कोरियाली बालसाहित्यकारको बाल्यकाल

अडियो / भिडियो मेरो बाल्यकाल साहित्य

प्राध्यापक डाक्टर यु जङ्गयी कोरियाली बालसाहित्यकार हुनुहुन्छ । उहाँ हङ्गीक विश्वविद्यालयमा कोरियन साहित्य पढाउँनुहुन्छ । उहाँले आधुनिक कोरियाली कविता भन्ने विषयमा विद्यावारिधि गर्नुभएको हो । चालीस दिने नेपाल भ्रमणका लागि जङ्गयी नेपाल आउनुभएको थियो । गत २०६६ भदौ १ गते उहाँ आफ्नो भ्रमण सकाएर कोरिया फर्किनु भयो । यो भ्रमणमा उहाँसँगै १३ जना कोरियाली बालबालिकाहरु पनि आएका थिए । यस अंकमा हामीले प्रसिद्व कोरियाली कवि, समालोचक र बालसाहित्यकार जङ्गयीसँग उहाँको बाल्यकालका सम्झना वारे कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकालको कथा सुनाउँदै भन्नुहुन्छ:

म एउटा साधारण परिवारमा जन्मिएकी हुँ । मेरो बुवा व्यापार गर्नुहुन्थ्यो । मेरो घरमा हामीलाई खान, बस्न र पढ्न पनि गाह्रो अवस्था थियो ।म सानैदेखि पुस्तक पढ्न खूब रुचि राख्थें । म सानो छँदा विदेशी लेखकका किताबहरु बेच्दै घर-घरमा हकरहरु घुम्दथे । उनीहरु थरीथरीका किताबहरु बेच्दै हिड्थे । एक सेट किताबमा दशथरी कथाका किताबहरु हुन्थे । ती किताब पढ्न मलाई एकदमै मन लाग्थ्यो । तर मेरो बुवाआमाले किन्दिन सक्नु हुन्नथ्यो । मसँगै भाइबहिनीलाई पनि पढाउँनु पर्ने भएकोले घरको सबै पैसा हाम्रो विद्यालयको किताब किन्दा नै सकिन्थ्यो । त्यसैले म सँधै घर बाहिर उभिएर ती घुमाउँदै किताब बेच्न हिडेका हकरहरुले बोकेका कथाका किताबहरु लोभिदै हेर्थें । म पढ्न नपाएकोमा थकथक मान्थें ।

एकदिनको कुरा हो, मैले मेरो छिमेकीको घरमा थुप्रै कथाका किताबहरु दराजमा सजाएर राखेको देखें । त्यसपछि म दङ्ग पर्दै छिमेकीको घरमा गएर किताब पढ्ने कुरा सोच्न थालें । नभन्दै मैले त्यो मौका पाएँ । एक दुइ दिन मैले त्यो छिमेकीको घरमा गएर ती किताबहरु मज्जाले पढें । शुरुको दिन त म किताब पढ्न पाएकोमा यति धेरै रमाएँ कि मैले त धेरै खुसी भएर रुँदै-रुँदै किताबहरु पढें । म आफ्नो जिन्दगीमा त्यो दिनलाई कहिले बिर्सिन सक्दिन ।हुन त मेरा छिमेकीका पनि छोराछोरीहरु थिए । तर उनीहरु घरमा भएको त्यति राम्रा किताबको वास्ता गर्दैनथे । उनीहरुलाई त कथाको किताब पढ्न मन नै लाग्दोरहेनछ । त्यतिबेला म सोच्थें कस्तो बोर जसलाई किताब पढ्न मन छैन ऊसँग चै यति धेरै किताब ।

मलाई पढ्न मनलाग्छ तर मसँग किताब नै छैन । यो सम्झदाँ मलाई रुन मन लाग्थ्यो ।यसरी मैले रमाउँदै दुइ तीन दिन छिमेकीकोमा गएर किताब पढें । तर त्यसपछि मैले त्यहाँ गएर किताब पढेको उनीहरुले मनपराउँन छाडे । त्यसपछि म त्यो छिमेकीकोमा किताब पढ्न जान छाडें । आमालाई कर गरेर छिमेकीको घरमा किताब लिन पठाउँन थालें । यसरी दुइ दिनसम्म आमाले मलाई त्यहाँबाट किताब ल्याइदिनु भयो । तर एकदिन आमालाई पनि वचन लगाएछन् । त्यसपछि आमाले रिसाउँदै ती छिमेकीको सेखी झार्न मलाई एक सेट दशवटा कथाका किताबहरु ल्याइदिनु भयो ।

ओहो, त्यो दिन त म धेरै खुसी भएकी थिएँ । आफ्नो कथाका किताबलाई किस गरेर, अंगालो मारेर मैले रमाइ-रमाइ पढें । हो, मैले मेरो आफ्नो किताब आफैले रुँदै, कराउँदै, हाँस्दै र हल्ला गर्दै पढेको त्यो दिन मेरो जिन्दगीको कहिल्यै नबिर्सने दिन हो ।साँच्चै, म किताबको कीरा नै थिएँ । म निक्कै धेरै किताब पढ्थें । म किताब पढ्दापढ्दै खाना खान नै बिर्सिन्थें । आमाले मलाई छोरी तिमीले खाना खाएकी छैनौ भनेर दुइ तीन पटक सम्झाउँनु पर्दथ्यो ।

यसरी धेरै किताब पढ्ने बानीले गर्दा होला अहिले म लेखक बन्न सकें । अहिले पनि म धेरै किताब पढ्ने गर्छु । मैले क्याम्पसमा विद्यार्थीहरुलाई पढाउन पनि धेरै किताब पढ्नुपर्छ । त्यो बाहेक मलाई नयाँ-नयाँ उपन्यास, कथा र कविताहरु लेख्न पनि त मैले धेरै किताब पढ्नुपर्छ नि ! मेरा बालसाहित्यमा दशवटा किताबहरु छापिएका छन् । ती सबै किताबले पुरस्कारहरु पनि जितेका छन् । यो पनि म धेरै पढ्ने मान्छे लेखक भएर हो भन्नुहुन्छ मेरा गुरुहरु ।

म समालोचक पनि हुँ । मेरा समालोचनासम्वन्धी पाँचवटा किताबहरु छापिएका छन् । अरुका किताबहरु पढेर ती किताबको राम्रा पक्ष र नराम्रा पक्षका वारेमा लेख्नु मेरो काम हो । त्यही कामलाई समालोचना भनिन्छ । त्यसैले समालोचना गर्न पनि म धेरै किताबहरु पढ्ने गर्छु ।यसरी आफूलाई सफल मान्छे बनाउँन म धेरै थरी किताबहरु पढिरहेकी छु । मलाई लाग्छ, हरेक मान्छेले किताब पढ्नुपर्छ । राम्रा ज्ञानगुनका किताब पढ्ने मान्छेहरु जीवनमा सँधै सुखी र सफल हुन सक्छन् ।

प्रस्तुतिः कार्तिकेय

Leave a Reply

Your email address will not be published.