भाइबहिनीहरु,
नेपालको संविधानमा बालबालिका सम्बन्धी विभिन्न अधिकारको उल्लेख गरिएको छ । नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धी, १९८९ लाई सन् १९९० को सेप्टेम्बर १४ (विक्रम सम्वत् २०४७ भाद्र २९) मा अनुमोदन गरेको थियो । यही अवसरको सम्झनामा नेपालमा प्रत्येक वर्षको भाद्र २९ गते राष्ट्रिय बाल दिवस मनाउन थालिएको हो ।
भाइबहिनीहरु, तर नेपालमा गणतन्त्र स्थापना हुनुअघि भाद्र ४ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्थ्यो । तात्कालीन् मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह भारत लगायत अन्य विश्वका देशहरुको भ्रमणमा जानुभएको अवसरमा उहाँले ती देशका सरकारको तर्फबाट बालबालिकाका लागि धेरै काम भइरहेको देख्नुभयो । यही कुराबाट प्रभावित भएर उहाँले नेपाल फर्किएपछि नेपालमा असहाय बालबालिकालाई सहयोग गर्न नेपाल बाल संगठन नामक बालहितकारी संस्थाको स्थापना गर्नुभयो । नेपाल बाल संगठन बालमन्दिरको नामले चिनिन्छ । यो संस्थाले अनाथ र असहाय बालबालबालिकाको सेवा र संरक्षणका लागि लामो समयदेखि काम गर्दै आएको छ । यसरी विक्रम सम्बत् २०२१ सालमा त्यतिबेलाकी मुमा बडा महारानी रत्नको संरक्षकत्वमा बालमन्दिरको स्थापना भएपछि मुमा बडा महारानी रत्नकै जन्मदिन भाद्र ४ गतेलाई नेपालमा बालदिवसको रुपमा मनाउन सुरु गरिएको हो । पछि गणतन्त्र स्थापना भएपछि यो मितिलाई परिवर्तन गरी भाद्र २९ बनाइएको हो ।
भाइबहिनीहरु, नेपालमा असहाय बालबालिकाको संरुक्षणका लागि हातेमालो गरी काम गर्नुपर्छ भन्ने रत्न राज्यलक्ष्मी शाह नेपाली बालअधिकार जागरणको अगुवा हुनुहुन्छ । हामीले उहाँलाई सम्मान गर्नुपर्छ । हामी उहाँको योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
यस पटक हामीले यस लेखमा बालबालिका, बालअधिकार, नेपालको संविधानमा बालअधिकार लगायत विविध विषयमा चर्चा गरेका छौँ । यस सामग्रीमा तल उल्लेखित तथ्यहरु हामीले काठमाडाैँ महानगरपालिकाबाट तयार गरिएकाे पर्चाबाट साभार गरेका हाैँ । काठमाडाैँ महानगरपालिका, सामाजिक विकास विभागप्रति हार्दिक आभार प्रकट गर्दछाैँ ।
१) बालबालिका भन्नाले कसलाई बुझाउँछ ?
बालबालिका भन्नाले १८ वर्ष नपुगेका व्यक्तिलाई बुझाउँछ ।
२) बालअधिकार भनेको के हो ?
बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक विकासका लागि आवश्यक कुराहरु नै बालअधिकार हुन् । बालबालिकाहरुले आफ्नो बालअधिकार घर, परिवार, समुदाय र राज्यबाट प्राप्त गर्न सक्दछन् ।
बालअधिकारलाई ४ वटा पक्षहरुबाट सरल रुपमा बुझ्न सकिन्छ :
क. बाल बचाउ
यसमा बालबालिकाहरु ज्युँनका लागि चाहिने आधारभूत आवश्यकताहरु सम्बन्धी अधिकारहरु जस्तै ः बाँच्न पाउने, पौष्टिक आहार पाउने अधिकार, खोप, औषधी उपचार पाउने अधिकार, सुरक्षित जन्म, जन्मदर्ता गरिनुपर्ने अधिकार, सफा पानी पिउन पाउने अधिकार आदि पर्दछन् ।
ख. बाल संरक्षण
यसमा बालबालिकाहरुलाई बाह्य पक्षबाट संरक्षण गरिनुपर्नेसँग सम्बन्धित अधिकारहरु जस्तै ः गाली, कुटपिट, हेला, शोषणबाट संरक्षण, बालश्रम तथा यौनशोषणबाट संरक्षण, युद्ध, झगडा, बेचबिखनबाट संरक्षण, लागुपदार्थ, बालविवाह, हत्या अपरहणबाट संरक्षण आदि पर्दछन् ।
ग. बाल विकास
यसमा बालबालिकाहरुको शारीरिक, मानसिक तथा बौद्धिक विकाससँग सम्बन्धित अधिकारहरु जस्तै ः शिक्षा पाउने अधिकार, खेलकुद, मनोरञ्जनको अधिकार, जीवनोपयोगी सीप तथा कला सिक्ने अधिकार, स्वास्थ्य उपचार तथा सबै क्षेत्रको विषयमा जानकारी पाउने अधिकार आदि पर्दछन् ।
घ. बाल सहभागिता
यस अन्तर्गत् आफ्नो जीवनमा प्रभाव पार्ने निर्णयमा विचार राख्न पाउनु, सो विचारले उचित कदर र मान्यता पाउनु, निर्णयप्रक्रियामा भाग लिन पाउनु, विभिन्न सभा सम्मेलनमा भाग लिन पाउनु र समाजको हित हुने सामाजिक कार्यमा तथा सांस्कृतिक गतिविधिमा भाग लिन पाउनु, बालबालिकाको संगठन (बालक्लब) खोल्न पाउनु आदि अधिकारहरु पर्दछन् ।
३) नेपालको संविधानमा बालबालिकाका के कस्ता अधिकार छन् ?
- आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ताको अधिकार
- परिवार र राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा व्यक्तित्व विकासको अधिकार
- प्रारम्भिक बालविकास तथा बालसहभागिताको अधिकार
- कलकारखाना, खानी वा यस्तै जोखिमपूर्ण काममा लगाउन नपाइने
- बालबालिकालाई गैरकानुनी ओसारपसार तथा अपहरण गर्न वा बन्धक राख्न नपाइने
- सेना, प्रहरी वा ससस्त्र समूहमा भर्ना वा साँस्कृतिक वा धार्मिक प्रवचनका नाममा कुनै पनि माध्यम वा प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने
- घर, विद्यालय वा जुनसुकै स्थान वा अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने
- बालअनुकुल न्यायको हक हुने
- असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित वा जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने
- बालबालिकाको हक विपरितका कार्य कानुन बमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपुर्ति पाउने ।
४) बालबालिकाप्रति परिवार वा संरक्षकको दायित्व के के रहेका छन् ?
- बालबालिकाको हेरचाह पालन पोषण र वृत्ति विकासमा बाबुआमा दुवैको समान दायित्व हुने
- बालबालिकाको हेरचाह, पालन पोषण र संरक्षण, शिक्षा, स्वास्थ्य उपचार लगायतका व्यक्तित्व विकासको अवसर उपलब्ध गराउनुपर्ने
- बाबुआमा परिवारका अन्य सदस्य वा संरक्षकले विद्यालयमा जाने उमेरका प्रत्येक बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षा आर्जनका लागि समुचित वातावरण उपलब्ध गराउनु पर्ने
- बाबुआमा परिवारका अन्य सदस्य र संरक्षकले बालबालिकाको शिक्षा स्वास्थ्य तथा शारीरिक वा मानसिक विकासमा असर पर्ने गरी श्रममा लगाउन हुँदैन ।
- बाबु, आमा, परिवारका अन्य सदस्य वा संरक्षकले ६ वर्ष उमेर नपुगेका बालबालिका वा निवास वा अन्य स्थानमा एक्लै छोड्न वा एक्लै अन्यत्र पठाउन हुँदैन ।
५) बालबालिकाप्रति सञ्चारक्षेत्रको दायित्व के के रहेका छन् ?
बालअधिकारको उल्लङ्घन र बालबालिकाको हित प्रतिकुल नहुनेगरी सूचना तथा प्रसारण गर्नु सञ्चार क्षेत्रको दायित्व हुनेछ ।
६) के कस्ता बालबालिकालाई विशेष संरक्षणको आवश्यकता पर्छ ?
- अनाथ बालबालिका
- अस्पताल वा अन्य कुनै सार्वजनिक स्थानमा अलपत्र अवस्थामा छाडिएका वा फेला परेका, बाबुआमाबाट अलग भएका वा बाबुआमा पत्ता नलागी बेवारिसे भएका बालबालिका
- बाबुआमालाई गम्भीर शारीरिक वा मानसिक अपाङ्गता भएका कारण उचित हेरचाह नपाएका बालबालिका
- कानुनी विवादमा परेका बालबालिकामध्ये दिशान्तर प्रक्रिया अन्तर्गत वैकल्पिक हेरचाह नभएका बालबालिका
- थुनामा रहेका वा बन्दी बाबु वा आमासँग आश्रित भै कारागारमा रहेका बालबालिका
- जबर्जस्ती करणी वा कानुन बमोजिम सजाय हुने हाडनाताबाट जन्मिएको शिशुलाई आफूले पालनपोषण गर्न नसक्ने भनी बालकल्याण अधिकारी समक्ष निवेदन परेका
- बाबुआममा वा अभिभावकबाट दुर्व्यवहार, हिंसा वा बेवास्ता भएको कारणले बालबालिकाको उच्चतम हितका लागि परिवारबाट अलग गरिएका बालबालिका
- जबर्जस्ती वा बँधुवा प्रकृतिका वा जोखिमपूर्ण वा निकृष्ट प्रकृतिको वा प्रचलित कानुन विपरित श्रममा संलग्न भै जीवनयापन गरिरहेका, धुम्रपान, मद्यपान एवम् अन्य लागूऔषधको कुलतमा फसेका एचआइभी संक्रमित बालबालिका
- गम्भीर शारीरिक वा मानसिक स्वास्थ्य समस्या भएका वा गम्भीर किसिमका शारीरिक समस्या भएका र जीवन जोखिममा रही बाबु, आमा वा परिवारबाट उपचारको व्यवस्था हुन नसकेको वा सामान्य जीवनयापन गर्न कठिनाई भएका बालबालिका
- बालबालिकाविरुद्धको कसुरबाट पीडित भएका वा त्यस्तो जोखिममा रहेका बालबालिका
- विपद् वा सशस्त्र द्वन्द्वको कारणले बाबुआमा वा दुवै वा बाबु वा आमामध्ये एक गुमाएका बेपत्ता भएका वा शारीरिक वा मानसिक रुपमा घाइते भएका वा अपाङ्गता भएका बालबालिका
- तोकिएका अन्य बालबालिका
- ७) सरकारीस्तरमा बालबालिकाको हित तथा कल्याणका लागि कुन कुन निकाय वा संस्थाहरु कार्यरत छन् ?
- महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
- अदालतहरु
- राष्ट्रिय बालअधिकार परिषद्
- केन्द्रीय बाल न्याय समिति
- स्थानीय बालअधिकार समिति
- बालसुधारगृह, बालकल्याणगृह, बालगृह
- बालमन्दिर
१०) बालबालिकाको अधिकारसँग सम्बन्धित कानुनहरु कुन कुन हुन् ?
– नेपालको संविधान – बालबालिका सम्बन्धी ऐन, २०७५ – बालश्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६
– बालबालिका सम्बन्धी नियामावली, २०७६ – बालन्याय कार्यविधि, २०६३
११) बालबालिकामाथि हिंसा वा दुर्व्यवहार भएमा उजुरी कसरी गर्ने ?
यदि कोही बालबालिका आफू वा आफ्ना साथीलाई कोही कसैबाट घरमा, विद्यालयमा वा समुदायमा हिंसा अथवा दुव्र्यवहार भएमा वा देखेमा तुरुन्तै कुनै डर नमानी बाल हेल्पलाइनको पैसा नलाग्ने फोन नम्बर १०९८ (दश नौ आठ) वा बालबालिका खोजतलास केन्द्रको फोन नम्बर १०४ वा नेपाल प्रहरीको १०० मा डायल गरी जानकारी गराउनुहोस् ।
आफूमाथि कोही कसैबाट असहज छुवाइ वा असहज व्यवहार भइरहेको छ भने त्यसबारे आफ्नो घरमा अभिभावक, ठुला दाइदिदी वा विद्यालयमा शिक्षक र बालक्लबमा जानकारी गराउने बानी गरौँ । यसो गर्नाले आफू पनि सुरक्षित भइन्छ र आफ्ना साथीभाइहरुलाई पनि सुरक्षित राख्न सकिन्छ ।
बालमन्दिर सम्बन्धी थप जानकारीका लागि https://www.nconepal.org.np/