पढाइको माहात्म्य (किशोर–किशोरीलाई)

कविता साहित्य
  • मुकुन्द शर्मा

बनाइदेओ रमणीय धर्ती
कथा कहानी कविता सँगालौँ
विज्ञान वा ज्ञान कि ता अँगालौँ
पुराण जानौँ इतिहास रोजौँ
किताबका भित्र मिठास खोजौँ

मनुष्यको जीवन मूल्यवान् छ
विनाविचारै सकिएर जान्छ
यो तथ्य थाहा हुनका निमित्त
पढाइमा बन्नुछ एकचित्त

हामी कसैको वशमा नजाऔँ
किताबको नै रसमा रमाऔँ
त्यसो भए जीवन सार्थ हुन्छ
त्यो स्वार्थ चुन्दैन परार्थ चुन्छ

यो जीवनी एक ठुलो किताब
यही पढे उत्तम हुन्छ भाव
यिनै कुराको पनि जान्न मोल
किताव खोजी बरु पत्र खोल

लिएर आफ्ना गुरुका भनाइ
गरेर दैनन्दिन कार्यलाई
नयाँ नयाँ प्रश्न लिएर जाओ
हाँसी खुशी उत्तरसाथ आओ

पढाइमा हुन्छ कुनै उपल्लो
कुनै भने पाउँछ अङ्क तल्लो
जस्तो भए तापनि धैर्य लेओ
पढाइमै ध्यान लगाइदेओ

हेरी टिभीका रसरङ्ग धेर
सञ्जालपानातिर झुम्मिएर
नचाहिँदा नक्कलमा फँसेर
पुगिन्न कैल्यै पनि लक्ष्यनेर

बाटा तथा चोक समेत छेकी
गर्छन् यहाँ गर्जन निर्विवेकी
सुरक्क विद्यालयभित्र जाओ
फर्केर आफ्नै घरभित्र आओ

लिएर आलस्य भई लुरुक्क
ओछ्यानदेखिन् नउठी जुरुक्क
शरीर पोशाक लिएर मैला
पढाइमा को हुनसक्छ पैला

सधैँभरि स्वस्थ र चुस्त होओ
सफा र सर्लक्क दुरुस्त होओ
चलेर जैल्यै समयानुसार
होओ तिमी अब्बल जोडदार

चरेस गाँजा मदिरा नखाओ
उत्ताउला फेसनमा नजाओ
लिएर मर्यादित आनिबानी
पढाइमा खोज कथा कहानी

जताततै ईश्वरको निवास
यो जान्नुपर्नेछ पछाडि खास
पढ्नू महान् लक्ष्य लिएर खालि
हिँड्दै रहे आउँछ देउराली

सम्मान राखी गुरुवर्गलाई
पढाइले नाम बडो चलाई
उच्चाइले अम्बर ढाक्नुपर्छ
नेपालको गौरव राख्नुपर्छ

छौ बाबु नानी बहुतै चलाख
मेरो कुरा यो मनभित्र राख
किताबदेखिन् बटुलेर अर्ती
बनाइदेओ रमणीय धर्ती

Leave a Reply

Your email address will not be published.