समिट साहित्य महोत्सव सम्पन्न

Uncategorized

काठमाडौं, असार २८। न्यू समिट सेकेन्डरी स्कूलमा आइतबार वार्षिक समिट साहित्य महोत्सव” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा साहित्यकार ललिता शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

महोत्सवमा विद्यार्थीहरूले नृत्य, कविता वाचन, निबन्ध तथा कथा वाचनजस्ता विविध साहित्यिक तथा सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। साथै आदिकवि भानुभक्त आचार्यको जीवनमा आधारित नाटक मञ्चनले दर्शकको विशेष ध्यान आकर्षित गरेको थियो। कार्यक्रममा अभिभावकहरूको समेत उत्साहजनक तथा रोमाञ्चक सहभागिता रहेको थियो।

विद्यालयका प्रधानाध्यापक रुपेन्द्र पोखरेलले नेपाली भाषा, साहित्य र संस्कृतिले विद्यार्थीको सर्वाङ्गीण विकासका साथै समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले विद्यालयले हरेक वर्ष साहित्य महोत्सवलाई अनिवार्य कार्यक्रमका रूपमा निरन्तर आयोजना गर्दै आएको बताउनुभयो।

प्रमुख अतिथि साहित्यकार ललिता शर्माले कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका साहित्यिक कार्यक्रमहरू अत्यन्त उत्कृष्ट रहेको उल्लेख गर्दै विशेषगरी पूर्वप्राथमिक तहका साना विद्यार्थीहरूले समेत आत्मविश्वासका साथ कविता वाचन गरेको देख्दा आफू अत्यन्त उत्साहित भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले बालबालिकामा भाषा, साहित्य, सिर्जनशीलता तथा आत्मविश्वासको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले यस्ता साहित्यिक गतिविधिमार्फत विद्यार्थीहरूमा नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिप्रतिको रुचि र सम्मान अभिवृद्धि गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *