डिएभी स्कुल विवाद : दोषी को ?

Featured Highlights सम्पादकीय

डिएभी स्कुलमा कक्षा ८ मा पढ्ने छात्रा फेल भएपछि शिक्षकले उनलाई गरेको दुर्व्यवहारको घटना अहिले चर्चाको विषय बनेको छ । अहिले विद्यालयका विरुद्ध सामाजिक सञ्जालमा थुप्रै पोस्टहरु पढ्न पाइन्छ । यस विषयमा विद्यालय र शिक्षक नै दोषी छन् भन्ने विचारको बहुमत देखिन्छ ।

वास्तवमा एउटै विद्यार्थी कक्षा २ देखि त्यही विद्यालयमा पढेर पनि कक्षा ८ पास गर्न नसक्ने अवस्था आयो । त्यो विद्यालयले यत्रो वर्ष कसरी पढायो ? किन गुणस्तरीय शिक्षा दिनसकेन ?

यो प्रश्नले अहिले सबै विद्यालयको पठनपाठनमा नैतिक प्रश्न उब्जाएको छ ।

अहिले यो समस्या धेरै विद्यालयमा रहेको छ । विद्यार्थीले कक्षा चढ्दै गएपछि यस्ता समस्या देखिने गरेका छन् ।

वास्तवमा सरसर्ती हेर्दा यो विषयमा विद्यालय र शिक्षक मात्र दाेषी जस्ताे देखिए पनि अभिभावक पनि विद्यालय र शिक्षक बराबर नै दोषी देखिन्छन् । तर घटना भएको दिन शिक्षकले आवेशमा आएर विद्यार्थीलाई हतोत्साहित गर्नु सरासर गलत हो । यस्तो कार्य कुनै पनि शिक्षकका लागि शोभा दिँदैन । शिक्षण मर्यादित पेशा हो ।

अभिभावक पनि किन दोषी ? भन्ने कुराको छलफलका लागि हामीले निम्न तीनवटा विषयमा छलफल गर्नु आवश्यक देखिन्छ ।

ती तीन विषयहरु सहकार्य, बानी निर्माण र सहभागितामूलक शिक्षण हुन् । सहकार्य यस अर्थमा कि एउटा विद्यार्थीको सुमधुर शैक्षिक भविष्य निर्माणका लागि अभिभावक, शिक्षक र विद्यालयबिच सहकार्य हुनुपर्छ । यस सहकार्यका लागि वातावरण तयार गर्ने काम विद्यालयको हो । विद्यालयले सुरुमा विद्यार्थीको राम्रो शैक्षिक नतिजाका लागि योजना तयार गर्नुपर्छ र सो योजनाका लागि शिक्षक र अभिभावकसँग सहकार्यका लागि आह्वान गर्नुपर्छ । यसरी नियमित भेटघाट र सूचना आदानप्रदान गरी सहकार्यलाई फलदायी बनाउन सकिन्छ । यसका लागि विद्यालयको दायित्व, अभिभावकबाट विद्यालयको अपेक्षा र शिक्षकको दायित्वबारे स्पष्टसँग छलफल हुनुपर्छ किनकि त्यो सहकार्यको सम्बन्धसँग विद्यार्थीको बानी निर्माणको कुरा बलियोसँग गाँसिएको हुन्छ ।

बानी निर्माण गर्ने वैज्ञानिक सिद्धान्त के छ भने जब हामीले विद्यार्थी ६ वर्ष पुगेपछि उसलाई कक्षा कार्यको दैनिक कार्यमा संलग्न गराउँदै जान्छौँ तब उसको कक्षा कार्यमा सहभागी हुने र सिक्ने र सिक्न चाहने बानीको निर्माण हुन्छ । यो बानी निर्माण गर्ने चरणमा अभिभावक र शिक्षकले विद्यार्थीलाई क्षति नपुग्ने गरी अलि कडाइका साथ रुटिनमा हिँड्न लगाउनुपर्छ । नियमित होमवर्क गर्ने र घरमा पुगेपछि पढ्ने समय निर्धारण गरिदिने र त्यसको लागि नियम पालना अनिवार्य गर्नैपर्छ भन्ने धारणा विकसित गर्दै जानसकेमा अभिभावकको कर्तव्य राम्ररी पूरा हुन्छ । यसरी बानी निर्माण हुँदै हुर्किएका विद्यार्थीमा ठुला कक्षामा पुगेपछि अनुतीर्ण हुने समस्या हुँदैन । परीक्षाको रिजल्ट सानो कक्षादेखि नै राम्रो हुँदै अघि बढ्छ । अहिले भइरहेको समस्या नि बानी निर्माणमा शिक्षक र अभिभावकले बेवास्ता गर्नुले हो । किनकि यस विषयमा होमवर्क गर्न विद्यार्थीलाई दबाब दिँदा अभिभावक आएर किन दबाब दिएको भन्ने चलन रहेको शिक्षकको गुनासो सुनिन्छ । अ्रकाेतिर अभिभावकले पनि आफ्ना बालबालिकालाई घरमा पढ्ने समय तोकिदिएर बानी निर्माण गर्न ध्यान नदिएकाे देखिन्छ ।

बानी निर्माणका लागि एउटा वैज्ञानिक सुत्र छ । बानी निर्माणको लागि बालबालिकाका क्षेत्रमा कार्यरत मनोविद्हरु भन्छन्– यदि कुनै अभिभावकले हरेक दिन एउटै समयमा आफ्ना छोराछोरीलाई होमवर्क गराउने काम लगातार २० दिनसम्म गर्न सक्नुभयो भने बालबालिकाको त्यही समयमा होमवर्क गर्ने बानी बस्छ । त्यसका लागि अभिभावकले आफ्नो बच्चा ७ वर्षको उमेर पुगेदेखि ११ वर्षसम्म विशेष समय छुट्याएर नि यो बानी निर्माणमा विशेष कोसिस गर्नुभयो भने त्यो बच्चा पढाईमा सफल हुने ९९ प्रतिशत पक्का हुन्छ ।

वास्तवमा सानो छउन्जेल बानी निर्माण गर्न ध्यान नदिने र ठुलो भएपछि जति बेला नि पढ् पढ् मात्र भन्ने शिक्षक, अभिभावक र विद्यालय प्रशासन यी तीनै पक्ष दोषी छन् । विद्यार्थीकाे यस विषयमा केही दोष छैन । सानो कक्षाबाटै बानी पार्नुपर्छ भनेर दबाब सिर्जनाका लागि अभिभावकलाई पनि सहमत गराउने वातावरण शिक्षक र विद्यालयले बनाउन सक्नुपर्छ ।

दबाब भन्नाले शारीरिक दबाबको मात्र कुरा हुँदैन । नैतिक दबाब पनि यस विषयमा फलदायी हुन्छ । जस्तै; बेलुका ६ बजेदेखि ७ बजेसम्म बालबालिकालाई बानी पार्ने हो भने त्यो समय घरका सबैले पढ्ने मात्र काम मात्र गर्ने । कसैले पनि पढ्ने र लेख्नेबाहेक अरु काम नगर्ने गर्‍यो भने बालबालिकाले आफूलाई त्यो माहोलमा ढाल्न सकारात्मक महसुस गर्छन् । दबाब महसुस गर्दैनन् ।

त्यस्तै तेस्रो विषय सहभागितामूलक शिक्षण हो । पढाउनु भनेको जान्ने विद्यार्थीलाई मात्र लिएर फटाफट कोर्स सकाउनु मात्र होइन । त्यो पढाइमा कक्षाका हरेक बालबालिकाको सहभागिता हुनु आवश्यक छ । सहभागिताले विद्यार्थीको सिकाइमा सकारात्मक असर गर्दछ । जान्ने र जान्न कोसिस गर्दै गरेका विद्यार्थीको समूह बनाइदिएर वा कक्षाका हरेक विद्यार्थीलाई हरेक क्रियाकलापमा सहभागी हुने वातावरण निर्माण गरिदिनु साँचो अर्थमा सहभागितामूलक शिक्षण हो । अर्को महत्वपूर्ण कुरा एउटा विद्यार्थीलाई असल र जान्ने बनाउन विद्यालय, शिक्षक र अभिभावक यी तीनै पक्षको समान सहभागिता आवश्यक रहन्छ । त्यसको लागि वातावरण तयार गर्ने काम विद्यालयको हो । विद्यालय र शिक्षक मिलेर अभिभावकलाई पनि विद्यार्थीको शैक्षिक गुणस्तरको विकासको लागि साझेदार बनाउन सक्नुपर्छ । यसका लागि कक्षागत रुपमा अभिभावक, शिक्षक बैठक र त्रैमासिक मूल्याङ्कनजस्ता पक्षहरु महत्वपूर्ण हुन्छन् । विद्यार्थीले घरमा के गर्दा सिक्ने र सिकेको कुराको अभ्यास गर्ने वातावरण पाउन सक्छ । त्यसका लागि शिक्षकले अभिभावकसँग सहभागिता खोज्नुपर्ने हुन्छ । यसरी अभिभावक र शिक्षक दुवै पक्ष विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन अग्रसर हुनसके डिएभी स्कुलको जस्तो समस्या पर्दैन । यसका लागि एकले अर्कालाई दोष लगाएर पन्छिने होइन । एकअर्काको कुरा सुनेर समाधानको बाटोतर्फ उन्मुख हुनु जरुरी देखिन्छ किनकि अभिभावक, शिक्षक र विद्यालयले असहज परिस्थितिको सिर्जना गरी विद्यार्थीको भविष्य बिगार्नु बालअधिकारको गम्भीर उल्लघंन हो । यो बालबालिकाकाे भविष्यमाथि खेलवाड पनि हाे ।

तसर्थ, विद्यार्थीको सुमधुर वर्तमान र समुज्जवल भविष्यका लागि विद्यालय, शिक्षक र अभिभावकले सहकार्य गरी अघि बढ्नु नै यस समस्याको समाधान हो भन्ने कुरामा सबै पक्ष सहमत हुनु जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *