काार्तिकेय
‘ओहो, बधाई छ दाजु ! नयाँ किताब राम्रो छापिएछ ।’
एकदिन एकजना अग्रज लेखकलाई उहाँको नयाँ छापिएको किताब हेर्दै मैले यसो भनेको थिएँ ।
त्यसपछि मेरो हातबाट आफ्नो भर्खरै प्रकाशित कृति लिएर त्यो किताब पल्टाएर हेरेर टोलाउँदै उहाँले भन्नुभयो, ‘कार्तिकेय भाइ ! किनकिन यो मातृभाषामा छापिएको किताब हेर्यो कि मलाई कुरीकुरी हुन्छ ।’
‘आम्मै हो र ! हिज्जे बिगारेर छापिएछ हो दाजु ? कुरीकुरी हुनेगरी छापिनु भनेको त दुःख लाग्दो कुरा हो नि दाजु ।’
‘त्यसो होइन भाइ कुरा अर्कै छ ।’ उहाँले खुइयँ गर्दै भन्नुभयो ।
‘बालबालिकाले कट्टु नलगाई गुप्ताङ्ग देखाएर आए भने हामी बालबालिकालाई कुरीकुरी भन्ने गर्छौं हैन दाजु ? एउटा किताब निस्किँदा यो स्तरको (कुरीकुरी) पीडा हुने गरी प्रकाशकले के गल्ती गरेछन् दाजु ?’ मैले अघि अगाडि सरेर उत्सुक हुँदै सोधेँ ।
‘हेर्नुस्, यति राम्रो किताब छापियो तर पढ्ने पाठक नै छैन । घरका साना बच्चालाई यो किताब देखायो भने ट्वाल्ल परेर बस्छन् । झन् यो किताब इन्टरनेटमा नि बस्छ । संसारभरिकाले हेर्छन् भनेर छाप्नेहरु दङ्ग परेको देख्दा मलाई उदेक लाग्छ भाइ । छक्क पनि हुन्छु र त्योभन्दा बढी कुरीकुरी हुन्छु ।’ उहाँले दुःखसाथ भन्नुभयो ,
उहाँको अनुहारको भावले उहाँ दुःखी हुनुभएको महसुस गरेँ ।
‘दाजु, यो काम कसरी हुनुपर्ने थियो ? कसरी भएर कुरीकुरी भयो ? अब मैले बुझ्नेगरी भनिदिनुस् न है !’ मैले विनम्रतासाथ उहाँको हात समात्दै भनेँ ।
‘हेर्नुस् भाइ, तपाईंलाई आज यो सुनाउन पाउँदा नि मेरो मन हलुका भएको छ । कुरा के भने नि अहिले हाम्रो मातृभाषाको काम डलर र भोटको पछिपछि दगुरेको छ जस्ताे लाग्छ । एकातिर काठमाडौँका लोकप्रिय मेयर बालेन भन्छन्, नेपाल भाषा स्थानीय भाषा हो अनिवार्य गरेकाे छु । विद्यालयमा एउटा विषय नि राखेका छन् क्यारे । तर, पढाउने शिक्षक छैनन् र सिक्ने विद्यार्थी नि छैनन् । अनि त्यो अनिवार्य भएर के काम लाग्यो ? भोटको राजनीति मात्र भयो । फेरि ती विद्यार्थीले पनि कसरी सिकून् बिचरा । महानगरले कहिले नेपाल भाषामा कविता वाचन प्रतियोगिता, नेपाल भाषामा वक्तृता प्रतियोगिता आदिआदि भनेर भाषा प्रयोग गर्ने मन्च दिएको देख्नुभएको छ ? यो रोग नेपाल भाषामा मात्र हाेइन हरेक स्थानीय भाषामा छ । स्थानीय भाषामा मातृभाषामा पाठक तयार गर्नका लागि यिनीहरुसँग केही कार्यक्रम नै छैन ।’ उहाँले रिसाउँदै भन्नुभयो ।
‘तर मातृभाषामा काम गरेका समूह वा संस्थाहरुले त राम्रै काम गरेका छन् नि है दाजु ? उनीहरुले त यो भाषामा किताब छापेर भाषा जोगाइरहेका छन् नि ! ’ मैले आफ्नो विचार भनेँ ।
‘तिनीहरु पनि डलर आएकोले पछि कुदेकोझैँ लाग्यो भाइ । तिनीहरुसँग नि नयाँपुस्ताका बालबालिकालाई यो भाषा सिकाउने र सिकेको मातृभाषा प्रयोग गर्न मन्च दिनेबारे केही िभजन नै छैन । केही कार्यक्रम नि छैन । यसरी भाषाको विकास होला जस्तो मलाई लागेन भाइ । यो त काम गर्नेहरुले जागिर र नेताले जस पाउन गरेजस्तो मात्र लागिरहेछ मलाई । मन्च दिँदै कोसिस गरियो भने यो भाषा प्रयोग गर्ने नयाँ पुस्ता एक दुई प्रतिशत भए नि बनाउँदै जान सकिन्थ्यो कि जस्तो लाग्छ ।’
‘आजको छलफल त निकै महत्वपूर्ण विषयमा भयो दाजु ! यो मातृभाषामा काम गरिरहेकाहरुले थाहा पाउनुपर्छ जस्तो लाग्यो दाजु ! म यो विषयमा केही लेख्छु नि है दाजु ?’ मैले अनुमति माग्दै भनेँ ।
‘हुन्छ, लेख्नुस् भाइ । मलाई आपत्ति छैन । भाषा प्रयोग गर्न चाहने नयाँ पुस्ताका लागि मेराे आवाज नि यही हो है भाइ । बुढेसकालमा कसले के भन्न आउला र !’ उहाँले उत्साहका साथ भन्नुभयो ।
‘म यो छलफलमा नाम चाहिँ राख्दिन दाजु । यो मातृभाषामा काम गर्नेहरु सबैका लागि यसरी पनि केही काम गरौँ भन्ने आव्हान हो । यसलाई मनन् गरिदिऊन् भन्ने हाम्रो सदिच्छा हो ।’ मैले भनेँ ।
‘तपाईंको यो विचार सुनेर म गद् गद् भएँ भाइ । सही कुरा, हाम्रो लक्ष्य त यस क्षेत्रमा काम गर्नेहरुलाई झकभक्याउनु मात्र हो । आगे तिनीहरुले आफ्नो विचार गरुन् ।’
जय बालबालिका ! जय नेपाल ।