नारा (लघुकथा) – विष्णु भण्डारी आचार्य 

Featured Highlights कथा साहित्य

‘हाम्रो विद्यालय बालमैत्री विद्यालय हो ।’

विद्यालयको भित्तामा अर्को नारा पनि थियो‘बालिकामाथि हुने हिंसा अन्त्य गरौँ ।’ 

हरेक वर्ष बाल दिवसमा प्रधानाध्यापक यही नारा गर्वका साथ दोहोर्‍याउँथे ।

एक दिन कक्षा नाै की रमिला विद्यालय आउँदा गेटमा खटिएका कर्मचारीले उनलाई घुरेर हेर्दै भने, “आज त निकै राम्री देखिएकी छौ !”

रमिला असहज भइन् । 

केही दिनपछि उही कर्मचारीले बाटो छेकेर अनावश्यक प्रश्न गर्न थाले। उनले साथीहरुलाई सुनाइन् । रमिलासहित केही साथीहरु भएर विद्यालय प्रशासनकहाँ पुगे।

उनीहरुको कुरा सुनेपछि प्रधानाध्यापकले भने, “हाम्रो विद्यालयमा यस्तो हुनै सक्दैन। यो त बालमैत्री विद्यालय हो !”

रमिलाले भित्तातिर हेर्दै भनिन्, “सर, भित्ताको नारा त बालमैत्री रहेछ, गेटमा उभिने मान्छेचाहिँ किन बालमैत्री भएन ?”

प्रधानाध्यापक मौन भए ।

कर्मचारीलाई बोलाइयो । उनले हाँस्दै भने, “मैले त जिस्किएको मात्र हो । आजकलका केटीहरू पनि कुरा बढाइहाल्छन् ।”

रमिलाले दृढ स्वरमा भनिन्, “हामीलाई जिस्क्याउने अधिकार कसैलाई छैन । विद्यालय पढ्ने ठाउँ हो, कसैले अनावश्यक कुरा साेध्ने र डर बाेकेर हिड्ने ठाउँ होइन ।”

भोलिपल्ट गेटमा नयाँ सूचना टाँसियो ।

‘बालमैत्री विद्यालय नाराले होइन, सुरक्षित व्यवहारले बन्छ।’

भित्तामा पुरानै नारा थियो। तर त्यस दिनदेखि विद्यालयले नाराको अर्थ बुझ्न थाल्यो।

 रमिला र उनका साथीहरु  निर्थक्क विद्यालय जाने आउने गर्न थाले ।

बेलबारी माेरङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *