मीठो खाजा (कथा): सरिता अर्याल/ सम्पादक : शान्तदास

Featured Highlights कथा साहित्य

विद्यालयको खाजा खाने घण्टी बज्यो । कक्षा चारका बिद्यार्थीहरूलाई गृह–कार्य लेखिदिएर किरण सर कक्षा–कोठाबाट बाहिर निस्कनुभयो । उहाँको पछिपछि सबै विद्यार्थीहरू हातहातमा आफ्ना खाजा–पोका बोकेर चउरतिर लागे । सन्तोष भने बाहिर जाऊँ कि नजाऊँ गर्दै कहिले बेन्चमा बस्दै त कहिले उठ्दै कक्षाकोठाभित्रै अल्मलिँदै थियो । केही समयपछि ऊ पनि बिस्तारै बाहिर निस्क्यो र रूखमुनिको एकान्त ठाउँमा बसेर आफ्नो खाजाको पोको खोल्यो र कपाकप खान थाल्यो ।

किरण सरले सन्तोषलाई मात्र एक्लै बसेर खाजा खाइरहेको परैबाट देख्नुभयो । त्यो देखेपछि किरण सरको मनमा सन्तोष आफ्नो कक्षामा मिहेनेती र मिलनसार विद्यार्थी थियो, कक्षा चारका सबै विद्यार्थीहरू समूहमा सँगै बसेर बाँडीचुँडी खाइरहेका थिए तर सन्तोष मात्र किन त्यसरी एक्लै बसेर खाइरहेको होला भन्ने लाग्यो । यो कुरा बुझ्न उहाँ सन्तोष भएको ठाउँमा पुग्नुभयो ।

किरण सरलाई आफूतिर आउँदै गर्नुभएको देखेर सन्तोष अतालियो र हतारहतार खान बाँकी खाजाको पोको बाँधेर आफ्नो खल्तीमा राख्यो ।

त्यति बेलासम्ममा किरण सर सन्तोष भएको ठाउँमा आइपुगिसक्नुभएको थियो र उहाँले सन्तोषको दाँया कुममा हात राखेर मायालु स्वरमा सोध्नुभयो, “सन्तोष, भन त, तिमी किन यसरी अतालिएको ? खाजा खाइसक्यौ, हैन ?”

“त्यस्तो केही हैन सर, खाजा खाइसकेर अब कक्षाकोठामा जान लागेको सर ।”

“ए, कति छिटै खाजा खाइसकेको नि ! तिमी किन एक्लै बसेर खाजा खाएको ? आफूले ल्याएको खाजा साथीहरूले खाइदेलान् भनेर हो कि कसो ?”, ठट्टाको शैलीमा किरण सरले सोध्नुभयो ।

किरण सरको यस प्रश्नले सन्तोषको अनुहार एकाएक रातो भयो र उसले बिस्तारै भन्यो, “त्यस्तो केही हैन, सर ।”

यतिकैमा पाँचौँ घण्टी लाग्यो र सन्तोष किरण सरसित बिदा मागेर कक्षा–कोठातिर लाग्यो ।

ऊ गएपछि किरण सरका आँखा भुइँमा खसेका एक दुई गेडा मकै र भटमासमा पुगे । त्यो देखेपछि किरण सरलाई सन्तोषले एक्लै बसेर खाजा खानुको रहस्यबारे केही बुझेकाे जस्तो लाग्यो र लामो सास फेर्नुभयो । ।

कक्षाकोठामा पुगेका सन्तोषको मनमा थरीथरीका कुरा खेलिरहेका थिए । उसले कक्षामा विनोद गुरुले पढाइरहनुभएको कुरामा ध्यान दिन नै सकिरहेको थिएन । उसको मनमा, ‘कीरण सरले मसित आज खाजाको कुरा किन गर्नुभएकोे होला, मैले खाने गरेको खाजा कीरण सरले देख्नु पो भयो कि ! मलाई मेरी आमाले जहिले पनि त्यही भुटेको मकै र भटमास मात्रै दिनुहुन्छ, मेरा साथीहरूको अगाडि मलाई आपूmले ल्याएकोे खाजा देखाएर खान नै लाजमर्दो भएको छ, म उनीहरूका अगाडि बसेर खानै नसक्ने भएको छु भन्ने कुरा मेरी आमा किन बुझ्नुहुन्न ?, यो कुरा मेरी आमालाई किन थाहा भएन ? कक्षाका मेरा सहपाठीहरू दिनै पिच्छे थरी थरीका रङ्गी बिरङ्गी खाजाका पोकाहरू ल्याउँछन्, कतिबिघ्न मीठा होलान् ती !, हेर्दा नै खाऊँ खाऊँ लाग्छन्, मेरा खाजा त जहिले पनि त्यै त्यै ! त्यै मकै अनि त्यै भटमास ! मलाई साथीहरूका अगाडि बसेर खान नै लाजमर्दो भएको छ, यो कुरा म आमालाइ कसरी सम्झाउने ? मेरा अरू साथीहरू सँगै बसेर कुरा गर्दै स्वाद लिई लिई खान्छन् तर म भने सबैसित अलग्ग रहेर एक्लै खान्छु, छिटछिटो खान्छु, कुनै बेला त म आफूले खाइरहेकमो कुराको स्वाद पनि थाहा पाउँदिनँ, मैले खाने हैन निल्छु । यो कुरा कसलाई भनूँ, कसरी भनूँ, आमा बुझ्नुहुन्न !’ उसका मनमा यस्तै यस्तै कुराहरू एकपछि अर्को गर्दै आइरहे र उनले विनोद सरको सिकाइमा आफ्नो ध्यान केन्द्रित गर्न नै सकेन । आखिरमा विनोद सरले उसको नामै लिएर सचेत गराउनुभयो ।

त्यस दिन स्कुलपछि घर फर्कंदा पनि बाटोभरि उसको मनमा उही मकै र भटमास अनि किरण सरको कुरा र साथीहरूले खाने गरेका रङ्गीचङ्गी पोकाभित्रका मीठा मीठा खाजाकै कुरा खेलिरहेका थिए । त्यस दिन ऊ आफू कसरी घर पुगेको थियो उसलाई पत्तै भएन ।

घरभित्र के पस्नु आमाले उही मकै भुटिरहेको हुुनुहुन्थ्यो अनि मकै भुट्दाको बास भान्सादेखि आँगनसम्म फैलिएको थियो । तर आज सन्तोषलाई मकै भुटेको मीठो बास हुनुुसम्म असह्य भएको छ । उसले त्यसलाई सहनै सकेन त्यसैले उसले आफ्नी आमालाई भनिहाल्यो, “आमा, कति खानु मकै भटमास ! हिजो पनि मकै भटमास, आज पनि मकै भटमास ! जहिले पनि मकै भटमास ! कति दिन लुकेर खानु ! अब म खान्न यी मकै भटमास ! मेरा कक्षाका साथीहरू कस्ता कस्ता रङ्ग बिरङ्गका हेर्दा नै खाऊँ खाऊँ लाग्ने पोकाहरू ल्याउँछन् र आपसमा बाँडी खान्छन् तर तपाईलाई थाहा छ मैले कोही नभएको एक्लो ठाउँमा गएर लुकी लुकी खानुपर्छ । अबदेखि म लान्न यी मकै र भटमास !”

आफ्नो छोराले त्यसो भनेको सुन्दा सन्तोषकी आमा शुरुमा जिल्ल पर्नुभयो र आफूलाई सह्माल्दै आफ्नो छोरालाई सम्झाउनुभयो, “छोरा, तिमीले के भनेको ? हेर, यी मकै र भटमास त हाम्रा लागि प्राण हो, यही खाएर हामी दिनदिनभरि काम गर्छौँ, तिम्रा बा खेत खन्नुहुन्छ, गोड्नुहुन्छ, बाली लाउनुहुन्छ र भकारी भर्नुहुन्छ । यी मकै भटमास मकै भटमास मात्र हैनन् । हामीलाई जिउँदो राख्ने वस्तु अन्न हो, प्राणदाता हो । छोरा, यसलाई हेला गर्न हुँदैन । छोरा, यी मोटो मसिनो जे छ त्यो हाम्रै पसिनाले फलाएको अन्न हो । यसलाई लुकी लुकी खानु पर्दैन, पर्दै, पर्दैन !” यति भन्दै सन्तोषकी आमाले लामो सास तान्नुभयो र आफ्नो छोरालाई फेरि सम्झाउनुभयो, “हेर छोरा, हामीले तिमीलाई यही अन्न बेचेर स्कुल पठाएका हौँ, तिमीले त मकै र भटमास खाएर नै सबलाई जित्नुपर्छ र राम्रो काम गरेर देखाउन पनि सक्नुपर्छ,,” यति भन्दै लामो सुस्केरा हाल्नुभयो र आफ्नो छोरालाई हेरिरहनुभयो ।

आमाको कुरा सुनेपछि सन्तोषले लामो सुस्केरा हालेर आमालाई हेरिरह्यो ।

भोलिपल्ट, स्कुल जाने बेला आमाले खाजाको पोका सन्तोषको स्कूल लाने थैलामा राखिदिनुभयो

र सन्तोष केही नबोली थैलो बोकेर स्कूल गयो । आज स्कूल गइरहेको सन्तोष सधैँजसो हँसमुखको देखिन्नथ्यो तर ऊ समयमै स्कुल पुग्यो ।

आज चौथो घण्टीपछि किरण सरले पढाइरहनुहुँदा सन्तोषले सँधैजसो ध्यान दिन सकेकै थिएन । आज किरण सरले के भन्नुहुुने हो, खाजाकै कुरा पो गर्नुहुने हो कि भन्दै डराइरहेको थियो । पाँचौँ घण्टी लाग्नै लागेको थियो किरण सरले सबै बिद्यार्थीहरूलाई हेर्दै भन्नुभयो, “भाइबहिनीहरू, तिमीहरू सबै जना आआफ्नो खाजा लिएर लामबद्ध होऊ त ।” कीरण सरले यसो भन्नुभएपछि सन्तोषलाई साह«ै असजिलो लाग्यो ।

त्यह्ी बेला रोशनले सरसित सोध्यो, “सर आज यसो किन नि ?”

त्यसपछि किरण सरले भन्नुभयो, “मलाई आज तिमीहरू कस्तो खाजा खाँदा रहेछौ हेर्न मन लागेको छ ।”

सबै विद्यार्थीहरू आआफ्ना खाजा हातमा लिएर लाम लागे । सन्तोष पनि पछि पछि सर्दै लामको पुछारमा उभियो । किरण सरले पालैपालो सबैको पोको खोलेर हेर्नुभयो । धेरैले बजारिया रङ्गीचङ्गी पोका–खाजा ल्याएका थिए, कसै कसैले, बिद्यालयको क्यान्टिनको खाजा खाने गरेका रहेछन् । अन्त्यमा सन्तोषको पालो आयो । यसपालि कीरण सरले नै सन्तोषले ल्याएको खाजाको पोको खोल्नुभयो र सन्तोषलाई नजिकै बोलाएर भन्नुभयो, “सन्तोष, तिमीलाई मकै भटमास मन पर्छ ?”

सन्तोषलाई सरको यस प्रश्नको जवाफ दिन निक्कै गाराे भयो र उसले मसिनु स्वरमा बल्लतल्ल भन्यो, “मन पर्दैन सर ।”

पोकोबाट केही गेडा मकै र भटमास झिकेर खाँदै सरले भन्नुभयो, “तिमीलाई मन पर्दो रहेन छ तर मलाई त यस्तो खाजा खूब मन पर्छ, कस्तो मीठो ! यो आफ्नै घरमा तयार भएको हैन त ?”

“हो, आमाले नै तयार गर्नुभएको,” सन्तोषले पहिलेको भन्दा अलि ठूलो स्वरमा भन्यो ।

त्यसपछि किरण सरले सबैलाई सम्बोधन गर्दै भन्नुभयो, “तिमीहरू सबैले ल्याएको खाजा मैले चाखी हेरेँ, आज र्मैले तिमीहरूमध्ये सबैभन्दा मीठो खाजा ल्याउनेलाई पुरस्कृत गर्ने सोच बनाएको थिएँ । त्यसैले सबैले ल्याएको खाजा खाएर हेरेँ । अब म सबभन्दा मीठो र खान लायकको खाजा ल्याउनेलाई पुरस्कार दिँदैछु” भन्दै उहाँले सन्तोषलाई अगाडि बोलाउनुभयो र “मलाई सन्तोषले ल्याएको मकै र भटमास साह«ै मीठो लाग्यो, त्यसैले आज म आपूmले ल्याएको पुरस्कार सन्तोषलाई दिँदै छु”, यति भन्दै उहाँले सन्तोषलाई एउटा आकर्षक कलम र कापी दिनुभयो । त्यस बेला कक्षाकोठा तालीले गुँजियो ।

त्यसै बेला उहाँले सन्तोषले ल्याएको खाजाको पोकाबाट केही गेडा मकै र भटमास झिक्नुभयो र सबै विद्यार्थीलाई बाँड्दै फेरि भन्नुभयो, “लौ, तिमीहरू पनि चाखी हेर, अनि भन त, कस्तो छ सन्तोषले ल्याएको खाजा ?”

सबै विद्यार्थीहरूले मीठो मानी खाए, त्यसै बेला किरण सरले फेरि भन्नुभयो, “तिमीहरूमध्ये धेरैले खाने गरेका रङ्गीचङ्गी पोकाको खाजा खाँदा एकछिन त मीठो लाग्ला तर तिनले स्वास्थलाई राम्रो गदैन, गर्दै गर्दैन । हामीले सकेसम्म आफ्नै घरमा तयार गरिएको खाजा खानु नै राम्रो । मीठो र त्यतिकै स्वस्थकर । बजारिया र त्यसमा पनि रङ्गीचङ्गी पोकाभित्रको खाजा खाँदै नखानु धेरै राम्रो !” यति भन्दै किरण सर कक्षाकोठाबाट बाहिर जानुभयो । सबै विद्यार्थीहरूले सन्तोषलाई बधाई दिए ।

अहिले सन्तोषको अनुहार उज्यालिएको छ र उसले त्यस बेला आफूलाई मीठो र स्वस्थकर खाजा तयार गर्नुुुहुने आफ्नी आमालाई झलझली देखिरहेको थियो । (तयार गरिएको २०८० साउन १६ गते)

  • लेखक केटाकेटी अनलाइनका उपसम्पादक हुनुहुन्छ । याे कथाका लागि पाेस्टर (प्रचार सामग्री) बनाइदिनुभएकाेमा लेखक लाेकेन्द्र शाक्यज्यूमा हार्दिक धन्यवाद् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *