बालसाहित्य लेखक रामबाबु सुवेदी र बालप्रतिभा साेइना दाहालको कुराकानी

Featured Highlights अन्तर्वार्ता प्रतिभा परिचय मलाई केही भन्नु छ विचार

प्रस्तुती : सोइना दाहाल, कक्षा ८, भानुभक्त मेमोरियल स्कुल, पानीपोखरी, काठमाडौँ ।

‘आइतबार विहानै…’, ‘मेरो गाउँ ज्यामिरे, जामुनीको छोरो म…’, ‘हिमालमा हिउँ तराइमा तोरी नेपालका हामी प्यारा छोराछोरी…’ आदि जस्ता चर्चित गीत मैले सानैदेखि सुनेकी थिएँ । ती गीत सुन्दा मेरा मनमा यति मिठा गीत कसले लेख्नुभएको होला भन्ने जिज्ञासा जाग्रित भएको थियो । यति राम्रा गीत रामबाबु सुवेदीले लेख्नुभएको हो भन्ने कुरा मैले अलिपछि मात्र थाहा     पाएँ । त्यसपछि उहाँलाई भेट्ने र कुराकानी गर्ने इच्छा जाग्यो । त्यो इच्छा २०८० असार २४ गते आइतबारका दिन पूरा भयो । यही भेटघाटमा मैले रामबाबु सुवेदीसँग मिठा मिठा कुरा गर्न पाएँ । यो वातावरण मिलाइदिनुहुने केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेय घिमिरे र अमूल्य समय तथा ज्ञान दिनुहुने रामबाबु सुवेदीलाई धेरै धेरै धन्यवाद !

नमस्कार ! सन्चै हुनुहुन्छ ?

नमस्ते नानी ! सन्चै छु ।

आज म तपाईँसँग मेरा मनमा भएका केही जिज्ञासा राख्‍न चाहन्छु है ।

हुन्छ नानु ।

तपाईँलाई बालसाहित्य के हो जस्तो लाग्छ ?

बालसाहित्य भनेको नानु, बालकहरूको साहित्य हो । बालकहरूको मनोविज्ञान बुझेर, बालकहरूले के विचार गर्छन्, बालकहरूको विषयवस्तु के हो, बालकहरू के चाहन्छन्, बालकहरू के कुरामा जिज्ञासु छन् त्यो कुरा हेरेर लेखिने साहित्य नै बालसाहित्य हो ।

तपाई लेखक बन्नका लागि प्रेरणाको स्रोत को हुनुहुन्छ ?

लेखक बन्ने मेरो प्रेरणाको स्रोत मेरो गाउँ हो । म पोखराको सुन्दर गाउँ, हंसपुर भन्ने गाउँमा जन्मिएँ । त्यो गाउँ नै मलाई लेखक बनाउने प्रेरणाको स्रोत हो । त्यसपछि मेरी आमालाई पनि म प्रेरणाको स्रोत मान्छु ।

     म सात वर्षको हुँदा नै मेरा पिताजी बित्नुभो । म एक प्रकारले टुहुरो भएँ । आमाले मलाई हुर्काउनुभयो । हामी (मेरी बहिनी र म) दुइटालाई काखीमा च्यापेर आमा विभिन्न राम्रा लोकगीत गाउनुहुन्थ्यो । लोककथा भन्नुहुन्थ्यो । आमाका लोकगीत र लोककथा सुन्दासुन्दै हामी निदाउँथ्यौँ । त्योभन्दा नि गाउँमा सोह्रठी, भजन, चुट्का, बालुन गाइन्थे । यी गीतहरूले पनि, यी संस्कृतिहरूले पनि मलाईचाहिँ लेखक बन्ने, कविता लेख्‍ने प्रेरणा दियो ।

तपाईले अहिलेसम्म कतिओटा कृति प्रकाशन गरिसक्नुभयो ?

अहिलेसम्म लेखेका चाहिँ लगभग पचासओटा कृति छन् नानु । तीमध्ये दशओटा पाठ्यक्रम विकासकेन्द्र, सानोठिमीबाट लेखिएका विभिन्न पाठ्यक्रमसँग सम्बन्धित किताब छन् । तिसओटा जति बाल साहित्य छन् । दशओटा जति ठुलाका साहित्य छन् । यसरी लगभग पचासओटा जति कृतिहरू अहिलेसम्म प्रकाशन भएका छन् ।

S हामी जस्ता बालबालिकाले किन किताब पढ्नुपर्छ ? अनि हमीले कस्ता किताब पढ्नुपर्छ ?

बडो राम्रो प्रश्न नानु ! बालकहरूले किन पुस्तक पढ्नुपर्छ र ? यो कुरा हाम्रा देशमा बडो समस्या छ । बालकहरूले पाठ्यक्रम मात्रै पढेर पुग्छ भन्ने अभिभावकहरूलाई लाग्छ। तर पाठ्यक्रम मात्र पढेर पुग्दैन । पाठ्यक्रममा माधव घिमेरेको एउटा कविता पढ्नु भनेको त्यस्तै अरू कविता जति पाइन्छन् खोजेर पढ्नु भनेको हो । एउटा कथा नानुले पाठ्यक्रमको अहिले आठ कक्षामा पढ्छ्यौ भने त्यो जस्ता अरू पनि कति कथा छन्, खोजेर पढ्ने हो । पाठ्यक्रम मात्र पढेर ज्ञान विशाल हुँदैन । त्यसैले बालबालिकाले सकेसम्म बालसाहित्यका किताबहरू खोजी खोजी पढ्नुपर्छ । हाम्रामा बालसाहित्यका किताबहरू कम छन् । अहिले आएर रुम टु रिड, एकता प्रकाशन जस्ता विभिन्न प्रकाशनहरूले राम्रा किताब निकालेका छन्, बालसाहित्यका । पहिले थिएनन् । हाम्रा पालामा त छँदै थिएनन् । अहिले आएर नानुहरूका पालामा चाहिँ राम्रा किताब निस्किएका छन् ।  

     अब राम्रा किताब कसरी छान्ने भन्ने कुरा आयो । यो चाहिँ समस्या छ । राम्रा किताब बालसाहित्य समाज छ; नेपाल प्रज्ञा प्रतिष्ठन छ; यिनीहरूले इङ्‍कित गरेका, यो किताब राम्रो छ भनेर भनिदिए भने नानीबाबुहरूलाई राम्रा किताब खोजेर पढ्न सजिलो हुन्छ । बालसाहित्य अभिभावकहरूले नै छनेर किनिदिनु राम्रो हुन्छ । बालबालिकालाई आफैँ किताब छान्न चाहिँ अप्ठ्यारो छ । बालबालिका स्कुल जान्छन्, घरमा हुन्छन् तर बजार जाँदैनन् । त्यसैले सकेसम्म अभिभावकहरूले नै बालबालिकालाई राम्रा किताब किनिदिनुपर्छ । अभिभावकहरूले बालबालिकालाई जति माया गरेर दुध, दही, भात खुवाउनुहुन्छ, त्योभन्दा बढी त्यसरी नै अरू बाल कृतिहरू पनि किनेर नानीबाबुहरूलाई ल्याइदिनुपर्छ । यसरी राम्रा किताब खोजेर पढ्नुपर्छ ।

तपाईँलाई मनपर्ने नेपाली बालसाहित्यका पाँच जना लेखकहरू  को को हुनुहुन्छ ?

मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटा मनपर्छ तर उहाँले बालसाहित्य कम लेख्नुभएको छ । अनि, सिद्धिचरण श्रेष्ठ मनपर्छ । उहाँले पनि बालसाहित्य अलि कम लेख्नुभएको छ । सबभन्दा मनपर्ने माधव घिमिरे ! माधव घिमिरेले धेरै बालसाहित्य लेख्नुभएको छ । उहाँका बालसाहित्यका जुन किताब पाए पनि बालबालिकाले आँखा चिम्लिएर पढे हुन्छ । उहाँका ठुला मान्छेका लागि लेखिएका किताबहरू पनि बिस्तारै पढ्दा हुन्छ । उहाँका बालसाहित्यका किताबहरू अत्यन्तै राम्रा छन् । माधव घिमिरे मेरो गुरु हुनुहुन्छ । मैले माधव घिमिरेबाटै पढेको हो । त्यसपछि दुर्गालाल श्रेष्ठ । उहाँका गीत, कविता एकदम राम्रा छन्, सुन्दर छन् । अनि त्यसपछि शान्तदास मानन्धर । उहाँका बालसाहित्य पनि असाध्यै राम्रा छन् ।

अहिलेका हामी बालबालिकाहरूले लेखक बन्न के गर्नुपर्ला ? तपाईँ के सुझाव दिनुहुन्छ ?

बडो राम्रो प्रश्न सोध्नुभयो नानु । तपाईँले जुन यो पुस्तक लेख्नुभयो, त्यो संसारका बालसाहित्यमा एउटा किताब थपियो । हामी सबैले केही कुरा जान्नु छ । जानिँदैन कि भन्ने होइन । चाख केमा छ, कवितामा छ कि, गीतमा छ कि, कथामा छ कि त्यो चाखअनुसार लेख्नुपर्छ । जसले जे लेखे पनि राम्रो हुन्छ । सप्पैले लेख्‍न सक्छन् । सप्पै कवि हुन्, सप्पै कथाकार हुन् । म नाच्‍न पनि जान्दछु अलिअलि । म गाउन पनि जान्दछु । तर सबभन्दा बढी जे जान्दछु त्यसलाई बढाउँदै लग्‍ने हो । यसरी लेख्‍ने कलामा एकदम अगाडि बढ्नुपर्दछ ।

तपाईँका बाल्यकालको कुनै रमाइलो घटना सुनाइदिनुस् न ।

म हंसपुर भन्ने सुन्दर गाउँमा बस्थेँ । आठ कक्षा पढ्दा म एक पटक पोखरा आएको थिएँ । पोखराको अमरसिंह माध्यमिक विद्यालय । त्यसको नाम पहिले सोल्जर्स बोर्ड हाइ स्कुल थियो । एक दिन म कुँडहरमा हिँडिरहेको थिएँ । त्यहाँ एउटा चौतारो थियो । चौतारोमा धर्मराज थापालाई भेटेँ । धर्मराज थापा नेपालको ख्यातिप्राप्त साहित्यकार, गीतकार ! उहाँलाई भेटेसि मलाई ईश्वर भेटे जस्तो लाग्यो । मैले धर्मराज थापाको नाम जानेको थिएँ, सुनेको थिएँ । पोखराकै हो भन्ने थाहा थियो । म नि पोखराकै । उहाँलाई भेटेपछि चौतारामा बसेर मैले नमस्कार गरेँ, नानुले मलाई भेटे जस्तै । खुसी भएँ । एउटा कपीमा उहाँले ‘बाबु ! जीवनमा धेरै पढ्नुहोला । धेरै लेख्नुहोला । कैले पनि हार नखानुहोला’ भनेर लेखिदिनुभो । त्यो मलाई मूल मन्त्र भो, म कहिले पनि बिर्सन्नँ ।

तपाईको पहिलो रचना कुन हो ?

मेरो पहिलो रचना ‘प्रभात’ शीर्षकको कविता हो । यो ठुलाको कविता हो । त्यो भारतको वनारसबाट निस्कने ‘भानुदय’ भन्ने पत्रिकामा छापिएको थियो । बालसाहित्यमा चाहिँ ‘जमुनीको छोरो’ नै मेरो पहिलो रचना हो । 

तपाई कुन समयमा साहित्य लेख्नुहुन्छ ?

मलाई यही समय भन्ने चाहिँ हुन्न नानु । जुन समयमा पनि लेख्‍न सकिन्छ । कसैको मुड बिहान आउँछ, कसैको शान्त हुनुपर्छ भन्ने छ तर एउटा झिल्को हुन्छ । नानुलाई अहिले एउटा झिल्को आयो; हिँड्दाहिँड्दै एउटा घटना घट्यो भने त्यसलाई मनमा लिईरहेने । घर गएपछि त्यसलाई सम्झेर, त्यसका वरिपरि पालिस लगाएर लेख्‍ने । त्यस कारण समय भन्ने त्यस्तो समय हुँदैन । त्यो झिल्को आउँछ, त्यसलाई परिस्थितिअनुसार जुन समयमा पनि लेख्‍न सकिन्छ ।

तपाईको युटुब च्यानल पनि रहेछ । त्यस च्यानलका बारेमा केही भनिदिनुस् न है ।

मेरो रामबाबु सुवेदी अफिसिय (rambabu subedi official) भन्ने युटुब च्यानल (youtube channel) छ । त्यसमा अहिलेसम्ममा ‘आइत बार बिहानै घामसँग उठेँ म…’, ‘मेरो गाउँ ज्यामिरे, जमुनीको छोरो म…’ देखि लिएर बयालिस ओटा बालगीतका भिडियोहरू छन् । तीमध्ये केही भिडियो एनिमेसन गरिएका छन् । ती बिस ओटा जति छन् । छायङ्‍कन गरिएका पनि लगभग त्यति नै छन् । यसरी यस च्यानलमा छायाङ्‍कन र एनिमेसन गरिएका दुई किसिमका भिडियो छन् । छायाङ्‍कन गरिएका भिडियोले हाम्रो देशको प्रकृति, वातावरणलाई चिनाउँछन् । एनिमेसन गरि‍एका भिडियोमा पनि नेपालकै प्रकृति, नेपालको हिमाल, पहाड, तराईलाई एनिमेसन गरेर राखेका छौँ । यस च्यानलका भिडियो बालकहरूले धेरै मनपराएका पनि छन् । त्यसमा म खुसी छु ।

हस् त समय दिनुभएकामा धेरै धेरै धन्यवाद !

धन्यवाद !

२०८०/०३/२४ मा गरिएकाे कुराकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *