आदरणीय लेखक माधव सयपत्रीसँग कुराकानी

Highlights अन्तर्वार्ता विचार

१. आफ्ना बारेमा केही भनिदिनु हुन्छ कि ?
मेरो खास नाम माधवप्रसाद उपाध्याय हो । थर भण्डारी । पिता धर्मनन्द उपाध्याय र माता उमादेवी उपाध्याय । मेरो जन्म वि.सं. २०२४ सालमा रामेछापको फुलासी गाउँ पञ्चायत वडा नं. ५ मा भएको हो । तर नागरिकतामा जन्म २०२८ साल कायम भएको छ । पछि यो गाउँ फुलासी गाविस हुँदै अहिले मन्थली नगरपालिका वडा नम्बर १३ भएको छ ।
नेपाली सेनामा कार्यरत रहँदै २०३१ सालमा बुबाको निधन भयो । त्यसपछि हाम्रो परिवार सहाराविहीन भयो । म टुहुरो भएँ । २०३१/३२ सालतिर म कक्षा ३ सम्म पढाइ हुने गाउँको स्कुलमा भर्ना भएँ । ३ कक्षा उतीर्ण गरेपछि गाउँमा स्कुल नहुँदा आउनेजाने ५ घण्टा हिँडेर ६ कक्षासम्म पढेँ । २०३९ सालमा काठमाडौँ आई घरायसी कामदारको रूपमा काम गर्दै पढाइलाई निरन्तरता दिएँ । २०४५ सालमा शिवपुरी मावि महाराजगञ्जबाट प्रथम श्रेणीमा एसएलसी पास भएँ । घरायसी कामदार भई काम गर्दा मेरो विद्यार्थी जीवन निकै कष्टपूर्ण रह्यो ।
२. तपाईंलाई केले बालसाहित्य लेख्न प्रेरित गर्‍यो ?
२०४२ सालमा स्कुलकै वार्षिक पत्रिकामा पहिलो पटक रचना छापियो । त्यस्तै नन्दी माविको मुखपत्र ‘बिहानीको किरण’ मा ‘हेनरी ड्युना’ शीर्षकको कविता छापिएपछि ‘कवि’ नै भएको अनुभव भयो ।
२०४३ सालमा कक्षा ८ मा अध्ययन गर्दाताका नै मैले डायमन समसेर, गुरुप्रसाद मैनाली, पारिजात, वीपी कोइराला, तारिणीप्रसाद कोइराला, गोविन्द मल्ल, विजय मल्ल, रमेश विकल, पोषण पाण्डे, सीता पाण्डे, कुमार ज्ञवाली, भाउपन्थी, मनु ब्राजाकी, जगदीश घिमिरे, नारायण ढकाल, प्रेमा शाह, माया ठकुरी आदिका आख्यान पढेको थिएँ । उहाँहरूका आख्यानबाट प्रभावित भएर कथा लेखनतिर लागेँ । भारतीय कथाकार प्रेमचन्दका गरिबजनका कथा पढेपछि झनै सक्रिय भएर कथा लेखनमा लागेँ । कथामा जीवन खोज्न थालेँ ।
एसएलसीपछि काठमाडौँ छाड्नुपर्ने बाध्यताले मेरो लेखनीमा पूर्णविराम लाग्यो । छातीमा यामानको ढुङ्गाले थिचिएको अनुभूति गर्दै म गाउँतिर लागेँ । स्वास्थ्य, शिक्षा, यातायात, सञ्चार केहीको पनि सुविधा नभएको गाउँमा बस्दा पिँजराको सुगाजस्तो भइयो ।
छाप्ने ठाउँ नभए पनि गाउँमै बसेर कथा, कविता, नाटक लेखेँ । शिक्षण पेसाले बालबालिकाको मनोभावना बुझ्न र बालसाहित्य लेख्न प्रेरणा प्राप्त भयो । ‘मावलीको यात्रा’ बालउपन्यास पढेपछि मलाई बालसाहित्यमा रुचि लाग्न थाल्यो । त्यसपछि म बालकथा लेख्न थालेँ । बालसाहित्यमा लेख्न थालेको निकै पछि हो । मेरो पहिलो बालकथा ‘हरेरामलाई पछुतो भयो’ २०६४ सालमा मुना पत्रिकामा छापिएपछि निरन्तर बालकथा लेख्न थालेँ । त्यस्तै ‘पालैपालो कथा भनौँ’ बालकथा सङ्ग्रह २०६४ मै भुँडी पुराण प्रकाशनबाट प्रकाशित भएपछि म बालसाहित्य लेखनमा झनै हौसिएँ । त्यसयता मैले १५० ओटा जति बालकथा र दुइटा बालउपन्यास लेखेँ । सबै कथा र उपन्यास कृतिको रूपमा छापिइसकेका छन् ।
साथै २०६८ सालको ‘पारिजात पाण्डुलिपि पुरस्कार’ पाएको ‘साहसी साथी’ बालउपन्यास यसै वर्ष बालबालिकाको हातमा पर्नेछ । यो मेरो पछिल्लो कृति हो ।

३. बालबालिकालाई किन बालसाहित्य पढाउनु पर्छ ? ग्रामिण बालबालिका बालसाहित्यको पहुँचमा छन् ?
बालसाहित्यले बालबालिकामा तत्कालै देखिनेगरी प्रभाव पार्न सक्छ । यसले कल्पनाशीलता एवम् सिर्जनशीलता बढाउँछ भने उनीहरूको भाषिक क्षमतामा उल्लेख्य बढोत्तरी हुन्छ । वर्ण विन्यासमा शुद्धता आउँछ । अभिव्यक्ति क्षमतामा स्वत: बृद्धि हुन्छ । यसका साथै बालबालिकाहरूमा आलोचनात्मक चेतनाको विकास हुन्छ । उनीहरूले वस्तु वा घटनाको सही समयमा सही मूल्याङ्कन र विश्लेषण गर्न सक्छन् । अतिरिक्त पुस्तक पढ्ने बालबालिकाको अन्य विषयमा पनि सिकाइ स्तर तुलनात्मक रूपमा राम्रो देखिएको छ । पठनसंस्कृतिको विकास गर्न र बालबालिकालाई सही बाटोमा ल्याउन बालसाहित्यले महत्वपूर्ण भूमिका खेल्छ ।
सहरका बालबालिकाले चाहेको वेला चाहेको पुस्तक पढ्न सक्छन् । सहरका अभिभावकहरूमा नानीहरूलाई अतिरिक्त पुस्तक पढ्न दिनुपर्छ भन्ने चेतनाको विकास भएको छ । तर गाउँको अवस्था विलकूल भिन्न छ । पहिलो कुरा गाउँमा बालसाहित्यका पुस्तक पाइँदैन । दोस्रो, अरू किताब पढ्दा आप्mना नानीहरूको पढाइ बिग्रिन्छ भन्ने अभिभावकहरूको गलत धारणा रहेको पाइन्छ । तेस्रो, गाउँका अधिकांश शिक्षकहरू साहित्यिक दुनियाँबाट टाढा हुन्छन् । उनीहरूमा साहित्यप्रति खासै रुचि देखिँदैन । त्यसैले शिक्षकहरू नै बालबालिकाले अतिरिक्त पुस्तक पढ्नु समय बर्बाद गर्नु हो भनिठान्छन् । चौथो, प्रकाशकहरूले पनि गाउँका बालबालिकालाई लक्षित गरी बजार विस्तार गर्न सकेका छैनन् । पाचौँ, पुस्तकको मूल्य निकै माथि पुगिसक्यो । किनेर पढ्न सक्ने अवस्था नै छैन ।
४. अहिलेको बालसाहित्यले सबै परिवेशका कथा भन्न सकेन । यो बजारमुखी भयो । प्रकाशक कन्टेन्ट भन्दा पनि कन्टेस्टतिर जोड दिन थाले । यसमा कति सत्यता छ ?
बालसाहित्यले अपेक्षित सबैका कथा भन्न सकेको छैन । दूरबस्तीका, शिल्पी समुदायका, हिमालका, नदी किनारका, फरक क्षमताका, फरक पेसाका, फरक संस्कृतिका, फरक सोचका कथा खासै आएका छैनन् । प्रकाशकहरू बजार हेरेर कन्टेन्ट राख्न थालेका छन् । व्यापारिक हिसाबले यो ठिक छ । तर साहित्यको मूल्यवत्ता बजारले धान्न सक्दैन । बालसाहित्यमा लेखिनुपर्ने थुप्रै विषयवस्तु मूल धारबाहिर छन् ।
५. तपाईं लामो समयदेखि बालसाहित्य लेखिरहनुभएको छ । वर्तमान बालसाहित्यले ग्रामिण भेगका बालबालिकाको ध्यान तान्न सकेको छ ? बालसाहित्यमा लेखिन बाँकी कस्ता विषय छन् ?
ग्रामिण भेगका बालबालिका बालसाहित्यको मूल धारभन्दा बाहिर छन् । कहिले, कस्तो र कसको बालसाहित्य बजारमा आएको छ भन्ने कुराको जानकारी गाउँका बालबालिकालाई हुँदैन । चासो नराख्ने अभिभावक र शिक्षकलाई जानकारी हुने कुरै भएन । गाउँमा पुस्तकालय छैनन् । कताकति पुस्तकालय भएपनि तिनले बजारमा आएका नयाँ नयाँ किताब किनेर राख्ने अवस्थामा छैनन् । विद्यालयमा भएका पुस्तकालयमा बालसाहित्य छायामा परेको छ । वेद, पुराण तथा राजनीतिशास्त्रका ठेलीले स्कुलका पुस्तकालय भरिएको देखिन्छ । ती किताब विद्यालयमा कहिल्यै प्रयोगमा आएको देखिँदैन । सरकारले विद्यालयलाई दिएको एकमुष्ट पुस्तकालय अनुदानमा ठुलो बदमासी भएको छ । प्रकाशक र विद्यालयको मिलेमतोमा कहिल्यै नबिक्ने किताबलाई प्रकाशकले ‘स्टोर क्लियर’ गरेर विद्यालयमा पुर्‍याएका छन् । बालसाहित्य प्राथमिकतामा नै पर्दैन । विद्यालयमा कस्ता पुस्तक पुग्नुपर्छ भनेर अध्ययन नगरी पुस्तकहरू थुपारिएको छ ।

६. बालसाहित्य मूलधारको चर्चामा किन आउन सकेन ?
यो समाज जात, धर्म, लिङ्ग, क्षेत्र, वर्ण, वर्ग विभेदी मात्र छैन उमेर विभेदी पनि छ । बालबालिकालाई हेर्ने र व्यवहार गर्ने दृष्टिकोण नै विभदपूर्ण छ । बालबालिका अभैm पनि ‘भुराभुरी’ मै सीमित छन् । यिनका लागि किन राम्रो लेख्नु ? किन खर्च गर्नु ? कोर्सका किताबले चाहिने जति सूचना/ज्ञान दिएकै छ भन्ने हाम्रो सोचाइ छ । बडेबडे भनिएका लेखकहरूको बालसाहित्यलाई हेर्ने दृष्टिमा नै दृष्टिदोष छ । कपटपूर्ण छ । बालसाहित्य सर्जकलाई सर्जकै नमान्ने, जाबो बालसाहित्य भन्नेहरू पनि छन् । अनलाइन वा प्रिन्ट मिडियामा हेरौँ न– ठुलाका साहित्यको विज्ञापन र समीक्षाको तुलनामा सानाको कति आउँछ ! खै, बालसाहित्यको प्रचार प्रसार ? प्रकाशकहरू पनि बालसाहित्यमा टाउको दुखाउन चाहँदैनन् । सरकारी साहित्यिक संस्था नेपाल प्रज्ञाप्रष्ठिानले बालसाहित्यमा कति लगानी गर्छ, देखिएकै छ ।
७. ठुलाका लागि साहित्य लेखिरहेका लेखकहरूले बालसाहित्यलाई नजरअन्दाज गरेको महसुस गर्नुभएको छ ?
