(किशोर कलम )
– सृजन बस्नेत
आमा, तिमीले कयौँ वर्षदेखि राेदन, जलन र पीडालाई सहदै
बुनेका ती हजारौँ सपनालाई पछ्याउँदै
हिँडेको म एकलयात्री अर्थात् तिम्रै प्रिय छोरा
माफ गर आमा, तिमीलाई मैले फोन गर्न सकिनँ
तिम्रो पीडा चिच्याहट सुन्ने हिम्मत जुटाउन सकिनँ
कयौँ वर्ष पहिले खिचेको तिम्रो र मेरो फोटो हेर्दै
मुस्कुराउने गर्छु
जुन खुसी अहिलेसम्म आडम्बरी यो झिलिमिली
सहरले दिन सकेन ।
आमा, यो सहर निकै स्वार्थी रहेछ नि
मैले त सहर जति नै सुन्दर मानिसको व्यवहार पनि हुन्छ भन्ने सोचेको थिएँ
म त तिमीले दिएको संस्कारबाट डगमगाउन सकिनँ
आज मेरो पेट रित्तै हुने गर्छ तर यो गरिबको
गाँस खोस्न तँछाड मछाड गर्दै कहिले लडिनँ ।
तिमीबाट टाढिएदेखि त यो झिलिमिली सहरभन्दा निकै गुणा त्यो अन्धकार कोठा प्यारो
लाग्न थालेको छ ।
जहाँ तिमीले पैसा नदिएसम्म रुँदैरुँदै घुर्की लगाउने
म र आज आफैँ दु:ख गरेर कमाउँदा थकित
भएको मलाई सम्झेर आँसुका थोपाहरू बगाउने गर्दछु ।
मलाई मावलीबाट कसैको पनि आस छैन
घरबाट पनि कसैको आस छैन भन्ने कुराले चिन्ता नगर
मेरा पाइला गन्तव्यतर्फ लम्किँदैछन्, म बन्नेछु
तिम्रो दु:खमा छहारी, म नै बन्नेछु बुढेसकालमा
तिम्रो लौरीको सहारा
तिमीले घन्टौँ लगाएर पकाएको खाना मिठो छैन भन्दै झर्किने म
आज एक गाँस खानाको लागि पनि तड्पिने भएँ
तिमीले बाबु घर आइज भन्दा साथीकोमा बस्छु भन्ने म आज
एक रात कटाउने वासको लागि भौँतारिने भएँ
यी बाँधिएका हातले तिमीलाई अँगालाे हाल्ने
हिम्मत कहिले आएन
सायद, तिमीले गरेको त्यो बाचाले पनि होला
बाबु मैले जति दु:ख खाए पनि तिम्रो आँखाबाट
एक थोपा आँसु खस्न दिने छैन भन्ने बाचा
चिन्ता गर्छौ अरे
खाना पायौ या पाएनौ गाँसको लागि
बस्न पायौ या पाएनौ वासको लागि
आशा छ तिम्रो त्यो प्रार्थनाले सकुशल देश फर्किन सकूँ
अब भने म हिम्मत जुटाएर फोन गर्छु
तिमीले खित्का छाडेर हाँसेको आवाज सुन्न सकूँ
आमा केही समय पर्ख तिमीले घरको पिँढीमा बसेर
पर डाँडामा देखेको त्यो गगनचुम्बी महल जस्तै महल बनाउनेछु
वैरी जल्ने छन्, बुबालाई राजा अनि तिमीलाई रानीसरह सुखसयलमा राख्नेछु ।
खासै राम्रो मानिनँ आमा, अन्धकार लाग्यो तिमीबिनाको
झिलिमिली सहर पनि
नझार आँसु बाचा गरेको छु फेरि पनि
तिम्रो मुहारमा हाँसो ल्याउँछु भनी ।
००