बाल पुस्तकको चित्रकला : स्पन्दनमा शान्ता हिताङ

Featured Highlights किशोर साहित्य चित्रकला प्रतिभा परिचय मेरो आवाज साहित्य

कार्तिकेय घिमिरे

नेपाली बालबालिकाहरू विस्तारै पुस्तकको साथी भएको कुरामाथि गर्व गर्न थालेका छन् । उनीहरू पाठ्यपुस्तक बाहेकका आफूले पढेका पुस्तकको नाम लिन पनि उत्साहित देखिन थालेका छन् । कुनै बालसाहित्यकारलाई बालकले भेट्दा मैले तपाईँको त पढेको थिएँ भन्नु निश्चय नै एउटा परम आनन्दको क्षण हो । त्यही क्षणको स्मृतिमा विचरण गर्दा लेखकलाई लेख्न प्राप्त हुने उर्जालाई अर्थले कदापि उछिन्न सक्दैन ।

चित्रकार शान्ता हिताङ त्यही माहौलमा बाँचेका एक राम्रा चित्रकार हुन् । २०२८ साल असार २४ गते पर्वत जिल्लामा पिता नरबहादुर र माता रुपाको कोखबाट उदाएका हिताङले बि.एस्सी.सम्मको औपचारिक शिक्षा हासिल गरेका छन् । कलासम्बन्धी विभिन्न तालिमहरू लिई व्यक्तिगत साधनाबाटै स्तरीयतर्फ उन्मुख भइरहेका शान्ता हिताङ कलालाई भाव अभिव्यक्त गर्ने माध्यमको रुपमा स्वीकार्छन्, उनी बाल पुस्तकहरूमा गरिने चित्रकला बालबालिकाहरूको उमेर अनुसार फरकफरक प्रकृतिको हुनुपर्छ भन्छन् । पुस्तकको चित्रकला हेरी बालसाथीहरू पुस्तक पढ्न उत्साहित होउन् र चित्र बनाउन समेत अग्रसर होउन् भन्ने लक्ष्य लिई चित्रकारले चित्र कोर्नुपर्छ भन्ने हिताङ बाल पुस्तकको चित्र सरल र आकर्षक हुनुपर्ने कुरामाथि विशेष जोड दिन्छन् । विगत एक दशकदेखि कला यात्रामा साधनारत उनले हालसम्म चार दर्जनभन्दा बढी पुस्तकहरूलाई आफ्नो मार्मिक कलाले जीवन्तता प्रदान गरिसकेका छन् । प्राय: कमै चर्चामा आउन रुचाउने र कामको स्तर एवम् गुणात्मकतामा बढी विश्वास गर्ने उनले २०५७ सालको उत्कृष्ट चित्रांकन पुरस्कार प्राप्त गरेका थिए । नगद र प्रमाणपत्रसहित नेपाल बालसाहित्य समाजले प्रदान गरेको उक्त पुरस्कार उनले रविन नेपालीद्वारा लिखित ‘पासाङ र च्याङग्रा’ नामक बालकृतिमा उत्कृष्ट चित्र बनाए बापत पाएका थिए ।

बालकै अवस्थादेखि अवस्थादेखि विद्यालयमा उत्कृष्ठ कला सिर्जना गरी पुरस्कृत भएको बताउने हिताङले दर्जनौँ बाल गोष्ठीहरूमा कला विषयमा प्रशिक्षण पनि प्रदान गरेका छन् । जनआन्दोलन दिवस २०५३ को अवसरमा गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आयोजित ‘जनआन्दोलन दिवस २०४६ चैत २६ गते स्मरण’ विषयक खुला चित्रकला प्रतियोगिता र विश्व जनसंख्या दिवस २०५५ मा आयोजित पोस्टर प्रतियोगितामा सहभागी भई यी दुवै प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका उनले बनाएका चित्रकलाहरू काठमाडौँस्थित विभिन्न ग्यालरीहरूमा बिक्रीका लागि राखिएका पनि छन् । उनी भन्छन्– ‘मेरा चित्रहरू प्राय: विदेशीहरूले किनेर लैजान्छन् ।’

कलाको मौनताभित्र लुकेको जीवन्तता र जीवनको पदचापभित्र लुकेको सन्नाटादेखि सधैँ त्राहिमान रहने ती कलाकार कलालाई जीवनको एक अभिन्न पाटोका रूपमा स्वीकार्दछन् । उनी भन्छन्– ‘बालबालिकाहरूका लागि बनाइने चित्रकला अझ बढी वस्तुगत, मूर्त र मानवीय संवेदनालाई समेट्न समर्थवान् हुनुपर्छ ।’

वर्तमान नेपाली बालसाहित्य र चित्रकलाको बिचमा रहेर कुरा गर्दा बालसाहित्यकार र चित्रकारबिचको दूरी बढेकाले जति उत्कृष्ट चित्रकला सिर्जना हुन सक्ने थियो, त्यति हुन नसकिरहेको कुरा बताउने उनी पुस्तकलाई शब्द र चित्र दुवै माध्यमले उत्कृष्ट बनाउन चित्रकार र लेखकबिचमा गहिरो सम्बन्ध स्थापित हुनुपर्ने कुरामा विशेष जोड दिन्छन् । विश्वका विभिन्न बालपुस्तकमा सिर्जित कलाले पाएको जीवन्तताको मुख्य कारण नै लेखक र कलाकारबिचको भावनात्मक पुनर्मिलनको फल हो भन्छन् हिताङ । आफू सकभर लेखकसँग सामित्यता गाँसी चित्र बनाउने कुरामा जुटेको बताउने उनी लेखकहरू र चित्रकारहरू आआफ्नै विविध कामको चटारोले गर्दा समयको अभावमा यो कुरा पूर्णतया सम्भव हुन नसकेको कुरा पनि उनी स्वीकार्दछन् । यसको मुख्य कारण लेखकहरू लेखेरै आर्थिक रूपमा सक्षम हुन सक्ने माहौलको विकास नहुनु र कलाकारहरूले पनि पुस्तकमा मात्र चित्र कोरेर आर्थिक सक्षमता हासिल गर्न नसक्नु हो भन्छन् उनी । यति हुँदाहुँदै पनि केही बाल पुस्तकहरूमा स्तरीय चित्रकला तयार गर्न सकिएको र भविष्यमा यो क्रम बढ्दै जाने छ भन्ने कुरामाथि आशावादी हुन सकिन्छ । विशेषत: स्थापित भइसकेका प्रकाशन संस्थाहरूले लेखक र चित्रकारबिच राम्रो सम्बन्ध स्थापित गराउने र मनका भावना साटासाट गर्ने वातावरण सिर्जना गर्न नसक्नु दु:खद् कुरा हो । यसका साथै बालबालिकाहरूका लागि लेख्ने र चित्र कोर्नेहरूको साझा चौतारीको अभाव हुनाले पनि यी वर्गहरू अल्मलिएको आभास हुन्छ । तसर्थ यिनलाई गोरेटो पहिल्याइ दिने निकायको टड्कारो आवश्यकता सर्वत्र महसुस गरिएको छ । भविष्यमा चित्रकलालाई जीवन्तता प्रदान गर्न पहल गर्ने हो भने यी प्रश्नहरूको समाधान खोज्नु र ठोस निकायको स्थापनातर्फ उम्रिरहेका संस्थाहरूकै नामको मात्र झ्याली पिटेर स्थापना हुने संस्थाको औचित्यहीनतामाथि सुरूमै विचार गरी एउटा गतिलो ‘बाल चित्रकारहरुको साझा मञ्च’ को स्थापना आजको अति आवश्यक आवश्यकता बनिसकेको कुरामाथि शायदै कसैको दुईमत होला ।
साभार : युगसम्वाद साप्ताहिक, २०५८ साल पुस १७ गते मङ्गलबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *