प्रश्न सोध्ने बालबालिका नै असल र सफल हुन्छन् : शान्तदास

Featured Highlights अन्तर्वार्ता तस्बिरको कथा मेरो आवाज विचार

(आदरणीय लेखक शान्तदाससँग बालप्रतिभा नयनले गर्नुभएको कुराकानी । भर्खरै दिवंगत हुनुभएका अग्रज लेखक शान्तदासको यो अन्तर्वार्ता सम्भवत अन्तिम अन्तर्वार्ता हुनसक्छ । लेखक शान्तदासप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना साथ यो कुराकानी प्रस्तुत गरेका छौँ ।)

‘बालबालिकासँग लेखक’ कुराकानीमा यस पटक बालसाहित्य रत्न शान्तदाससँग कुराकानी गरेका छौँ । वि.सं. १९९१ जेठ दशमीमा झोँछे, काठमाडौँमा जन्मनुभएका शान्तदास नेपाली बालसाहित्यका अत्यन्त आदरणीय एवम् सम्माननीय लेखक हुनुहुन्छ । बालसाहित्य लेखन, सम्पादन, अनुवाद र बालपत्रिका सम्पादनको कार्यबाट नेपाली बालसाहित्यको उचाइ बढाउन उहाँले गर्नुभएको योगदान विशिष्ट रहेको छ ।

यस पटक हामीले वृहस्पति विद्यासदन, नक्साल, काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छात्र नयन घिमिरेले गर्नुभएको कुराकानीलाई प्रस्तुत गरेका छौँ ।

१. नयन : तपाईलाई बालसाहित्य के हो जस्तो लाग्छ ?
शान्तदास : बालसाहित्य बालबालिकाहरूका पक्षमा र उहाँहरूको हितका लागि तयार पारिएको साहित्य हो । यसले बालबालिकाको सबल पक्षको वकालत गर्दछ भने दुर्बल पक्षबाट मुक्त हुन मित्रवत् भई बालबालिकाहरूलाई सघाउँछ ।संसारको भविष्यप्रति आशावादी हुने हो भने हामीले बालजगत्को संरक्षणका लागि मनग्ये काम गर्नुपर्छ । नयाँ पुस्ताका लागि नयाँ र वैज्ञानिक बाटो उघार्नु नै एउटा बालसाहित्य लेखकको प्रमुख कर्तव्य हो । बालजगत्ले बेहारिरहेका समस्याहरूलाई यथार्थ रूपमा पाठकहरूसमक्ष प्रस्तुत गर्ने र बालहितको पक्षमा फैसला होस् भनेर जिक्री अघि सार्ने काम असल बालसाहित्यले गर्दछ । बालसाहित्य बालबालिकाको मन छुने, पढ्दा अल्छी नलाग्ने हुनुपर्छ । आफ्नो देशका नयाँ र नौला बालसाथीहरूको विषयमा रचना गरिएको साहित्य उत्कृष्ट बालसाहित्य हो ।

२. नयन : तपाईँलाई बालसाहित्य लेख्न केले प्रेरणा दियो ?
शान्तदास : बालबालिकाहरू नै मेरो लेखनका प्रेरणा हुन् । जब मैले धेरै कुराहरू पढ्न थालेँ । त्यसपछि मलाई पनि बालसाहित्य लेख्ने प्रेरणा हौसला बढ्दै गयो । समाजमा बाँचिरहेका बालबालिकाको जीवनलाई हेरेर र पढेका धेरै किताबहरू नै बालसाहित्य लेखनका प्रेरणा हुन् ।

३. नयन : तपाईलाई मनपरेका आफ्ना ४ किताबहरू कुन कुन हुन् ?
शान्तदास : मेरा कृतिहरू मेरा सन्तान हुन् । एउटी आमाका लागि सबै सन्तानको माया बराबर हुन्छ । तसर्थ एउटी आमा (सर्जक) लाई यो प्रश्न सोधिनु हुन्न । मलाई मेरा सबै सन्तान प्रिय लाग्छन् ।

४. नयन : विद्यालय पढ्दा तपाईँका मनपर्ने खेलहरू कुन कुन थिए ?
शान्तदास : म विद्यालयमा पढ्दा कपर्दी र लुकी डुम खेल्थेँ । भोगटेको बल बनाएर फुटबल नि म खुब खेल्थेँ ।

५. नयन : तपाईँले विद्यालयमा कुनै प्रतियोगितामा भाग लिएर पुरस्कार जित्नुभएको थियो ?
शान्तदास : म विद्यालयमा पढ्दा प्रतियोगिताहरू नै हुँदैनथे । कक्षामा प्रथम भएको बेला कपी र कलम दिने चलन थियो । आजभन्दा ७५ वर्ष अघिका विद्यालय कहाँ अहिलेका जस्ता थिए र ! त्यतिबेला प्रतिभा प्रस्तुत गर्ने मञ्च अहिलेको जस्तो हुँदैनथ्यो । पढ्नु र घर फर्किनु नै विद्यालय जानुको उद्देश्य हुने गर्दथ्यो ।

५. नयन : बालबालिकाले बालसाहित्य किन पढ्नुपर्छ ?
शान्तदास : ज्ञान, मनोरञ्जन र प्रेरणा लिनका लागि बालबालिकाले किताब पढ्नुपर्छ । असल किताबले बालबालिकालाई अरूको दु:ख महसुस गर्न सक्ने सफा मन भएको सहयोगी र असल मान्छे बन्न मद्दत गर्दछ । त्यसैले असल मान्छे बन्न पनि बालबालिकाले असल बालसाहित्यका किताब पढ्नुपर्छ ।

६. नयन : तपाईँलाई लेख्ने विषयहरू कहाँबाट आउँछ ?
शान्तदास : समाजलाई हेरेर अनुभव गरेपछि समाजमै रहेका बालबालिकाबाट मलाई लेख्ने विषयहरू प्राप्त हुन्छन् । मान्छेको मनपर्ने कुरा मन नपर्ने कुरा अध्ययन गर्दै गएपछि रुचिका कुराहरू छनोट गरी लेखनका विषयहरू बनाउँछु ।

७. नयन : अहिलेका बालबालिकालाई के भन्न चाहनुहुन्छ ?
शान्तदास : बढीभन्दा बढी प्रश्न सोध्नुहोस् भन्न चाहन्छु किनकि प्रश्न सोध्ने बालबालिका नै असल र सफल बन्न सक्छन् । प्रश्न नगर्ने बालबालिकाहरू जीवनमा पछि पर्छन् । त्यसैले हरेक विद्यार्थीले धेरैभन्दा धेरै प्रश्न सोध्ने बानी गर्नुपर्छ । आफूले आफैँसँग प्रश्न गर्ने, शिक्षकसँग प्रश्न गर्ने र आफ्ना हरेक जिज्ञासामा सबैसँग प्रश्न गर्ने बालबालिका नै असल बालबालिका छन् । ती असल बालबालिका नै भोलिका सफल नागरिक बन्नेछन् ।

८. नयन : तपाईलाई विद्यालयमा पढ्दा गारो हुन्थ्यो हो ?
शान्तदास : हरेक विद्यार्थीलाई पढ्न गारो हुन्छ । मलाई पनि गारो हुन्थ्यो । तर हामीले पढाईलाई अभ्यास गर्दै गयौँ । छलफल गर्दै पढ्दै गयौँ भने विद्यालयको पढाइ पनि सजिलो हुँदै जान्छ । त्यसैले अभ्यास गर्ने र मिहिनेत गर्नेहरूका लागि केही समय विद्यालयको पढाइ गारो भएपछि पढ्दै गएर बानी पर्दै गएपछि सजिलो हुँदै जान्छ । अनि पढाइ पनि जीवनमा गरिने एउटा नियमित कामजस्तै बन्दै जान्छ । काम गारो भएपनि हामी गरेर पूरा गर्छौँ नि । त्यस्तै पढाइ गारो भएपनि हामीले मिहिनेत गरेर अभ्यास गरी पूरा गर्नुपर्छ । अर्थात् जान्ने र बुझ्ने विद्यार्थी बन्नुपर्छ ।

शान्तदासलाई बालसाहित्य रत्न उपाधि सहितको सम्मान पत्र प्रदान गर्नुहुँदै विभिन्न बालसाहित्य संगठनका प्रमुखहरु ।
(फोटोमा बायाँबाट क्रमश: माथिल्लो लहरमा कार्तिकेय घिमिरे, भक्त राजभण्डारी, रामबाबु सुवेदी, शान्तदास, प्रमोद प्रधान, भोला श्रेष्ठ, सुमन केसी ।
तल्लो लहरमा क्रमश: केदार श्रेष्ठ, ध्रुव घिमिरे, विजयराज आचार्य ।