असल बालसाहित्य कस्तो हुनुपर्छ ?

Featured Highlights सम्पादकीय

प्रगतीशील चेतना दिने बालसाहित्य असल बालसाहित्य हो ।

प्रगतीशील चेतना भनेको के हो ?

जुन चेतनाले बालबालिकालाई अन्धविश्वासबाट बाहिर निस्किन मद्दत गर्दछ, त्यो प्रगतीशील चेतना हो । अन्धविश्वास बढाउने बालसाहित्य अप्रगतीशील हुन्छ । यस्तो बालसाहित्यबाट हामीले हाम्रा बालबालिकालाई टाढै राख्नुपर्छ । त्यस्ता किताब किनेर हामीले हाम्रा बालबालिकालाई दिनुहुँदैन ।

असल बालसाहित्य वैज्ञानिक हुन्छ । त्यसले समाजको सकारात्मक, प्रेरणादायी र हौसलापूर्ण चित्र बालबालिकाको मष्तिष्कमा उतार्छ ।

‘समाजमा खराब कुरा पनि छ । खराब कुरा जान्न पाउनु बालबालिकाको पनि अधिकार हो । त्यसबाट उनीहरूलाई किन बन्चित गर्ने ?’ — यस्तो स्वर पनि भिडमा सुनिन्छ । तर, ती स्वरलाई यति भन्नुस्— सानो छँदै बालबालिकाले सबै कुरा थाहा पाउनुपर्छ भन्ने सोचाइले भलो गर्दैन । तपाईं सानो छँदा तपाईंलाई के समाजका सबै खराब कुराबारे थाहा थियो र ?

त्यसैले, अहिले बालबालिकालाई उनीहरूसँग प्रत्यक्ष सरोकार राख्ने असामाजिक तत्वबाट सचेत गराउँदै जति सक्यो बढी सकारात्मक विचार, असल जीवनका दृष्टान्त र प्रेरणादायी पात्रका जीवनकथाहरू समेटेको साहित्य नै पढ्ने मौका दिनुहोस् ।

हेर्नुस् त, एउटा गधालाई त उसको मालिकले माया गरेर उसले सक्नेजति मात्र भारी बोकाउँछ । उसको स्वास्थ्यको ख्याल राख्छ । उसलाई रमाउने, खेल्ने र उफ्रने मौका दिन केही समय चौरको हरियो दुबोमा चर्न छाडिदिन्छ । फेरि तपाईं किन आफ्ना बालबालिकालाई गधालाई भन्दा बढी भारी बोकाएर उनीहरूले सबै थोक जान्नुपर्छ भन्ने सोच्नुहुन्छ ? बालबालिकाको मष्तिष्क भनेको सधैँ विकासोन्मुख अवस्थामा रहन्छ । असल नै असल कुराहरू भरेर त्यसलाई बलियो र मजबुत बनाउँदै लग्नुस् । जीवन बाँच्ने क्रममा हुर्कंदै गएका बालबालिकाले उमेरको सिँढी उक्लँदै गएपछि समाजका असल र खराब आफैँ बुझ्दै जानेछन् । त्यसैले, खराब कुरालाई साहित्यमै पढाउनुपर्छ भन्ने कुरामा तपाईं कहिल्यै जोड नदिनुहोस् । खासगरी जो साना छन्, नौ वर्षभन्दा कम उमेरका छन्, त्यस्ता बालबालिकाहरूलाई हौसला र प्रेरणा दिने सामग्री पढाएर र सुनाएर हुर्काउनुहोस् ।

यति छलफल गरिसकेपछि तपाईंले असल बालसाहित्यबारे पक्कै केही धारणा बनाउनुभयो होला भन्ने ठानेका छौँ ।

अब असल बालपुस्तकको कुरा गरौँ !

असल बालपुस्तक भन्नासाथ बालबालिकाको उमेर सुहाउँदो सरल भाषाशैली, उमेर सुहाउँदो विषयवस्तु, स्तरीय छपाइ र आकर्षक साजसज्जा भएको पुस्तक भनेर बुझ्नु राम्रो हुन्छ । असल बालपुस्तक उमेर समूहअनुसारको हुन्छ । त्यसले सधैँ नयाँ विचार व्यक्त गर्न प्रोत्साहित गर्दछ । धार्मिक, सांस्कृतिक र सामाजिक अन्धविश्वासलाई प्रश्रय दिँदैन । बालबालिकामा असल बानी र स्वभाव निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गर्छ ।

जस्तो कि एउटा लेखक सञ्चारमाध्यममा बालबालिकाको सोचाइमा सकारात्मक परिवर्तन र लैङ्गिक विभेदप्रतिको चेतनाको कुरा गर्छ । ऊ आफ्ना अन्तर्वार्ताहरूमा बालबालिकामा सबैलाई समान देख्ने मानवीय गुण भर्नुपर्छ भन्छ । तर ऊ आफ्नो लेखनीमा बालबालिकालाई ढोंगी पात्र खडा गरेर धार्मिक अन्धतामा कसैलाई ठगेर वाह वाह पाएको देखाउँछ । जात, लिङ्ग र रङका आधारमा कोही स्थायी शत्रु भइरहन्छ भनेर वकालत गर्छ । पेशागत मर्यादाको कुरा आफ्ना रचना मार्फत् पाठकलाई दिन सक्दैन भने ऊ असल विचारक त भयो तर असल लेखक हुन सकेन ।

तसर्थ नेपाली बालसाहित्यको सन्दर्भमा त्यस्ता किताबबाट पनि बच्नु जरुरी छ जसले मुसो र बिरालो सधैँ शत्रु नै भइरहनुपर्छ भन्छ । बिरालो डाक्टर भएपछि पनि मुसाको उपचार गर्दा बिरालो डाक्टरसँग डराउने कि नडराउने भन्ने प्रश्न आउँछ । लेखक यहाँ स्पष्ट हुन जरुरी छ । बिरालो डाक्टर बन्ने क्रममा दीक्षित भइसक्दा उसले विरामीप्रतिको आफ्नो कर्तव्य, सबैलाई समान रूपमा हेरी उपचार गर्नुपर्ने पेशागत मर्यादालाई राम्ररी बुझेको हुन्छ । त्यसैले, उसले मुसाको बिना भेदभाव उपचार गर्छ । बालसाहित्यको असल सन्देश, असल कर्मप्रतिको प्रेरणा र मर्यादा भनेको यो पक्ष पनि हो । हाम्रा अभिभावकले यस्ता किताबको छनोटमा जोड दिनु जरुरी छ जसले बालबालिकामा आलोचकीय चेत अर्थात् क्रिटिकल थिङ्किङका लागि प्रोत्साहित गरून् । जस्तै— के चाउचाउ खाएर मेरो हड्डी बलियो हुन्छ ? के हर्लिक्स र च्यवनप्रास खाएर मेरो दिमाग तगडा हुन्छ ? के म्याजिक फेन्सी पेन्सिलले लेख्दैमा म परीक्षामा प्रथम हुन्छु ? के मान्छे कालो हुँदैमा उसको विचार खराब हुन्छ ? के मान्छे होचो हुँदैमा उसको क्षमता थोरै हुन्छ ? के फरक जात र फरक धर्मको हुँदैमा मान्छेलाई अविश्वास गर्न, शङ्का गर्न थाल्नुपर्ने हो ?

यस्ता विषयमा हाम्रा बालसाहित्यले सही सन्देश दिन सक्नुपर्छ । अनि मात्र त्यो असल बालसाहित्य बन्न सक्छ । प्रकृति र प्राणी जातिको हितका लागि फरक परिवेशका पात्रको मिलन नि सम्भव छ ।

हाम्रा बालसाहित्यले भन्नुपर्छ— केटा र केटी बराबर हुन् । प्रजननका केही विषयमा बाहेक सबै काममा उनीहरू बराबर क्षमतावान् हुन्छन् । सबै विभेद समाजले सिर्जना गरेको हो, प्रकृतिले होइन । केटा र केटीका लागि बनेका फरक–फरक पोशाकको सूची र व्यवहारको सूची पछि मात्र बनेका हुन् । तिनलाई परिवर्तन गरेर अगाडि बढ्नु प्रगतीशील बालसाहित्यको धर्म हो ।

संसारका हरेक बालबालिका विद्यालय शिक्षा पूरा नगरेसम्म बालबालिका नै रहन्छन् । उनीहरू १८ वर्षभन्दा कम उमेरका हुन्छन् । यो १८ वर्षसम्मका सबैलाई बालअधिकार महासन्धिले ‘बालबालिका’ हुन् भनेर किटान गरेको उमेर हो । तसर्थ यो उमेरभित्रका पाठक लक्षित साहित्यमा यौन र हिंसालाई बढावा दिएको र यस्ता विषयलाई पाठक तान्ने हतियार बनाएको हुनु हुँदैन । दुर्व्यवहारमा परेका बालक वा बालिका त्यो पीडाबाट माथि उठेर असल मान्छे बन्न सक्छन्, बनेर नै छाड्छन् । यो बालसाहित्यका लागि उनीहरूको प्रेरणको कथा हो । तर, सत्य लेख्ने बहानामा तिनीहरूको जीवनको अश्लील चित्रण र हिंसाको वर्णन गरिन्छ भने त्यो साहित्य नभएर फगत एक समाचार बन्दछ । साहित्य बन्न सक्दैन । त्यो असल बालसाहित्य बन्न सक्दैन । यस विषयमा पुस्तक छनोट गर्ने अभिभावक र लेखकहरू पनि सचेत हुन आवश्यक देखिन्छ ।

कस्ता बालपुस्तक पढाउन हतार गर्ने ? कस्ता बालपुस्तक बिस्तारै पढाए नि हुन्छ भनेर ढिला गर्ने

आफ्नो परिवेशको समाजमा बाँचिरहेका आफ्नै उमेरका साथीभाइका कथाहरू, टोलको कथा, आफ्नै जीवन, आफ्नै भोगाइबाट उठेर सफलतातर्फ लम्किएकाहरूको कथा भएका किताबहरू, आफ्नो शरीर, प्रकृति र जीवन किन भन्ने जीवन बाँच्नुको रहस्य बताउने र विज्ञानको सोच बनाउने किताबहरू पढाउन हतार गर्नुपर्छ ।

आफ्नो समाज र जीवनसँग तालमेल नै नहुने कथाहरू, अन्धविश्वास वा गलत परम्परालाई बानीमा परीणत गराउने खतरा बोकेका किताबहरू पढाउन हतार नगर्दा राम्रो हुन्छ ।

त्यस्तै आफ्नो देश, आफ्नो परिवार, जाति, वंशका बारेका गौरवशाली कथा, उत्साहको कथा र प्रेरणाको कथा हरेक दिन सुनाउन र र पढाउन हतार गर्ने । जति सक्यो बढी हामी नेपाली जातिको गौरव, हाम्रो प्राकृतिक गौरव, सांस्कृतिक गौरव आदिका बारेमा लेखिएका कथाहरू सुनाउन र पढाउन हतार गर्ने । यो सुनाउने र पढाउने काम सात देखि १२ वर्षको बीचमा गर्न सके धेरै राम्रो । किनकि यो बानी निर्माण गर्ने स्वर्ण उमेर हो । सात वर्षअघि किताब रमाइला हुन्छन् है भन्ने छाप पार्न सक्नु तपाईंको सफलता मानिने छ ।

कुनै पनि पात्रले सङ्घर्ष र कठोर मिहिनेतपश्चात सफलता प्राप्त गरेको कथा वा कुनै पात्र घरबाट छुट्टिएर टाढा पुगेको र अन्त्यमा घर फर्कन सफल भएको नि हुनसक्छ ।

अनौठो परिवेशका सिर्जनात्मक आविष्कारको सोच बढाउने तथा कल्पनाशीलता बढाउने किताब पढाउन नि हतार गर्नु राम्रो हुन्छ । तर, भक्ति प्रार्थना गरेर भगवानले सफलता दिएको, चाकरी, चाप्लुसी र बठ्याइँ गरेर सफलता प्राप्त गरेको र चतुर चलाख बन्ने होडमा अरूलाई हानी गरेर, अरूको जीवन नाश गरेर अगाडि बढेको पात्रको संवेगका किताबहरू कलिलो बालमष्तिष्कका लागि हानिकारक हुन्छन् । यस्ता किताबले बालबालिकालाई धार्मिक अन्धभक्त र स्वार्थी राक्षसी प्रवृतिका भ्रष्ट नागरिक बन्न प्रेरित गर्छन् । यस्ता किताबबाट उनीहरूलाई टाढा नि राख्दा राम्रो हुन्छ ।

बालबालिकाका लागि किताब छनोट गर्दा हामीले सफलता हासिल गर्न मिहिनेत गर्ने, आफ्नो लगन र क्षमताले लक्ष्य प्राप्त गर्ने पात्रहरू पुरस्कृत भएको र ठग प्रवृतिका, अरूको भलो नगर्ने बदमास पात्रहरू दण्डित भएको र पछुताएको कथावस्तु भएका किताबको छनोटमा जोड दिनुपर्छ । किनकि सबै कुरा आफैँले भोगेर शिक्षा लिन्छन् भन्ने सोचाइ बनाइयो भने यो मानव जीवनको जीवनकालकाे समय एउटा बालकका लागि पर्याप्त हुँदैन । तसर्थ उनीहरूले किताबका कथा र समाजमा रहेका अरूका जीवन पनि पढेर असल र खराबबारे एउटा परिपक्व दृष्टिकोण बनाउँदै अघि बढ्न सके भने उनीहरू जीवनमा असल र सफल हुनसक्छन् । यसका लागि असल बालसाहित्य र असल सङ्गत उनीहरूको पहुँचमा लगिदिएर सहयोग गर्नु हामी सबैको कर्तव्य हो । यो कर्तव्यलाई इमान्दारीका साथ निर्वाह गर्न हामी सबैले हातेमालो गरी काम गर्नु जरुरी देखिन्छ ।
धन्यवाद !
जय बालसाहित्य ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *