- केटाकेटी अनलाइन संवाददाता रश्मी खागी
२०७६ मंसिर ४ गते, ललितपुर ।
कथालय इन्क र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा नेदरल्याण्डका ३ लेखक तथा चित्रांकनकर्ताहरु र नेपाली लेखक तथा चित्रांकनकर्ताहरु बीच गत मंसिर ३ गते मंगलबार अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेदरल्याण्डका बालसाहित्य लेखक तथा चित्रांकनकर्ता मार्क यानसेन, नर्वे बसोबास गर्दै आएकी लिन्डे फास र नेदरल्याण्डकी आम्बर डेलाहया र सहजकर्ता मार्लिन फिशरसँग बालसाहित्य लेखन र प्रकाशनका विषयमा अन्तरक्रिया गरिएको थियो ।
कथालय इन्कका प्रमुख कार्यकारी अधिकृत राजिवधर जोशीले नेदरल्याण्डमा पठन संस्कृति अत्यन्त विकसित रहेको उल्लेख गर्दै बालसाहित्य लेखन, प्रकाशन, पुस्तकालयको अवस्थाबारे चर्चा गर्नुभयो ।
त्यस्तै थाङ्ग फाउन्डेशनकी संरक्षक मार्लिन फिशरले यसअघि नेपाल भ्रमणमा आउँदा यहाँका विद्यालयहरुमा केवल पाठ्यक्रमको पढाइ हुने र शिक्षा दिनेमा मात्र केन्द्रित भएको र सिर्जनात्मकतामा जोड नदिइएको परिपाटीलाई परिवर्तन गर्नुपर्छ भन्ने सोचले नेपालमा समन्वय गरी विभिन्न विद्यालयमा रमाइला किताब पढ्न प्रेरित गर्ने गतिविधि गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा बालसाहित्य समाजका महासचिव डा. ध्रुवकुमार घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले पाठ्यपुस्तक विद्यार्थीले करले पढ्छन् भने बालासहित्य रहरले पढ्ने गर्छन् र रहरले पढ्न योग्य बनाइनुपर्छ भन्ने बालसाहित्य समाजको सोच रहेको बताउनुभयो ।
सो अन्तरक्रियामा भएको प्रश्नोत्तर निम्नानुसार छन् :
प्रश्न : तपाईं आफूलाई कुन रुपमा चिनाउन रुचाउनुहुन्छ लेखक या चित्रकार ?
मार्क : चित्रपुस्तक बनाउने भन्न रुचाउँछु किनभने लेख्ने र चित्र बनाउने दुवै काम बराबर तहमा हुने गर्छ । विना शब्दको पनि किताब (कन्सेप्ट बुक) बन्दछ त्यसैले हामी लेखक पनि हौं ।
प्रश्न : नेदरल्याण्डमा बालसाहित्यिक पुस्तकको बिक्रीको बजार कस्तो छ ?
मार्क : त्यहाँ व्यापारिक दृष्टिकोणले बालसाहित्य विधामा धेरै राम्रो बजार छ । त्यहाँ लेखकहरु हुनुहुन्छ जो चित्र बनाउने अथवा बालपुस्तक तयार गरेर पेशाको रुपमा जीविकोपार्जन गर्न सक्षम हुनुहुन्छ । यसो हुनुको कारण पठन संस्कृतिको विकास, बालबालिकाको लागि पढ्नको लागि बुकस्टोरहरु, पुस्तकालयहरुको सहज पहुँच र व्यवस्थापन भएकाले हो । हाल आएर प्रविधिको विकाससँगै बालबालिकाले आफ्नो समय ल्यापटप, मोबाइल, इन्टरनेटमा पनि खर्च गर्नुपर्ने भएकाले कतिपय प्रकाशकहरुले किताबको खपत कम हुन थालेको महसुस गर्न थालेका छन् । यद्यपि त्यहाँको बजार राम्रो नै मान्न सकिन्छ ।
लिन्डे : नर्वेमा भने नेदरल्याण्ड जत्तिको बजार त छैन ।
प्रश्न : बालासहित्यमा मात्रै बजार राम्रो हो कि माथिल्लो तहमा पनि पुस्तक बिक्रीको अवस्था राम्रो छ ?
लिन्डे : माथिल्लो तहमा पनि उत्तिकै राम्रो रहेको छ ।
प्रश्न : कन्सेप्ट बुकको लागि तयारी गर्दाको चरण के हो ?
मार्क : पहिला आफूमा कन्सेप्ट विचार आउनुपर्यो । त्यसमाथि धेरैपटक विचार गर्नुपर्ने हुन्छ जुन हप्तौं, महिनौं अथवा वर्षौं पनि लाग्न सक्छ, यो चरण सबैभन्दा कठिन चरण हो । त्यसपश्चात् त्यसलाई लेख्न थाल्छौं । चित्रांकनकर्ताहरुले भने त्यस विचारसम्बन्धी दिमागमा पनि चित्र बन्ने गर्दछ । कथा सकिएपछि त्यसलाई स्केच बनाउँछौं । त्यसपछि प्रिन्ट गर्छौं, पानामा उतार्छौं र जब कथाको उत्कर्ष तयार हुन्छ, किताब पनि लगभग पूरा हुन्छ र त्यसपछि प्रकाशककहाँ जाने गर्छौं ।
नयाँ नयाँ सिकारुहरुले भने पुस्तकको खाका तयार गरी प्रकाशकको टिप्पणी आइसकेपश्चात् मात्र किताब तयार फाइनल गर्ने गर्छन् ।
प्रश्न : आफ्नो किताब बाहेक अन्य लेखकको किताबमा चित्र बनाउनुपर्ने अवस्थामा कसरी सहकार्य गर्नुहुन्छ ?
लिन्डे : कथा लेखिसकेपछि प्रकाशकले चित्रकारलाई काम सुम्पने गर्छन् तर कुनैबेला लेखक आफैँले चित्रकारसँग सहकार्य गर्छन् । अथवा लेखकले कथाको कन्सेप्ट दिनुभएपछि चित्रकारले पनि आफ्नो हिसाबले चित्र बनाउने गर्छन् ।
मार्क : यसमा केही थप्न चाहन्छु । प्रकाशकले कुन चित्रकारले कस्तो खालको चित्र बनाउँछ र कस्तो कथाका कुन किसिमको चित्र सुहाउँछ भन्ने कुरा हेक्का राखी कामको बाँडफाँट गर्ने गर्छन् । जस्तो कि कसैको लोककथामा राम्रो हात बसेको हुनसक्छ, कसैको जनावरको चित्रहरु राम्रो बनाउन सक्ने खालको हुन्छ, यसरी प्रकाशकले चित्रांकनकर्ताहरुको विधागत खुबिलाई हेरी सोही अनुसारको चित्रकार छानेर काम दिने गर्नुहुन्छ । यदि चित्रकार र लेखकबीचको तालमेल राम्रो भएन भने किताब पनि राम्रो ननिस्कन सक्छ ।
प्रश्न : के पुस्तक तयार भइसकेपछि प्रकाशनपूर्व केही बालबालिकालाई पढ्न लगाएर उनीहरुको टिप्पणी, समिक्षा लिने गरिन्छ ?
लिन्डे : अहँ, मैले यस्तो त गरेको छैन तर यस्तो समिक्षा गराउने एकजना लेखक मैले चिनेको छु । मलाई जहाँसम्म लाग्छ प्रकाशनपूर्वको पाठक समिक्षा गरिनु राम्रै हो ।
मार्क : मैले पनि कहिल्यै गरेको छैन र त्यसो गर्न आवश्यक पनि ठान्दिनँ । किनभने जब म किताब तयार गर्छु म के सिर्जना गरिरहेको छु र त्यो कुरा एकदम राम्रो छ भन्ने कुरामा मेरो पूर्ण विश्वास रहेको हुन्छ । त्यस्तै चित्रपुस्तक केवल चित्र मात्र होइन यो कला हो र यसको प्रयोजन केवल किताबमा मात्र नभई अरु पनि हुन सक्छ । म चित्र र किताब यसकारण बनाइरहेको छु किनभने मलाई मनपर्छ, मलाई लेख्न, चित्र बनाउन मनपर्छ र सबै बालबालिका माझ मेरो सिर्जना पुगोस् भन्ने चाहन्छु । त्यस्तै चित्रपुस्तक बालबालिकाको लागि मात्र होइन वयस्कका लागि पनि बनाउने गर्छौं ।
प्रश्न : आम्बर तपाईंले नेपाली लेखक चिराग वांगदेलसँग सहकार्य गरेर पुस्तक तयार गर्नुभएको छ, तपाईंको अनुभव बताउनुहोस् ।
अम्बर : पहिलोपल्ट दुई महिना बस्दा चिरागजीसँग भेट भयो र उहाँको कवितामाथि छलफल गरयौं । मलाई चित्र बनाउन एक महिनाको समय दिइयो त्यसकारण छिटै काम सकाउनुपर्ने अवस्था थियो ।
प्रश्न : हामीकहाँ करिब १ करोड बालबालिकाको जनसंख्या छ मुस्किलले ४००० पुस्तक छन् । नेदरल्याण्डको अवस्था कस्तो छ ? शैक्षिक प्रगतिको लागि बालसाहित्यलाई कति महत्व दिइन्छ ? कतिपय देशहरुमा सरकारले नै पुस्तकहरु खरिद गरेर पुस्तकालयमा पुर्याउने चलन छ । नेदरल्याण्डमा के कस्तो व्यवस्था छ ?
मार्लिन : नेदरल्याण्डमा प्राथमिक स्कुलहरु हरेकमा पुस्तकालय छ र सहरी क्षेत्रमा हरेक नगरमा पब्लिक पुस्तकालय छन् जुन सरकारको सहयोगमा सञ्चालित छन् । १८ वर्षसम्मका बालबालिकाका लागि पुस्तकालय जाने व्यवस्था गरिएको छ । क्रिसमस र जन्मदिनमा बालबालिकालाई किताबहरु दिइने चलन छ ।
प्रश्न : धर्म, ईश्वर, संस्कृति जस्ता विषयमा कस्तो प्रकारको बालसाहित्य लेख्ने गरिन्छ ? यस्ता विषयलाई बालबालिका समक्ष कसरी जानकारी गराउने गरिन्छ ?
मार्क : नेपालमा धर्म संस्कृतिको व्यापक प्रभाव छ तर हामीकहाँ भने निकै कम छ, कुनै कुनै प्रकाशकले धर्मसँग सम्बन्धित पुस्तक प्रकाशन गर्ने गर्छन् । नेपालको पाठकका लागि यस्ता कथा र चित्रहरु उपयुक्त हुन्छ तर अन्तर्राष्ट्यिस्तरमा जान सकिँदैन । म चित्र बनाउँदा आफ्नो परिधि कहाँ बनाउने भन्ने सोचेर बनाउने गर्छु । म भगवान्, धर्मको पाटो भन्दा पनि सबैतिर बुझ्न सकिने खालको कन्सेप्ट राख्ने गर्छु जस्तो प्रकृति, मित्रता, प्रेम, राक्षस, डाइनासोर, आदिको बारेमा बनाउने गर्छु ।
प्रश्न : हामीकहाँ बालपुस्तक सम्पादन गर्ने सन्दर्भमा सम्पादकसँग यति ज्ञान, शिक्षा हुनुपर्छ भन्ने प्रावधान छैन । नेदरल्याण्ड, नर्वेमा बालपुस्तक सम्पादन र चित्रको लागि कन्सेप्ट दिनेसँग लाइसेन्स, परीक्षा, शैक्षिक प्रमाणपत्र, अनुभवको जरुरत पर्छ कि पर्दैन ?
लिन्डे : शैक्षिक योग्यता, अनुभव आवश्यक पर्दछ । यो क्षेत्रमा काम गर्न विना अनुभव निकै कठिन हुन्छ । यसमा विशेषज्ञता हासिल गरेको हुनुपर्छ ।
प्रश्न : नेपालमा वार्षिक रुपमा २०० देखि ३०० कृति प्रकाशित हुने गर्छन्, त्यहाँ कति प्रकाशित हुने गर्छ र कति प्रति छापिने गर्छन् ? लोककथा र त्यस्तै पुनःकथन गरिएका कथाहरु कति छापिन्छन् ? त्यस्तै बिक्री वितरण कस्तो छ ?
मार्क : हामीलाई संख्या त थाहा छैन । हामीकहाँ डच भाषामै बढी लेखिन्छन् र बाहिरका अनुदित किताबहरु कम मात्रामा प्रकाशन गरिन्छ । राम्रा लेखकका ५००० प्रति छापिन्छन् जुन राम्रै संख्या हो । सरदरमा २००० देखि ३००० प्रति छापिने गर्छन् ।
मार्लिन : कति संख्यामा पुस्तक प्रकाशन हुन्छन् भन्ने कुरा मुख्य होइन । गुणस्तर हेर्नुपर्दछ, संख्या धेरै भएर गुणस्तर भएन भने राम्रो हुँदैन ।
राजिवधर जोशी : नेदरल्याण्डमा एउटै मात्र वितरक रहेको छ जहाँ एकदमै ठूलो गोदाम रहेको छ । नेदरल्याण्डका सबै प्रकाशकले पुस्तक प्रकाशन भइसकेपछि सोही वितरकलाई आआफ्नो पुस्तक दिने गर्छन् । यसरी वितरक कहाँ जानुभन्दा ३ ४ महिना अगावै प्रकाशकहरुले पुस्तक पसल, स्टोरहरुमा आ आफ्नो सेल्समेन (बिक्रेता) पठाउने गर्छन् र फलानो व्यक्ति, लेखकको यस्तो पुस्तक आउँदैछ है भनेर प्रचारप्रसार गर्ने गर्छन् । ब्रोसरहरु, क्याटलग पठाउने गर्छन् । त्यसपछि पुस्तक पसलेले सोही ब्रोसरको आधारमा कुन व्यक्तिको किताब कति संख्यामा लिने निर्धारण गर्छन् र वितरककहाँ जाने गर्छन् । पुस्तक पसले प्रकाशककहाँ जाने गर्दैन । वितरकसँग पुस्तक पसलेको सम्बन्धको आधारमा पुस्तक दिने गर्छन् । वार्षिक सम्झौता गरेर अथवा शुल्क तिरेर किताब लिने गर्छन् । पसलमा किताब गइसकेपछि पाठकहरुसँग लेखकको गतिविधि गर्दा त्यसको लागि प्रकाशकले आधा र सरकारले आधा शुल्क दिएर त्यस्ता गतिविधि गर्ने गरिन्छ ।
प्रश्न : पुस्तकालयहरुमा सरकारको कस्तो सहयोग छ ?
राजिवधर जोशी ः उहाँहरुकोमा प्रा.वि. तहमा अनिवार्य पुस्तकालय छ जुन सरकारको सहयोगमा सञ्चालित छ । त्यस्तै सामुदायिक पुस्तकालयहरुमा पनि सरकारी सहयोग रहेको छ । जुन विद्यालयमा पुस्तकालय छैन, स्कुलले बजेट सरकारसँग माग्ने गर्दछ र पुस्तक तथा सामग्रीहरु चाहिँ पुस्तकालयबाट लिएर त्यसवापत शुल्क तिर्ने गरिन्छ ।
प्रश्न : गुणस्तरको कुरा गर्दा हामीकहाँ कस्तो परिपाटी छ भने जुन जुन लेखकको प्रकाशकसँग राम्रो सम्बन्ध छ, लिंक छ उनीहरुको छापिने र राम्रा लेखकहरुको चाहिँ नछापिएको अवस्था छ । नेदरल्याण्डमा चाहिँ प्रकाशनका लागि छनोट कसरी गरिन्छ कि गरिँदैन ?
मार्क : हामीकहाँ लेखनको गुणस्तर हेरिन्छ । नयाँ लेखकलाई पनि मौका दिइन्छ । यदि कुनै राम्रो लेखकले २० वर्ष नलेखिकन बसेर पुनः लेख्दा यदि उसको लेखन राम्रो छैन भने त्यो छापिँदैन ।
वयस्कहरुले छानेको उत्कृष्ट किताब मात्र धेरै बिक्छ भन्ने छैन । हामीकहाँ बालपाठकहरु नै निर्णायक भएर उत्कृष्ट किताब छान्ने चलन पनि छ र यो हाम्रो लागि ठूलो उपलब्धि हो ।
प्रश्न : यदि तपाईंको कुनै किताब अरु भाषामा अनुदित भएको छ भने के तपाईं अनुदित किताबले तपाईंको मौलिक किताबको सन्देश पूर्ण रुपमा दिएको पाउनुभएको छ कि बिगारेको पाउनुभएको छ ? तपाईंलाई लेख्ने प्रेरणा कसरी प्राप्त भयो ?
मार्क : हाम्रोमा डच प्रतिष्ठान छ जसले डच भाषाबाट कसले अनुवाद गर्यो र कसरी गर्यो भन्ने कुरा नियन्त्रण गर्ने गर्दछ । म स्वयंको बारेमा भन्नुपर्दा मैले त्यसरी ठिक भयो भएन हेरेको छैन किनभने मसँग सबै भाषाको राम्रो ज्ञान छैन ।
मार्लिन : सायद दोहोरो प्रमाणिकरणको कहीं कहीं आवश्यकता पनि परेको छ । किनभने कहिलेकाहीं अनुवादमा शुद्ध अथ्र्याउन निकै गाह्रो छ ।
प्रश्न : डच भाषामा फुटबल सम्बन्धी किताब छापिएको छ ?
मार्क : हजुर, धेरै छ । पाठ्यपुस्तक, बालसाहित्य पुस्तकमा फुटबल समावेश छ । म आफैंले ३५ वटा फुटबल सम्बन्धी किताबमा चित्र कोरेको छु । तर के भने मैले आफ्नो सिर्जनशीलता धेरै उपयोग गर्न भने पाइनँ किनकि यसमा यथार्थ चित्रण गर्नुपर्ने हुन्छ ।
प्रश्न : नेपालका बालसाहित्यकारहरुले कस्तो प्रकारको कन्सेप्टमा लेख्दा राम्रो हुन्छ, कुनै सुझाव दिन चाहनुहुन्छ ?
मार्लिन : यहाँ संस्कृतिसम्बन्धी, शिक्षा सम्बन्धी राम्रा राम्रा किताबहरु देखेका छौं । तर रमाइलोको लागि पढ्ने भन्ने कुरा यहाँ छैन । यहाँ शिक्षा, जानकारी, ज्ञान विद्यार्थीमाथि लाद्ने परिपाटी छ । सिर्जनशीलताका लागि पढ्ने गरिँदैन । म एउटा विद्यालयमा गएकी थिएँ जहाँ महिला प्रधानाध्यापक हुनुहुन्छ । उहाँको स्कुलमा शुक्रबार नो ब्याग डे अर्थात् स्कुलब्याग नै लानुपर्दैन । आइतबारदेखि बिहीबार सम्म पठनपाठन हुन्छ भने शुक्रबार बालबालिकाले संगीत, चित्रकला, खेलकुद, पुस्तक पढ्ने गर्छन् जुन अलि फरक पाएँ । नेदरल्याण्डमा हरेक दिन छुट्टीको दिन हुन्छ । शिक्षकहरु आफैँले विद्यार्थी सँगसँगै पढ्ने गर्छन् । त्यस स्कुलका विद्यार्थीहरु निकै उत्साहित छन् । उनीहरु किताब घर लैजान्छन् पनि ।
प्रश्न : प्रकाशकबाट लेखकले र चित्रांकनकर्ताले कसरी शुल्क पाउँछन् ?
मार्क : लेखन र चित्रांकनको लागि एड्भान्समा पनि शुल्क पाउने गर्छन् । रोयल्टीमा शुल्क पाउँदा जति बढी पुस्तक बिक्री हुन्छ सोही अनुसार १० प्रतिशत पैसा पाउँछन् जुन निकै न्युनतम हो । हामीकहाँ पनि यो समस्या छ । पुस्तकालयमा कुनै बालकले किताब घर लैजान्छन् भने त्यसवापत पनि १० सेन्ट रोयल्टी (लेखकस्व) सरकारको तर्फबाट पाउने गर्छन् ।
कार्यक्रममा राजीवधर जोशी, सुशीला प्रधानाङ्ग, डा. ध्रुवकुमार घिमिरे, प्रमोद प्रधान, कार्तिकेय, मन्जु ज्ञवाली, राजेन्द्रभक्त जोशी, यशु श्रेष्ठ, विनोद भण्डारी, आइ. पी. अधिकारी, नेत्र तामाङ लगायतले विभिन्न प्रश्नहरु सोध्नुभएको थियो ।