पृथ्वी हाम्रो घर हो । जहाँ हामी मानव धेरै अघिदेखि बस्दै आएका छौँ । जसले करोडौँ वर्षदेखि हामीलाई आश्रय दिएको छ । वैज्ञानिकका अनुसार पृथ्वीमा करिव ८७ लाख प्रजातिका जीवहरू छन् । जसमध्ये केवल १५ प्रतिशत प्रजातिका जीवहरूको मात्र आजसम्म हामीले खोजी गरेका छौँ । तर आखिरमा यी सारा जनावरहरू कहाँबाट आए ? धर्तीमा जीवनको सुरुवात कसरी भयो ? यो सब थाहा पाउनका लागि हामी करोडौँ वर्षपछाडि फर्कनु पर्ने हुन्छ । हामी त्यस समयमा पुग्नुपर्छ जब पृथ्वी आफ्नो विकासको सुरुवाति चरणमा थियो । आउनुहोस्, अब हामी करिब साढे चार अरब वर्ष पहिलेको समयतिर फर्किऔँ ।आजभन्दा करिब साढे चार अरब वर्ष पहिले चट्टानको एउटा निकै विशाल गोलो एउटा ताराको वरिपरि घुमिरहेको थियो । यसको सतह पग्लिएको लाभाबाट बनेको थियो। यसमा जीवनको कुनै निसानी थिएन । यस समयमा पृथ्वीमा आकाशबाट सानासाना पत्थरहरूको वर्षा भइरहेको थियो। यो प्रकृया निकै लामो समयसम्म चली रह्यो। त्यस पश्चात चट्टानको त्यस विशाल गोलाले एक ग्रहको रुप लियो । साथै यस ग्रहको आफ्नै चन्द्रमा पनि बन्यो । यो त्यही ग्रह हो जहाँ आज हामी सबै बसिरहेका छौँ । त्यस समयमा पृथ्वीको तापक्रम बढी थियो। लामो समयपछि भने हाम्रो पृथ्वीको तापक्रम बिस्तारै घट्दै गयो । त्यसपछि पृथ्वीमा एक ठोस सतहको निर्माण भयो । करिव ३.९ अरब वर्ष पहिले यसले फेरि आगोको गोलोको वर्षा सामना गर्यो । जसलाई हामी “The late heavy bombardment” भनेर चिन्दछौँ । यस समयमा पृथ्वीमा साना पत्थरहरूको मात्र होइन उल्का पिण्डको पनि वर्षा भइरहेको थियो। प्रतिदिन हजारौँको सङ्ख्यामा पृथ्वीमा उल्कापिण्डको वर्षा हुन्थ्यो। ती उल्कापिण्डभित्र जमेका बरफका टुक्राहरू थिए जसले हाम्रो पृथ्वीमा समुद्रको निर्माण गरे र साथमा पृथ्वीको वातावरणमा नाइट्रोजन ग्यास पनि लिएर आए । तर पृथ्वी अझै पनि जीवनरहित थियो । यहाँ अझै पनि जीवनका लागि उपयुक्त वातावरण बन्न सकेको थिएन । पृथ्वीको वातावरण विषाक्त ग्यासहरूले भरिएको थियो । यहाँ बायुमण्डलमा अक्सिजन नै थिएन । पृथ्वी चारैतिरबाट समुद्रले घेरिएको थियो । समय अन्तराल बित्दै गयो त्यसपछि पृथ्वीको अवस्था बदलिँदै गयो ।
करिब ३.८ अरब वर्ष पहिले हाम्रो पृथ्वीमा फेरि एक पटक उल्कापिण्डको वर्षा सुरु भयो । यस पटक उल्कापिण्डले आफ्नो साथमा पानीसँगै खनिज पदार्थ पनि लिएर आएका थिए जुन जीवनको सुरुवातका लागि महत्वपूर्ण थियो । साथै यसले कार्बोन, प्रोटिन र एमिनो एसिड पनि अन्तरिक्षबाट समुद्रको गहिराइसम्म पुर्यायो । समुद्रको गहिराइमा तापक्रम निकै कम थियो । यहाँ सूर्यको प्रकाश पुग्न सक्दैनथ्यो । तर यो समुद्रको गहिराइमा पनि सानासाना प्राकृतिक प्वालहरू थिए जसले पानीको गहिराइमा पनि तापक्रम बढाएका थिए । यहाँबाट नै जीवनको पहिलो बिजको उत्पत्ति भयो ।
यो सबै कसरी भएको थियो भनेर हामीलाई विस्तारमा थाहा त छैन । तर यहाँ विभिन्न प्रकारका खनिज पदार्थ र रसायनहरूले आपसमा प्रतिक्रिया गरेर जीवनको बिज उमारे र यहाँ पहिलो एक कोशीय जीवको जन्म भयो । यो एक प्रकारको ब्याक्टेरिया थियो । यो ब्याक्टेरिया समुद्रमा निकै द्रूत्त गतिमा बढ्न थाल्यो । त्यसपछि समुद्रको पानी पूर्ण रुपमा यी सूक्ष्म एककोशीय जीवहरूले भरियो । धेरै वर्षपछि अर्थात् आजभन्दा करिब साढे तीन अरब वर्ष पहिले समुद्रमा यी ब्याक्टेरियाको सङ्ख्या यति बढ्यो कि यी जीवहरू आपसमा जोडिएर एक प्रकारको पत्थर जस्तो संरचनामा परिवर्तन भए जसलाई एस्ट्रोमेटलाइड्स् भनिन्छ । यी एक एक चट्टान आआफ्ना ब्याक्टेरियाको एउटा पूरा गाउँ जस्तै थिए । यी ब्याक्टेरियाले सूर्यको प्रकाशलाई खानामा बदल्ने गर्थे र यस प्रकृयालाई हामी प्रकाश संश्लेषणको नामले चिन्दछौँ । यसै प्रकृयामा यसले एक अर्को महत्वपूर्ण उत्पादन गर्यो, त्यो थियो अक्सिजन ग्यास । यी सूक्ष्म जीवहरूले पृथ्वीमा अक्सिजन ग्यास जस्तो एउटा अमूल्य चिजको निर्माण गरे जुन धर्तीमा जीवन स्थापित गर्नको लागि सबैभन्दा महत्वपूर्ण थियो। वास्तवमा अक्सिजनबिना पृथ्वीमा कुनै पनि जीवको जीवन सम्भव छैन । करिव दुई अरब वर्षसम्म पृथ्वीको बायुमण्डलमा अक्सिजनको मात्रा लगातार बढ्दै गयो । आजभन्दा करिब साढे एक अरब वर्ष पहिले पृथ्वीमा अझै पनि कुनै ठुलो जीवको जीवनको सुरुवात हुन सकेको थिएन । पृथ्वीमा यति ठुलाठुला महाद्विपहरू पनि थिएनन् । पृथ्वीमा केवल सानासाना द्विपहरू थिए र ती चारैतिरबाट पानीले घेरिएका थिए । अब पृथ्वीको क्रस्टमा हलचल सुरु हुन थाल्यो । यसले गर्दा पृथ्वीको सतह टेक्टोनिक प्लेटहरूमा टुक्रियो । यी टेक्टोनिक प्लेटमा भएको हलचलका कारण यी सानासाना द्विपहरू आपसमा जोडिए र एक विशाल महाद्विपको निर्माण भयो । जसको नाम रोडिनिया थियो । यो समयमा पृथ्वीको तापक्रम ३० डिग्रि सेल्सियस थियो र पृथ्वीको एक दिन अठार घण्टाको थियो । समयसँगै यहाँको परिस्थिति बदलिने क्रममा थियो । आजभन्दा करिव ७५ करोड वर्ष पहिले धर्तीको रुपरेखा बदलिँदै थियो । पृथ्वीको महाद्विप अब दुई टुक्रामा विभाजित भयो र धर्तीमुनिको लावा ज्वालामुखिको रुपमा बाहिर निस्कन थाल्यो र बिस्फोट हुन पुग्यो । यही बिस्फोटका कारण पृथ्वीमा कार्बनडाइअक्साइडको मात्रा अधिक रुपले बढ्यो । अब आकाश यही कार्बनडाइअक्साइडको घना बादलले ढाकियो । यसका कारणले धर्तीमा अम्लवर्षा सुरु भयो । यसले गर्दा पृथ्वीमा रहेको कार्बनडाइअक्साइडको मोटामोटा कार्बनका रुपमा चट्टानहरूमा जम्न थाले जुन यस पानीको वर्षासँगै वर्षिरहेका थिए । यसले गर्दा वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा पृथ्वीमा ज्यादै कम भएर गयो । अब यस पृथ्वीको वायुमण्डलले सूर्यको तापलाई रोक्न सक्दैनथ्यो । यसरी पृथ्वीको तापक्रम द्रूत्त गतिमा कम हुन थाल्यो र धर्तीमा पहिलो युग अर्थात Ice Age को सुरुवात भयो । यो Ice Age आजसम्मकै सबैभन्दा लामो युग थियो । तर यो पनि सधैँका लागि रहन सकेन । समयसँगै वायुमण्डलमा फेरि कार्बनडाइअक्साइडको मात्रा बढ्न थाल्यो र पृथ्वीको तापक्रम पनि बिस्तारै बढ्दै थियो । धर्तीमा जमेर रहेको बरफ पनि पूर्ण रुपमा पग्लियो । र पृथ्वी फेरि सामान्य रुपमा आउन थाल्यो । तर ती एककोशीय जीवको अवस्था के भयो होला जुन पृथ्वी यस अवस्थामा आउनुअघि समुद्रभित्र थिए ?

आजभन्दा करिब ५४ करोड वर्ष पहिले पृथ्वीको सारा बरफ पूर्ण रुपमा पग्लिसकेको थियो । त्यसबेला समुद्रमुनि जाँदा हामीले एउटा अत्यन्तै फरक संसार देख्न पाउँथ्यौँ । अक्सिजन उपलब्ध भएपछि ती एककोशीय जीवहरू अन्य थुप्रै जीवका रुपमा परिवर्तन भइसकेका थिए । यहाँ चारैतिर सामुद्री बोटबिरुवा, ससाना थुप्रै अचम्म लाग्दा जीवहरूका साथै एनोमुलाकारिस नामको समुद्री दानव पनि थियो । यी सबै बहुकोशीय जीवहरूका नयाँ प्रजाति थिए किनकि यी एककोशीय सूक्ष्म जिवहरूबाट विकसित भएका थिए । पिकाया नामको जीव केवल पाँच सेन्टिमिटर लामो थियो तर यसले आफ्नो शरीरमा केही खास विकाश गरेको थियो जुन पछि गएर हाम्रो शरीरको एक महत्वपूर्ण अङ्ग बन्दै थियो । यो पहिलो जीव थियो जसमा रिडको हड्डी थियो । र यसैबाट विकसित भएर हाम्रो लागि पनि केही खास चिज आउँदै थियो । आजभन्दा करिव ४६ करोड वर्ष पहिले पृथ्वी अब लगभग जीवनको लागि तयार भैसकेको थियो । पृथ्वीको महाद्विप अब अरु थुप्रै भागमा टुक्रिइसकेको थियो। तर पनि त्यस समयसम्म जमिनमा बस्ने जीवहरूको उत्पति भएको थिएन र पृथ्वीको सतहमा बोटबिरुवा पनि थिएनन् ।
आखिर यस्तो किन भएकाे थियो ?
विशेष गरी पृथ्वीमा सूर्यको प्रकाशबाट आउने विकीरणका कारण यस्तो भएको थियो । तर अब पृथ्वीको वायुमण्डलमा कुनै अर्को तहको निर्माण हुँदै थियो जसलाई आज हामी ओजन तहको नामले चिन्दछौँ । वायुमण्डलको अक्सिजनले सूर्यको विकीरणलाई सोसेर ओजन ग्यासमा परिवर्तन गर्न थाल्यो । यसले गर्दा धर्तीको चारैतिर एउटा यस्तो पर्दाको निर्माण भयो जसले आजसम्म पनि हामीलाई सूर्यबाट आउने विकीरणबाट जोगाएको छ । यसले गर्दा अब पृथ्वीको सतहमा विभिन्न किसिमका फल फल्न र फूलहरू फुल्न सकेका थिए ।
समुद्रमा रहने टेक्ट्याली नामको माछाले पहिलो पटक पानी छाडेर जमिनमा आउने आँट गर्यो । यसले आफ्नो फिन्सलाई गोडाको रुपमा प्रयोग गर्यो । समयसँगै यो लामो समयसम्म जमिनमा नै रहन थाल्यो । यसले गर्दा यसका अङ्गहरू पनि थप विकसित हुँदै गए । करिब साढे एक करोड वर्षको विकासक्रम पश्चात यो जनावर अब पूर्ण रुपमा जमिनमा रहन लायक जनावर बनि सकेको थियो र यिनलाई टेट्रापोट्स भनेर चिनिन्थ्यो । आजभन्दा करिव ३६ करोड वर्ष पहिले यी टेट्रापोट्स पूर्ण रुपमा विकसित भैसकेका थिए र यी पूर्ण रुपमा जमिनमा बस्ने जीव बनिसकेका थिए । यी तिनै जीव थिए जुन पछि गएर डाइनासोर, चरा, स्तनधारी जीव र अन्त्यमा मानवका रुपमा विकसित हुँदै थिए । यहाँबाट एक नयाँ प्रजातिको उत्पति भयो । तर अब पृथ्वीमा खराब समय आउँदै थियो । समयसँगै जीवहरूको विकाश प्रकृया जारी रह्यो । सँगसँगै पृथ्वीको वातावरण पनि परिवर्तन हुँदै थियो । एक पटक फेरि पनि ज्वालामुखि बिस्फोटका कारण पृथ्वीको तापक्रम फेरि बढ्यो । यसले गर्दा पृथ्वीमा महाप्रलय आयो । त्यसले गर्दा पृथ्वीका सारा बोटबिरुवा सुक्न थाले । पृथ्वीका करिब ९५% जीवहरू नस्ट भएर गए । यस अवस्थामा केही जीवहरू भने बाँच्न सफल भए जसले जिउनका लागि केही खान थाले । गर्मीबाट बच्नका लागि जमिनमुनि बस्न थाले । समयसँगै फेरि यस्तो परिस्थितिमा सुधार आयो । पृथ्वीको वातावरण फेरि सामान्य हुँदै गयो ।
आजभन्दा करिब २० करोड वर्ष पहिले पृथ्वीको वातावरण धेरै हदसम्म परिवर्तन भइसकेको थियो । ज्वालामुखी बिस्फोटका कारण नयाँ भूभागहरूको निर्माण भयो । यी भूभाग मिलेर एउटा महाद्विपको निर्माण भयो जसको नाम पेन्जिया थियो । पृथ्वी धेरै हदसम्म आजको अवस्थाजस्तै देखिन थाल्यो । यति ठुलो महाप्रलयको सामना गरिसकेपछि पृथ्वी सामान्य बन्दै थियो । जमिनमा फेरि नयाँ बोटबिरुवा उम्रन थाले । पृथ्वीमा बचेका ती पाँच प्रतिशत जीवहरू पनि अब विकसित भइसकेका थिए र एक नयाँ प्रजातिको उत्पति भएको थियो जसले भविष्यमा पृथ्वीमा आफ्नो शासन चलाउँदै थियो र त्यो शक्तिशालि जीव डाइनासोर थियो । वास्तवमा डाइनासोरहरू त्यस समयमा पृथ्वीमा त्यस महाप्रलयबाट बाँचेका तिनै पाँच प्रतिशत जीवहरूबाट उत्पति भएका थिए । डाइनासोरका पनि विभिन्न प्रजाति थिए । केही शाकाहारी थिए त केही मांसाहारी, केही डाइनासोरहरू निकै शान्त स्वभावका थिए भने केही ज्यादै हिंश्रक स्वभावका थिए । डाइनासोरहरूले पनि पृथ्वीमा निकै लामो समयसम्म राज गरे । करिव ११ करोड वर्षसम्म यिनले पृथ्वीमा राज गरे । तर पृथ्वीमा आएको अर्को महाप्रलयका कारण डाइनासोरको अस्तित्व पनि पृथ्वीबाट मेटिएर गयो । जुन आज केवल एउटा इतिहासको रुपमा सुन्न र पढ्न पाइन्छ ।
प्रस्तुति : सरिता अर्याल