आदरणीय लेखक सुशीला देउजाज्यूको उत्कृष्ट बालकृति ‘विभूति दर्पण’ र ‘साङमो’ उपन्यास प्रकाशित भएको छ ।
उहाँ बालकृति लेखनमा मिहिनेती अग्रज लेखक हुनुहुन्छ । सम्पदा दर्शन, भाग १ (विश्वसम्पदा सूचीमा समावेश नेपालका विश्वसम्पदाको भ्रमणमा आधारित बालनियात्रा) को अपार सफलतापछि उहाँको सम्पदा दर्शन, भाग २ (सात प्रदेशका सात सम्पदा), अमेरिका दर्शन (अमेरिका भ्रमणमा रमाएका बालबालिकाहरु) र चारुमतीको रहस्य (बालबालिका माझमा अत्यन्त लोकप्रिय, वरिष्ठ कलाकार अविन श्रेष्ठको उत्कृष्ठ चित्रकलामा सजिएको बालचित्रकथा) अत्यन्त सफल कृतिहरु हुन् । यी कृतिहरुका लागि उहाँले आधा दर्जन बढी बालसाहित्य पुरस्कार र सम्मानहरु प्राप्त गर्न सफल हुनुभयो । देशका एक सय बढी विद्यालयमा स्वतस्फूर्त रुपमा उहाँका कृतिहरु विगत ४ वर्षदेखि लगातार पढाई हुँदै आएका छन् ।
यस पटक उहाँ दुई नयाँ कृतिहरु विभूति दर्पण र साङमो उपन्यास लिएर आउनुभएको छ । देशका १८ विभूतिको सरल जीवनी विभूति दर्पण कृतिमा समावेश रहेको छ । साङमो उपन्यासमा एउटी बालिकाले गरेको सङघर्षको रोमाञ्चक कथा रहेको छ । हिराको परख जहडीले गर्नसक्छ भनेझैँ प्रकाशित भएको एक हप्तामा नै सिफल स्कूलले यस कृतिलाई छनोट गरेको थियो ।
तीन महिनामा नै यी दुई कृतिहरुको दोस्रो संस्करण प्रकाशित हुन सफल हुनुले यी दुई किताब विद्यालय तहमा कक्षा ६ र ७ मा अत्यन्त उपयोगी पठन सामग्रीमो रुपमा छनोट हुनुले हो ।
यी दुई किताब म सिफारिस गर्दछु । – बालसाहित्य लेखक कार्तिकेय


