झोलाभित्र के होला ! – माधव सयपत्री (अडियाे किताब)

अडियो / भिडियो केटाकेटी अनलाइन युट्युब

भाइबहिनीहरु,
आज म आदरणीय लेखक माधव सयपत्रीको कथा लिएर आएकी छु । यो सन् २०२२ को अडियो किताबमा बालसाहित्य अन्तर्गत रेकर्ड भएको पहिलो बालकथा हो ।
कथाको शीर्षक : झोलाभित्र के होला !
लेखक : माधव सयपत्री


अविधा, रोेशन, सुरज, संज्ञा र विपना कक्षा दुईमा पढ्छन् । अरू साथीभन्दा अविधा सानी छन् । अविधालाई सबैले माया गर्छन् । उनीहरू सँगै स्कुल जान्छन् । बाटोमा ठूला कक्षाका साथीहरू पनि हुन्छन् । ठूलाको कुरा ठूलैसित मिल्छ । सानाको कुरा सानैसित मिल्छ ।
अविधाको झोलाको बाहिरी गोजी सधैँ पुक्क उठेको हुन्थ्यो । रमिला मिस सोच्नुहुन्थ्यो, ‘अविधाको झोलाभित्र के होला !’
मिसलाई अविधाको झोला हेर्न मन लागेको थियो । कक्षामा हाजिर गरिसकेपछि एकदिन रमिला मिसले सोध्नुभयो, ‘अविधा, तिम्रो झोलाभित्र केके छ ? निकै गहु्रँङ्गो जस्तो छ । किताब मात्रै त होइन होला । खाजाले झोला गह्रौँ भएको हो ? मलाई झोला खोलेर देखाऊ त ।’

आदरणीय लेखक माधव सयपत्री


अविधालाई झोला खोलेर देखाउन मन थिएन । मिसको गाली खाइने डरले उनी बोलिनन् । मिसले फेरि झोला खोलेर देखाउन भन्नुभयो । उनले मुसुमुसु हाँसेर टार्न खोजिन् । साथीहरूको अनुहारतिर हेरेर लजाइन् ।
‘तिमीले मैले भनेको टेरिनौ । खै, झोला यता देऊ । म आफैँ हेर्छु ।’
मिसले झोला माग्नुभयो । अविधाले झोला आपैmँतिर तानिन् । लुकाउन खोजिन् । तर मिसले छाड्दै छाड्नुभएन ।
रमिला मिसले अविधाको झोला तान्नुभयो । खोलेर हेर्नुभयो । मेरीबास्सै ! अविधाले झोलामा के के हालेकी रहिछन् रहिछन् ! मिसले सोध्नुभयो, ‘अविधा, तिमीलाई भारी बोक्न मन लाग्छ हो ? झोलामा ढुङ्गा, लहरा, पात, चोइटाहरू किन राखेकी ?’
अविधाले रातो मुख पारिन् । रोशन, सुरज, संज्ञा र विपनाहरूलाई पनि आप्mनो झोला खोलिन्छ कि भन्ने डरले सतायो ।
रमिला मिसले अविधाको झोलाबाट सबै चीज झिकिदिनुभयो । रिसाएर भन्नुभयो, ‘किताब राख्ने झोलामा अनेक कुरा राखेर हुन्छ ? तिम्रा बाआमाले केही भन्नुहुन्न ? अरू चीज राख्दा किताब मैलिन्छ । झोला छिट्टै फाट्छ । तिम्रो बाआमालाई कुरा लगाइदिऊँ म ?’
मिसले गाली गर्दा अविधालाई नरमाइलो लाग्यो । उनी बोल्न सकिनन् । मिसले अरू साथीका झोला पनि हेर्नुभयो । रोशन, सुरज, संज्ञा, विपनाका झोलामा पनि थोरै थोरै त्यस्तै चीज थिए । मिसले उनीहरूको झोलाबाट ती चीज झिक्नुभयो । झोलाका ढुङ्गा, पात, लहरा र चोइटाहरू उनीहरूलाई नै डस्टबिनमा फाल्न लगाउनुभयो । खोजीखोजी राखेका वस्तु आपूmले फाल्नु पर्दा उनीहरूलाई निकै पीर लाग्यो ।
संज्ञाले यो कुरा खप्नै सकिनन् । उनलाई रुन मन लाग्यो । रिस पनि उठ्यो । बरबर आँसु खसाल्दै उनले भनिन्, ‘हामीले खेल्न राखेको कुरा मिसले किन फालेको नि ?’
अरू साथी बोल्न सकेनन् । मिस निकै रिसाएर कक्षाबाट निस्कँनुभयो ।
स्कुल छुट्टी भएपछि उनीहरू घर फर्किए । सबैको अनुहार अँध्यारो भएको थियो । बाटोमा अविधाले भनिन्, ‘रमिला मिस कति खराब है ! हामीले खेल्न झोलामा राखेका कुरा पनि सबै फाल्दिनुभयो । त्यस्तो खराब मिस भएको स्कुलमा किन जानु ? भोलिदेखि बरु अर्को स्कुलमा जाऊँ ।’
संज्ञाले भनिन्, ‘त्यै त । सानो हुँदा मिसले पनि त्यस्तै कुरा झोलामा राख्नुभयो होला । खेल्नुभयो होला । रमिला मिस अहिले हामीलाई खेल्न पनि दिनुहुन्न । ठूला मान्छेले साना मान्छेका कुरा किन नबुझेका होलान् ?’
रोशनले निरास भएर भने, ‘अब झोलामा त्यस्ता कुरा केही पनि नहालौँ है ! सबैले गाली मात्रै गर्छन् ।’
सुरजले भने, ‘बाआमाले थाह पाउनुभयो भने पिट्नुहुन्छ होला है हामीलाई !’
रोशनले भोगेका कुरा राखे, ‘अस्ति बाले मेरो झोलाबाट सबै चीज फाल्दिनुभयो । ‘अब राखेको थाह पाएँ भने पिट्छु’ भन्नुभएको छ । म त झोलामा अब ढुङ्गासुङ्गा केही पनि राख्दिनँ ।’
घेरै दिनसम्म उनीहरूले झोलामा किताब र कापीबाहेक अरू वस्तु राखेनन् । खेल्ने चीज जति स्कुलको गेटबाहिर पारिजातको फेदमा लुकाएर जान थाले । रमिला मिसले पनि वास्ता गर्न छाड्नुभएको थियो ।
अर्को दिन टिफिन समयमा साना केटाकेटीहरू स्कुलको गेटबाहिर खेलिरहेका थिए । रमिला मिस गेटबाट भित्र पस्न लाग्नुभएको थियो । उनीहरू अनेक आकार र रङका ढुङ्गा झोलाबाट झिक्दै थिए । विभिन्न विरुवाका साना ठूला पात बोकेका थिए । लहराको गोलो घेरा बनाएका थिए । त्यै घेराभित्र अरू चीज राखेका थिए ।
केटाकेटीले आपूmले भनेको नटेरोकोमा रमिला मिसलाई रिस उठेको थियो । त्यो दिन पनि मिसलाई सबै कुरा फाल्दिन मन लाग्यो । एकछिन् उनीहरूले नदेख्ने गरी हेर्नुभयो ।
अविधाले भनिन्, ‘संज्ञा, यो लहराले छेकेको ठाउँभन्दा बाहिर कुनै पनि चीज लानुहुँदैन है ! हाम्रा खेल्ने चीजहरू हराउन सक्छन् । ल, यो गोलो ढुङ्गा हेर त । किन गोलो भएको होला ? तिमीसँग यस्तो गोलो ढुङ्गा छ ?’
संज्ञाले भनिन्, ‘मसँग गोलो ढुङ्गा छैन । चुच्चो मात्रै छ । अनि मेरो चैँ किन चुच्चो भएको होला नि !’
अविधाले फेरि भनिन्, ‘हेर त, यो गोलो ढुङ्गा बलजस्तै छ । ढुङ्गाको बल खेल्यो भने के हुन्छ होला है !’
सुरजले भने, ‘तिमीहरूको टाउको फुट्छ नि !’
रोशनले भने, ‘नदीका ढुङ्गा यस्तै गोला हुन्छन् ।’
ठूला र साना पात देखाउँदै रोशनले भने, ‘ठूला पातमा ठूला धर्सा । सानामा साना धर्सा । पातमा किन धर्सा भएको होला है !’
सुरजले भने, ‘पातको धर्सा हाम्रो जिउको जस्तै नसा होला उसको । पातको नसाले सबैतिर रगत पुर्याउँदो होला नि !’
अविधाले झोलाबाट दाउराका चोइटा झिकिन् । उनले चोइटा पनि चिल्ला बनाएकी थिइन् । उनले भनिन्, ‘हेर त, यी चोइटामा कस्ता कस्ता रेशा छन् । कुनैका बाङ्गा छन् । कुनैका सोझा ।’
रोशनले भने, ‘अविधा, तिम्रो हत्केला मलाई देखाऊ त ।’
अविधाले औंला फिँजारेर हत्केला देखाइदिइन् । रोशनले भने, ‘काठमा रेशा भएजस्तै तिम्रो हातमा पनि यता र यता गएका लाइन् छैनन् र ! हामी सबैको हातमा छन् । हेर त ।’
मिसले केटाकेटीका कुरा निकैबेर हेर्नुभयो । अघि रिस उठेको थियो । मिसको रिस एकैछिनमा हरायो । सोच्नुभयो, ‘मैले यी नानीहरूलाई व्यर्थै गाली गरेँछु । यस्तै चीज झोलामा राखेर उनीहरू घेरै कुरा सिक्न खोज्दारहेछन् । हामीले नसोचेका कुरा यिनीहरू सोच्दारहेछन् ।’
रमिला मिस केटाकेटीको छेउमा आउनुभयो । मिसलाई देखेर नानीहरूले अनुहार बिगारे । कसैले आफ्ना खेलौना लुकाए । कसैले तलतिर फालिदिए । मिसले गाली गर्नुहुन्छ होला भन्ने लागेको थियो । तर मिस केटाकेटीको नजिकै आउनुभयो । मुसुमुसु हाँसेर उभिरहनुभयो । केटाकेटीहरूलाई अचम्म लाग्यो । उनीहरू एकअर्काको मुखमा हेरिबसे ।
मिसले भन्नुभयो, ‘भोलि झोलामा अरू चीज पनि हालेर ल्याऊ है !’
मिसका कुरा सुनेर नानीहरू अलमल्ल परे ।
मिसले फेरि भन्नुभयो, ‘मलाई पनि तिमीहरूसँग खेल्न मन लागेको छ । मलाई सँगै खेलाउँदैनौ ?’
रमिला मिस हाँस्दै स्कुलतिर जानुभयो । टिफिन समय सकिएको घण्टी लाग्यो । नानीहरू आआफ्ना कक्षातिर लागे ।
अविधाले भनिन्, ‘ठूलाले पनि सानाका कुरा बुझ्दा रहेछन् नि है !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *