प्याब्सन बालकथा सिर्जना कार्यशाला तथा बालकथा संग्रह प्रकाशन २०८२ कार्यक्रम सुरु

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

श्रावण २२, भक्तपुर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति भक्तपुरको तालिम उपसमितिले आयोजना गरेको प्याब्सन बालकथा सिर्जना कार्यशाला तथा बालकथा संग्रह प्रकाशन २०८२ कार्यक्रमको सुरुवात आज प्याब्सन बालकथा सिर्जना कार्यशालाबाट भएको छ । कार्यक्रमलाई उदघाटन गर्नहुँदै जिल्ला कार्यसमिति अध्यक्ष राजन कसपालले प्याब्सनले विभिन्न उपसमितिहरूबाट धेरै किसिमका विद्यार्थी केन्द्रित कार्यक्रमहरू आजोजना गर्दै आएको उल्लेख गर्दै विद्यार्थीहरुमा सिर्जनशीलताको विकासको लागि बालकथा सिर्जना कार्यशाला आयोजना गरिएको बताउनु भयो । साथै वहाँले प्याब्सनले शिक्षक-शिक्षिकाहरूको क्षमता अभिवृद्धिका लागि पनि विभिन्न प्रकारमा तालिम तथा कार्यशालाहरू आयोजना गर्नुका साथै विद्यार्थी, शिक्षक एवं संचालकहरूको स्वास्थ्य उपचारका लागि बिभिन्न सहूलियतहरू उपलब्ध गराउँदै आएको बताउनु भयो । वहाँले सदस्य विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्याब्सनले गर्ने तालिम, अतिरिक्त क्रियाकलाप, सेमिनार-गोष्ठी लगायत विविध गतिविधिको विषयमा समेत विस्तृत जानकारी प्रदान गर्नुभयो ।

तालिम उपसमितिका संयोजक सिङ्ग लामाले सहभागी एवं अतिथिहरूलाई स्वागत गर्दै विद्यार्थीहरू अरु कसैले लेखेको विचारको भारी बोक्ने भरिया मात्र हुँदै गईरहेको र आफ्ना विचार, भावना र तर्क अभिव्यक्त गर्न असमर्थ भई अनियन्त्रित रुपमा एआईको सहारा लिने प्रवृत्ति बढ्दै गएको परिप्रेक्षमा मानव अस्तित्वनै संकटमा पर्न सक्ने उल्लेख गर्दै नयाँ पुस्ताका विद्यार्थीहरू स्वयंलाई सर्जकको रुपमा रूपान्तरण गर्ने ध्येयका साथ यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । वहाँले आजको कार्यशालामा विद्यार्थीहरूले प्रारम्भिक कथा लेखन गर्ने र त्यसको सम्पादन हुँदै गर्दा आवश्यकता अनुसार थप शिक्षण सहित पुनर्लेखन भएपछि कथासंग्रहको रुपमा प्रकाशन गरी आउँदो दशैंमा विमोचन गरिने जानकारी दिंदै कथाकारको रुपमा नयाँ जन्म लिंदै गरेका सबै सहभागि विद्यार्थीहरूलाई शुभकामना दिनु भयो ।

कार्यक्रमका मुख्य प्रशिक्षक, बालसाहित्य प्रतिष्ठानका अध्यक्ष तथा बालसाहित्य सर्जक कार्तिकेय घिमिरेले बालसिर्जनाको क्षेत्रमा प्याब्सनले सुरु गरेको मौलिक अभ्यासको प्रसंशा गर्दै विद्यार्थीहरूको सिर्जनशीलताको यो यात्रा फलदायी हुने र यसले जीवनमा अमिट छाप छोड्ने बताउनु भयो । बालसाहित्य प्रतिष्ठान नेपालसँगको प्राविधिक सहकार्यमा प्याब्सनद्वारा मोडर्न स्कूल, सल्लघारीमा आयोजित उक्त कार्यशालामा ४३ वटा सदस्य विद्यालयहरूबाट ८५ जना विद्यार्थीहरूको उत्साहजनक सहभागीता रहेको थियो । सचिव सूर्य भण्डारीले संचालन गरेको र उपन्यासकार जानुका लम्साल सहप्रशिक्षक रहेको उक्त कार्यक्रमको उद्घाटन समारोहमा बरिष्ठ उपाध्यक्ष निलेश आचार्य, कोषाध्यक्ष रत्नमान शंखदेव, प्याब्सन सूर्यविनायकका अध्यक्ष बिनोद काफ्ले, मध्यपूरका अध्यक्ष सुमन बस्नेत, चाँगुनारायणका अध्यक्ष टंक सिटौला लगायत अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *