनाको दिन चौरमा ठूलो पिङ हाल्नु हुन्थ्यो। पिङ हाल्ने बित्तिकै हामी केटाकेटीहरू पिङ खेल्न झुम्मिन्थ्यौँ। दाजुदिदीहरूले हामी सबैलाई पालैपालो पिङमा बसालेर मच्चाइ दिनु हुन्थ्यो। दशैँको सबैभन्दा महत्वपूर्ण क्षण भनेको बाबाआमाको हात समातेर नया कपडा किन्न बजार जानु थियो। म घटस्थापना भन्दा अघिदेखि नै बाबाआमालाई नया कपडा कहिले किनिदिने भनेर सोधेर हैरान पार्थेँ। बाबाले आफ्नो तलब आउनेबित्तिकै सबैजना बजार गएर कपडा किन्ने भनेर सम्झाउनु हुन्थ्यो। मलाई त्यो तलब छिटै आएपनि हुन्थ्यो जस्तो लाग्थ्यो। ढिलो गरि आउने त्यो तलबसँग रिस पनि उठ्थ्यो। तलब भनेको को हो? कहिले आउँछ? मेरो मनमा यस्तै कुरा खेल्थ्यो। एकदिन बुवाले हातमा पैसा लिएर मलाई भन्नु भयो, “ ल छोरी आज मेरो तलब आयो। अब भोलि नै हामी नाना किन्न जाने है”। मैले त्यतिबेला बल्ल बुझेँ तलब भनेको त पैसा पो रहेछ। नया कपडा किन्न जाने दिन मलाई नै सबैभन्दा धेरै हतार हुन्थ्यो। म बिहानैदेखि आमालाई छिटै खाना पकाएर खाएर जाऔँ भनेर खुब सताउँथेँ। खाना खाएर घरमा गाईवस्तुलाई घाँसपानी दिएर बल्ल बाबाआमाले मलाई लिएर बजार जानु हुन्थ्यो। बजारमा पुगेर मलाई कपडा रोज्न दिनु हुन्थ्यो। बजारमा त कति धेरै राम्रा राम्रा कपडा हुन्थे। जुन हेर्यो त्यहि लैजान मन लाग्थ्यो। तर सबै कपडा किन्न कहाँ सम्भव थियो र! त्यसैले सानो हुँदा बजारका राम्रा कपडामध्ये मलाई सबैभन्दा सुहाउने कपडा आमाले नै छानिदिनु हुन्थ्यो। नया कपडा किनेर घर फर्कने बित्तिकै हामी केटाकेटीहरू त्यो कपडा लगाएर साथीहरूलाई देखाउन दौडन्थ्यौँ। नया कपडाको वासना मलाई निकै मन पर्थ्यो। त्यो नया कपडा मैलियो भने आमाले धोइ दिनु हुन्छ अनि नया कपडाको वासना हराउँछ भन्ने पिरले म नया कपडाको निकै जतन गर्थेँ। फोहोर लाग्न दिन्नथेँ। दशैँमा टीका लगाउने बेला पनि आफ्नो नया नानामा टीका लाग्ला कि भनेर निकै डराउँथेँ। दशैँको दिन आफ्नो घरपरिवार, आफन्त अनि मामाघर सबैतिर टीका लगाइसकेपछि हामी केटाकेटीहरू कसले बडि पैसा जम्मा गर्यो भनेर दक्षिणा गन्थ्यौँ। आमाले केहि पैसा खर्च गर्न दिनु हुन्थ्यो र धेरै पैसा खुत्रुकेमा राख्न लगाउनु हुन्थ्यो। घरबाट टाढा छात्रावासमा हुँदा भने दशैँको रौनक अलग किसिमको हुन्थ्यो। त्यतिबेला दशँय भनेको घर जान पाइने चाड हो जस्तो लाग्थ्यो। हामी साथीहरू दशैँ आउनु भन्दा तिन चार महिना अघिदेखि नै हाम्रो स्कूल छुट्टि हुने दिन गन्न सुरु गर्थ्यौँ। हरेक दिन बिहान ओछ्यानबाट ओर्लने बित्तिकै अब त घर जान यति दिन बाँकि भनेर खुसि हुन्थ्यौँ। हरेक बिहान उठेर घर जाने दिन गन्दा एक एक दिन घट्दै जान्थ्यो अनि मेरो मनमा खुसि बढ्दै जान्थ्यो। शनिबारको दिन घरबाट बाबाआमाले फोन गर्दा पनि म “अब त घर आउन यति दिन बाँकि छ मलाई लिन को आउनु हुन्छ?” भनेर सोध्थेँ। स्कूल छुट्टी हुन तिन चार दिन बाँकि हुँदा त हामी घर जान अब यति घण्टा, मिनेट र सेकेन्ड छ भनेर समेत गन्ने गर्थ्यौँ। विद्यालयको छात्रावासबाट दशैँको लागि घर जाने अघिल्लो दिन हामी साथीहरू रमाउँदै आफ्नो घर लाने कपडा र कापि किताबको झोला मिलाउँथ्यौँ। छुट्टीमा सम्पर्क गर्नको लागि सबै साथीहरूको घरको फोन नम्बर कापिमा टिपेर राख्थ्यौँ। घरबाट छात्रावासमा फर्कँदा आ-आफ्नो गाउँको केहि विशेष कोशेली ल्याउन एकअर्कालाई सम्झाउँथ्यौँ। स्कूल छुट्टी हुने दिन मलाई लिन प्रायजसो मेरो दादा जानु हुन्थ्यो। दादाले मलाई “नानी म आएँ। झोला लिएर बाहिर आऊ”। भन्ने बित्तिकै म फुरुङ्ग भएर आफ्नो झोला पिट्ठ्युँमा बोकेर सर मिस अनि साथीहरूसँग बिदा मागेर दादाको हात समातेर बसपार्कतिर लाग्थेँ।लगभग १५ १६ घण्टाको लामो रात्रीबसको यात्रापछि घर पुग्दा आमाबाबा मेरै बाटो हेरेर बसि रहनु भएको हुन्थ्यो। वर्षदिनमा आमाको अंगालोमा बेरिएर उहाँको काखमा बस्न पाउँदाको त्यो विशेष पलको वर्णन शब्दमा गरेर सकिँदैन। धेरैपछि घरमा पुगेकी मलाई सबैले नया पाहुनालाई जस्तै माया गर्नु हुन्थ्यो। गाउँका आफन्तहरू पनि म घर आएको थाहा पाउने बित्तिकै मलाई भेट्न घरमै आउनु हुन्थ्यो। सबैको माया मिसिएको त्यो बाल्यकालको दशैँ पनि निकै रमाइलो हुन्थ्यो।