मैले यो कुरा माथि नै भनिसकेँ । बालसाहित्य ‘जाबो’ साहित्य भएको छ । यस्तो अनुत्पादक ठाउँमा किन खर्च गर्ने ? किन टाउको दुखाइरहने ? बालसाहित्य प्रबर्धनको लागि राज्यले कुनै संस्थागत प्रयास गरेको छैन । साहित्यिक पुरस्कारमा बालसाहित्यलाई दिने पुरस्कारको नामै सुनिएको छैन । ठुलाको साहित्य लेख्ने लेखकले कहिल्यै बालसाहित्यको चर्चा गरेको सुनिँदैन । अहिले सहरबजारमा लेखकको मात्र हैन, प्रत्येक घरमा कम्तीमा एक दराज पुस्तक हुन्छन् । तर त्यो दराजमा बालसाहित्यका पुस्तक कतिओटा हुन्छन् ? शून्य । यसैबाट प्रष्ट हुन्छ–बालसाहित्यलाई हेर्ने हाम्रो दृष्टिकोण ।

८. परम्परागत एकादेशको कथाले मात्र अबको बालसाहित्य उँभो लाग्छ हाेला ?
एकादेशको कथा लेख्नुपर्ने समय थियो, लेखियो । अब एकादेशको कथाले मात्रै पुग्दैन । हाम्रा बाल पाठकहरू हामीभन्दा निकै अगाडि पुगिसके । प्रविधिले उनीहरूलाई धेरै कुरा सिकाइसक्यो । यसो भन्दा प्रविधिकै मात्र कुरा गरेर हुँदैन । बालसाहित्य लेखन विशिष्टितिर गैसक्यो । विषयवस्तु पुरानै भएपनि कथा भन्ने शैली विशिष्ट हुनु पर्‍यो । नानीहरू त्यै विशिष्ट बालसाहित्य खोज्दै छन् । मुख्य कुरा नेपाली समाज र रुढी धर्मसंस्कारका गलगाँडमा बालसाहित्यले घन प्रहार गर्नु पर्छ । यो शताब्दीका बालबालिकालाई अन्धविश्वासमा रुमलिन दिनु हुँदैन । हाम्रा रुढी संस्कार किन ? कसरी ? केका लागि ? भनेर बालबालिकाले प्रश्न गर्नु पर्छ । बहिष्कार योग्य संस्कारलाई त्याग्नु पर्छ नत्र हाम्रो समाजको चेतना स्तर माथि उठ्दैन । यो समय रुढता बोकेर बाँच्ने समय होइन । मानवता र विज्ञानवाद आजको सर्वमान्य सिद्धान्त हो । हाम्रो बालसाहित्य लेखन अब यतातिर केन्द्रित हुनु पर्छ ।
९. के तपाईले बालसाहित्यमा प्रविधिको खाँचो महसुस गर्नुभएको छ ?
अवश्य । अहिले कम्प्युटरमा, मोवाइलको स्क्रिनमा छिनभरमै संसार डुल्न सकिन्छ भने पुरानै ढर्रामा पुस्तकका पाना पल्टाएर बस्ने समय छैन । छानिएका बालसाहित्यलाई डिजिटलाइज्ड गर्नु आवश्यक छ । बालबालिका किन कार्टुनमा रमाउँछन् भने काटुर्न प्रविधियुक्त साहित्य हो । त्यसैले उनीहरूको ध्यान किताबमा भन्दा कार्टुनमा जान्छ । बालसाहित्य अब श्रव्यदृश्यतिर जानै पर्छ ।

१०. बालसाहित्यमा गर्नैपर्ने नयाँ काम केही छ ?
अहिले सुविधा र अधिकार सम्पन्न स्थानीय तह अस्तित्वमा छन् । अब यी तहले बालसाहित्य र पठन संस्कृति विकासका लागि काम गर्नु पर्छ । कला, साहित्य र संस्कृतिको उन्नयनका लागि योजना बनाएरै लाग्नु पर्छ । हरेक वर्ष स्थानीय तहमै बालसाहित्य पुस्तक प्रदर्शनी गर्न सकियोस् जहाँबाट बालबालिकाले आफ्नाे रुचिका पुस्तक छनोट गर्न सक्छन् । वेला वेला बालसाहित्य सम्मेलन होस् । बालसाहित्य गोष्ठी सञ्चालन होस् । स्कुल स्कुलमा सर्जकहरू पुगून् । बालसाहित्यका राम्रा सर्जकसँग बालबालिकाले साक्षात्कार गर्न सकून् । यसो गर्दा उनीहरूमा पनि लेख्ने हौसला बढ्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *