भक्तपुर, साउन १५ विहीवार ।
एडिफाई प्राईभेट स्कुल्स अर्गनाइजेशन नेपाल, ईप्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरुका लागि आज विहीवार अन्तर विद्यालय हिज्जे प्रतियोगिता सम्पन्न गरेको समाचार प्राप्त भएको छ । सदस्य विद्यालय विमल मेमोरियल विद्यापिठको कार्यक्रम हलमा सम्पन्न उक्त कार्यक्रममा १० वटा सदस्य विद्यालय सहभागी भएका थिए ।
कक्षा एकदेखि पाँचसम्म अध्ययनरत विद्यार्थीहरु सहभागी उक्त कार्यक्रममा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्राप्त विद्यालय तथा विद्यार्थीहरुलाई संस्थाका अध्यक्ष जी.वी. खड्काले ट्रफी प्रदान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सदस्य विद्यालय सेन्ट जोन्स इङ्लिस स्कुलका प्रिन्सिपल देव भट्टले गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेर सूर्योदय सेकेण्डरी स्कुल प्रथम, पारिजात विद्याकुञ्ज दोस्रो, सेन्ट जोन्स इङ्लिस स्कुल तेस्रो र युनिटी इङ्लिस स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।
यस शैक्षिक सत्रमा ईप्सनले गरेको यो छैठौ कार्यक्रम हो ।
ईप्सनले यही साउनको २२ गते आधारभूत तहको वादविवाद प्रतियोगिता, कक्षा ८, ९ र १० का विद्यार्थीलाई दुई चरणमा उत्प्रेरणामूलक कार्यक्रम गर्ने भएको छ । त्यस्तै अगुवा शिक्षकहरुका लागि नेतृत्व तालिम, कक्षा १, २ र ३ का शिक्षकहरुका लागि एकीकृत पाठ्यक्रम तालिम र लेखापालहरुका लागि तालिम सम्पन्न भैसकेको छ। त्यसैगरी संस्थाले सदस्य विद्यालयका कक्षा १ देखि ५ सम्मका शिक्षकहरुका लागि कक्षाकोठा व्यवस्थापनको तालिम साउन ३१ गते शनिवार र प्रश्नपत्र निर्माण गोष्ठी पनि अब केही दिनभित्र आयोजना गरिने अध्यक्ष जी.वी. खड्काले जानकारी दिनुभएको छ ।
यसरी ईप्सन भक्तपुर आफ्ना सदस्य विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको व्यक्तिगत तथा शैक्षिक विकासका लागि निरन्तर समर्पित हुँदै आएको छ ।




