हिलारी रोधाम क्लिन्टनः बहुप्रतिभाशाली महिला

Highlights जीवनी साहित्य

(जीवनी)

प्रस्तुति : प्रा.डा. अच्युतमणि आचार्य

हिलारी रोधाम क्लिन्टनको नाम तपाईँहरू धेरैले सुन्नुभएको होला । तर, उनको बाल्यकाल र स्वभावबारे हामी सबैलाई थाहा नहुन पनि सक्छ । उनी को हुन् ? उनको बाल्यकाल कस्तो थियो ? उनको रुचिको विषय के थियो ? लगायतका कुराको आज हामी चर्चा गरौँ ।

हिलारी सन् १९४७ अक्टोबर २६ का दिन संयुक्त राज्य अमेरिकाको सिकागोस्थित एलिनोयको एउटा अस्पतालमा जन्मिएकी हुन् । उनी आमा डोरोथी र बाबु हग ई. रोधामको प्रथम सन्तान हुन् । उनलाई आफ्ना बाबुआमाले एलिनोयको आफ्नो घरमा पालनपोषण गरे । उनको घरमा अत्यन्त सौहार्दपूर्ण वातावरण थियो । उनका बाबुआमाले आफ्नो परिवारिक सन्तुष्टिलाई अग्रपङ्क्तिमा राख्ने गर्दथे । हिलारीपछिका दुईजना भाइ पनि त्यही घरमा हुर्केका थिए । हिलारीलाई बाबुआमाले परिवारलाई सधैँ सम्मान गर्न, आफ्नो कामप्रति बफादार रहन र मानव सेवामा समर्पित रहन सानैदेखि सिकाएका थिए । उनको परिवारिक सुसंस्कारको फलस्वरुप विश्वको सबैभन्दा चर्चित महिला बन्न पुगिन् ।

आदरणीय लेखक अच्युतमणि आचार्य

उनी स्कुलमा पढ्दादेखि नै जेहेन्दार थिइन् । उनले स्कुलमा पढ्दा प्रायःजसो नेतृत्वको भूमिकामा उत्रिने गर्थिन् । स्कुलमा विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो विद्वता प्रस्तुत गर्थिन् । उनले गरिबहरूलाई खाद्यान्न बटुल्ने काम कयौँपल्ट गरेकी थिइन् । उनले विद्यार्थीहरूमाझ विद्यार्थीको सरकार गठन गरी आफैँ नेतृत्व गर्ने गर्थिन् । उनी सानैदेखि विभिन्न संघसंस्थाहरूको सदस्यता लिँदै आएकी थिइन् । उनी राष्ट्रिय सम्मान समाज (नेशनल अनर सोसाइटी), स्थानीय मेथडिस्ट समूह तथा (अमेरिकन गल्र्स स्काउट) को पनि सदस्य थिइन् । यी सबै संस्थाका लागि हिलारीले अग्रणी भूमिका खेलेकी थिइन् ।

हिलारीले सन् १९६२ अप्रिल १५ मा प्रख्यात् नेता मार्टिन लुथर किङ्गलाई भेट्ने मौका पाएकी थिइन् । जसबाट प्रभावित भएर समाजप्रति उत्तरदायी बन्न उनले थप प्रेरणा पाएकी थिइन् ।

१७ वर्षको उमेरमै हिलारीले सन् १९६४ को राष्ट्रपतीय चुनावमा कन्जरभेटिभ पार्टीका उम्मेदवार बेरी गोल्डवाल्टको लागि घरदैलो कार्यक्रममा सक्रिय भूमिका खेलेकी थिइन् । उनी सन् १९६५ मा आफ्नो स्कुले शिक्षा पार गरेर कलेजस्तरको शिक्षातर्फ लागिन् । उनले मनोविज्ञान र राजनीति शास्त्र विषय लिएर आफ्नो पढाइलाई निरन्तरता दिइन् । प्रथम वर्षमै उनी कलेजको रिपब्लिकन क्लबको अध्यक्ष पदमा निर्वाचित भइन् ।

हिलारीको जीवनमा अन्तरिक्षयात्री बन्ने लक्ष्य थियो । उनले नासा मा भर्ना हुन प्रयास गर्दा “महिलालाई प्रवेश छैन” भन्ने जवाफ पाएर उनी सामाजिक नेतृ हुन पुगेकी हुन् ।

सामाजिक हिंसा र अन्यायका कुराले उनलाई सानैदेखि पिरोली रहन्थ्यो । सन् १९६८ मा मार्टिन लुथर किङ्ग र बोबी केनेडीको हत्याले उनलाई साह्रै नरमाइलो लाग्यो । आफूले समाजमा केही नगरी नहुने सोच त्यतिखेरै उनले बनाइन् । यसै सोच अनुकूल उनले समाजमा न्यायिक काम गर्न याले स्कुल अफ ल मा कानुन विषय लिएर सन् १९६९ तिर आफ्नो अध्ययन सुरू गरिन् । उनको याले स्कुल अफ ल मा अध्ययन गर्ने क्रममै बालबालिका बचाउन र परिवारलाई सम्हाल्ने रुचि बढ्यो । बालबालिका राम्रो र भित्रैदेखि परिपक्व हुनका पछाडि बाबुआमा नै महत्वपूर्ण हुन् भन्ने उनको बुझाई थियो । बालबालिकासम्बन्धी काम गर्ने संस्था चिल्ड्रेन्स डिफेन्स फाउन्ड मा उनले केही समय काम गरिन् । यस्तै अध्ययन गर्दै कामलाई निरन्तरता दिई रहिन् । सन् १९७३ मा हिलारीले याले स्कुल अफ ल बाट नै डाक्टरको उपाधि पाइन् । त्यसै समयमा उनले बालबालिकासम्बन्धी नै काम गर्ने संस्था याले चाइल्ड स्टडी सेन्टर मा काम गरेकी थिइन् । सन् १९७४ मा हिलारी अर्कन्सास विश्वविद्यालयमा अध्यापन गराउन थालिन् । जहाँ उनले येल विश्वविद्यालयमा पढ्दाका सहपाठी विल क्लिन्टनसँग भेट्ने मौका पाइन् । उनले येलमा पढ्दा एकदिन पुस्तकालयमा पछाडि बसेर हिलारीलाई हेर्दै मुसुक्क हाँसिरहेका क्लिन्टनलाई सम्झिन् । त्यसको एक वर्ष नबित्दै विल र हिलारी विवाह बन्धनमा बाँधिए । सन् १९७८ मा उनी अर्कन्सास राज्यको राज्यपाल भएकी थिइन् । सन् १९९३ मा विल क्लिन्टन राष्ट्रपति पदमा निर्वाचित भएपछि उनी प्रथम महिला भइन् । यसै सालमा उनको नामबाट प्रथम पत्रिका निस्कियो । दि हिलारी क्लिन्टन क्वार्टरली भन्ने पत्रिका अमेरिकाको पहिलो महिला नामबाट प्रकाशित हुने प्रथम हो ।

हिलारी सामाजिक, न्याय र राजनीतिबाहेक लेखनमा पनि त्यत्तिकै सक्रिय थिइन् । उनले सन् १९९६ जनवरी १८ का दिन आफ्नो किताब इट टेक्स अ भिलेज एण्ड अदर लेसन्स आउर चिल्ड्रेन टिच अस प्रकाशित गरिन् । राजनैतिक सक्रियताको फलस्वरुप उनी अमेरिकन सिनेटमा सन् २००० मा निर्वाचित भइन् । उनको कार्यकौशलताको परिणामस्वरुप फेरि २००७ मा दोस्रोपल्ट फेरि सिनेटर भइन् । उनले आफ्ना सबै रुचिलाई मर्न नदिई कामको निरन्तरता दिई रहिन् ।

जतिसुकै व्यस्तता भए पनि आफ्नो परिवारलाई छुट्टै समय दिनुपर्छ भन्ने उनको मान्यता थियो । उनी ह्वाइट हाउसमा छँदा पनि आफ्नो सामाजिक जीवनबाट अलग्गै रहन परिवारको लागि छुट्टै व्यवस्था गरेकी थिइन् । उनको किताबमा बालबालिकाको लागि बाबुआमा नै सबैभन्दा उत्तरदायी हुन् भन्ने कुरालाई जोड दिइएको छ । उनले भनेकी छन्, “जुन घरमा आफ्ना बालबच्चालाई समय दिन कन्जुस्याईं गरिन्छ, त्यो घरमा कहिले शान्ति छाउँदैन ।”
समाजले पनि बच्चाबच्चीलाई हुर्काउन÷बढाउन अहम् भूमिका खेल्नुपर्छ भन्ने उनको ठम्याई थियो ।

हिलारीले बालबालिकाबाहेक अन्य विषयहरूमा पनि त्यत्तिकै आवाज उठाएकी छिन् । उनले आफू अमेरिकाको प्रथम महिला भएको बेला संसारभरिको भ्रमण गरेकी थिइन् । जसमा उनले मानवता, महिलाहिंसा लगायतका विषयमा आवाज उठाएकी थिइन् । आफू न्यायको विशेषज्ञ भएको र हरेक विषयमा प्रत्यक्ष अनुभव गरेको हुनाले उनलाई संसारभरिका सबै महिला एकै हुन् भन्ने भावना उत्पन्न हुन्थ्यो । पुरुष र महिलाबीचको भेदभावको अन्त्य हुनुपर्ने उनको जोडदार माग थियो । उनले स्वास्थ्य, शिक्षा तथा रोजगारजस्ता विषयलाई प्राथमिकताका साथ उठाउने गर्थिन् । यस्तै गुणहरूका कारणले हिलारीलाई आफू पराजय हुँदा पनि ओबामाको सरकारमा सामेल गराइएको थियो । उनी सन् २००९ जनवरी २९ का दिन बाराक ओबामा सरकारको ६७ औँ राज्यसचिवको पदमा नियुक्त भएकी थिइन् ।

यी सबै क्षमताका अतिरिक्त हिलारी क्लिन्टनले कलालाई असाध्यै माया गर्थिन् । उनलाई मूर्तिकला सबैभन्दा मनपर्ने कला हो । उनको क्लिन्टनसँगको पहिलो भेट नै येल विश्वविद्यालयको मूर्ति नै मूर्ति भएको बगैँचामा भएको थियो । यसरी नै हिलारी एलिनोर रोसमेल्टपछिको बहुचर्चित महिला नेतृ साबित भइन् । अमेरिकाको इतिहासमा त्यति नाम कमाउने महिलामा हिलारी जत्तिको सायदै होलान् । अहिले पनि आफूलाई समाजप्रति उत्तरदायी बनाएर जीवन प्रतिबद्धताका साथ बिताइरहेकी छिन् । छोरीको विवाहपछि उनी पतिपत्नीमात्र सँगै बस्दै आएका छन् । हिलारीबाट हामीले प्रेरणा पाउने धेरै गुणहरू छन् ।

Leave a Reply

Your email address will not be published.