केही दिनअघि एउटी बालिका नेताहरु बसेको मन्च अगाडि छमछमी नाचिरहेको भिडियो ट्विटरमा सबैले हेरे । धेरैले यसमा निर्वाचनमा बालबालिकाको प्रयोग गर्नुहुन्न भन्ने निर्वाचन आयोगले यो उम्मदेवारलाई किन कार्वाही नगरेको ? भनी प्रश्न पनि गरे ।
त्यो कार्यक्रममा आफ्नो नाच देखाउन पाउँदा बालिका दंग परेकी थिइन् । उनलाई यसो गर्नु कानुन विपरीत हो भन्ने कुरा कसले भनिदियो होला र ?
त्यस्तै चुनाव चिन्ह भएको नयाँ टिसर्ट लगाउन पाउँदा र पार्टीको चुनाव चिन्ह भएको झन्डा बोकेर दौडन पाउँदा रमाइरहेका बालबालिकाहरु बाटामा देखिन्छन् । तिनलाई पनि यसो गर्नु निर्वाचनको नियम विपरीत हो भनेर खै कसले भनिदियो होला र ?
उनीहरुलाई यसो नगरौँ भन्नुपर्ने नेता र कार्यकर्ताहरु नै यसो गर्न उक्साइरहेका भेटिन्छन् । ती बालिकाको मातापिता पनि मन्चछेउमा बसेर ताली बजाइरहेका थिए ।
भाइबहिनहिरु,
निर्वाचनमा बालबालिकाले प्रयोग गर्दैनौँ भनेर सबै राजनीतिक दलहरुले लिखित प्रतिबद्धता जनाएर वाचा पनि गरेका छन् । तर हरेक चुनावकाे समयमा तिनीहरुले बालबालिकालाई लाेभ देखाएर निर्वाचनमा प्रयाेग गर्ने गरेका छन् । निर्वाचन आयोगको आचारसंहितामा पनि निर्वाचनमा बालबालिकाको प्रयोग गर्न पाइँदैन भनी स्पष्ट रुपमा भनिएको छ । तर आयोगले पनि आचारसंहिता कार्यान्वयनमा प्रभावकारी काम गर्न सकेकाे देखिँदैन ।
निर्वाचनमा बालबालिकाकाे प्रयाेग निषेध गर्ने भन्ने कानुन त छ तर यसको पालना भइरहेको अवस्था देखिँदैन । याे कनुन कार्यान्वयन हुननसक्नुमा अभिभावक पनि निर्वाचन आयोगका लागि चुनाैती बनेका छन् किनकि हरेक अभिभावक कुनै न कुनै पार्टीका कार्यकता छन् । ती अभिभावकहरु आफ्ना छोराछोरी प्रचारमा आइदिउन् भन्ने चाहन्छन् । छोराछोरीको माध्यमबाट नेतासँगको सम्बन्धलाई अझ गाढा बनाउन चाहन्छन् । त्यसका लागि आफ्नै बालबालिकाको प्रयोग गर्छन् ।
यसअघिको चुनावमा एकजना सक्रिय कार्यकर्ताले आफ्नी ११ वर्षकी छोरीलाई भोट माग्ने मन्चमा भाषण दिन हौस्याएर छोरीको भाषणबाट खुबै ताली पाए । छोरीले पनि वक्तृत्वकला प्रतियोगिताको तयारी गरेजस्तै गरी बुवाको हो मा हो लगाउँदै खुबै भाषण गरिदिइन् । तर यो निर्वाचन कानुनको खिलाफ रहेछ भन्ने कुरा उनलाई कलेज पढ्न थालेपछि मात्र थाहा भयो ।
त्यसैले अब हामी हरेक बालबालिका यस विषयमा सचेत हुनुपर्छ । निर्वाचनको समयमा कसैले पनि प्रयोग गर्न खोजेमा माफ गर्नुहोला, म यो काम गर्नसक्दिन भन्नुपर्छ । ठुला बालबालिकाले आफूभन्दा साना बालबालिका र अभिभावकलाई पनि यस विषयमा भन्नुपर्छ । सचेत गराउनुपर्छ ।
निर्वाचनमा प्रचारका क्रममा कुनै एक पक्षको चुनाव चिन्ह भएको सामग्री बोकेर र टिसर्ट लगाएर हिँड्दा प्रचार र्यालीमा सहभागी हुँदा अर्को पक्षले हानी नोक्सानी पुर्याउँन सक्छन् । यस कुरामा बालबालिका, अभिभावक र नेतृत्ववर्ग सचेत हुनु जरुरी छ ।
हरेक चुनावमा बालबालिकाको प्रयोग गर्नु दण्डनीय कार्य हो भनिए पनि सांस्कृतिक कार्यक्रम, घरदैलो गई मतदाता भेटघाट गर्ने कार्यक्रम र प्रचार सभाहरुमा बालबालिकाको प्रयोग गर्न पाउँदा रमाउने र मन्चमा आएर बालबालिकाले दिएको भाषण र नाचगान हेरी परर ताली पड्काउने भिडको कमी छैन । हामीले यस्तो प्रवृतिलाई नो भनेर इन्कार गर्न सक्नुपर्छ । कानुन नमान्नेलाई थपडी बजाएर स्याबासी दिनु भनेको आफैँले कानुन नमानेको सरहको अपराध हो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै राजनीतिक दलले बालबालिकाकाे प्रयाेग गरेकाे भेटिएमा प्रमाणसिहत आयाेगमा जानकारी गराउन आग्रह गर्नुभएकाे छ ।
त्यसैले भाइबहिनीहरु, यदि तपाईंको वरिपरि निर्वाचनमा बालबालिकाको प्रयोग भइरहेको छ भने यो गलत हो भन्न अगाडि सर्नुहोस् । निर्वाचनमा बालबालिकाको प्रयोग भइरहेको भिडियाे र तथा फाेटाे खिचेर निर्वाचन आयोगमा पठाउनुहाेस् । निर्वाचन आयोग एन २०७३ दफा २३ अनुसार निर्वाचनमा बालबालिकाको प्रयोग गर्नेलाई एक लाख रुपियाँ जरिवाना र उम्मेदवारी रद्द गर्न सकिने कानुनी व्यवस्था रहेकाे छ ।
भाइबहिनीहरु, यसअघि भएकाे स्थानीय तहकाे निर्वाचनमा ८५५ जना बालबालिका प्रयाेग भएकाे तथ्य सार्वजनिक भएकाे थियाे । यस पटककाे चुनावमा पनि तपाईहरुलाई प्रयाेग गर्नसक्छन् तसर्थ आफूलाई कसैले चुनाव चिन्ह भएको झन्डा दियो र गन्जी लगाउन दियो भने पनि झन्डा प्रदर्शन नगर्नुहोस् र गन्जी नलगाउनुहोस् । यति गर्न सक्नुभयो भने तपाईं असल नागरिक हुनुहुनेछ । तपाईलाई कसैले प्रयाेग गर्न सक्नेछैन ।
लाै त सधैँ असल नागरिक बन्ने कोसिस गर्नुहाेला है ।