भिटामिन ‘ए’ भनेको के हो ?

Featured Highlights ज्ञानविज्ञान तस्बिरको कथा मेरो आवाज स्वास्थ्य

आँखाको देख्ने शक्तिलाई सधै स्वस्थ र तन्दुरुस्त राख्न र शरीरलाई विभिन्न प्रकारका संक्रामक रोगहरूबाट
बचाई राख्न भिटामिन ‘ए’ आवश्यक पर्दछ । यो मानिसको शारीरिक र मानसिक विकासका लागि नभई नहुने
तत्व हो । भिटामिन ए को कमीले गर्दा नेपालमा प्रतिदिन एकजना बालबालिका अन्धो हुने गरेको कुरा पत्ता
लागेको छ ।

भिटामिन ‘ए’ केबाट पाइन्छ ?
भिटामिन ‘ए’ का जम्मा दुईवटा स्रोत छन् : जनावर र वनस्पति ।

१. जनावर
माछा, मासु, दूध, नौनी, मक्खन, अण्डा, कलेजो, चीज, माछाको तेल, आमाको दूध आदि । यी खानाहरूमा
पूर्ण तयारी अवस्थाको भिटामिन ‘ए’ पाइन्छ । यसलाई हाम्रो शरीरले सिधै सोसेर शरीरमा प्रयोग गर्दछ ।

२. वनस्पति
गाढा हरिया सागपातहरू जस्तैः सिस्नु, कर्कलो, पालुंगो, धनियाँको पात, चम्सुर, लोडे, लट्टे, बेथे, खोले साग, रायो साग आदिमा भिटामिन ‘ए’ पाइन्छ । जस्तैः आँप, मेवा, गाँजर, फर्सी आदि पहेंला र राता फलपूmलहरूमा पनि भिटामिन ए पाइन्छ । यिनीहरूबाट पाइने भिटामिन ए लाई हाम्रो शरीरले सिधै भिटामिन ए को रुपमा प्रयोग गर्न सक्दैन किनकि यो पूर्ण तयारी अवस्थामा हुँदैन । यसलाई पाचन प्रणालीले सोसेर लिएपछि रासायनिक प्रक्रियाद्वारा भिटामिन ए मा परिवर्तन गर्दछ । भिटामिन ए पानीमा नघुल्ने र चिल्लो पदार्थमा मात्र घुल्ने हुँदा तरकारी पकाउँदा केही तेल वा घ्यू राखेर मात्र पकाउनुपर्दछ । नत्र हाम्रो शरीरले सोस्न सक्दैन । कुखुराको फुल, दुध, घ्यू, आदिमा भन्दा गाउँघरमै पाइने हरिया सागपातमा धेरै गुणा बढी भिटामिन ए पाइन्छ ।

भिटामिन ‘ए’ ले के काम गर्छ ?
– शरीरमा रोगसंग लड्ने क्षमता बढाउँछ र संक्रामक रोगहरूबाट बचाउँछ ।
– यसले शरीरको बृद्धि र विकास गर्ने खाना तथा हड्डी बलियो बनाउने क्याल्सियम जस्ता तत्वहरू सोसेर लिन सहयोग गर्दछ ।
– यसले शरीरको छालालाई सधै बलियो, चिल्लो र स्वस्थ बनाउँछ ।
– गर्भावस्थामा शिशुको विकासमा मद्दत पुर्याउँछ ।
– विद्यार्थीरूलाई रतन्धो तथा पूर्ण रुपमा अन्धो हुनबाट बचाउँछ, साथै आँखालाई स्वस्थ राखी दृष्टि क्षमता बढाउँछ र पढाईमा राम्रो प्रगति गर्न सक्छ ।
यसले बालबालिकाहरूमा झाडापखाला, दादुरा र कुपोषणजस्ता समस्याहरूबाट बचाउन मद्दत गर्छ र समस्या आइहालेमा पनि अरू खराब हुनबाट बचाउँछ ।
– यसले फलाम तत्वको शोषण वा पाचनमा पनि सहयोग पुर्याउँछ ।
भिटामिन ‘ए’ को कमी भएमा के हुन्छ ?
दैनिक खाने खाना वा खाद्य पदार्थमा लामो समयसम्म भिटामिन ए को कमी भएमा विभिन्न प्रकारका स्वास्थ्य समस्याहरू देखा पर्दछन् । जस्तै :
– रतन्धो अथवा रतौनी (साँझ परेपछि आँखा देख्न नसक्ने ) हुन सक्छ ।
– रतन्धो लामो समयसम्म रहेमा कहिल्यै निको नहुने गरी अन्धो हुन सक्छ ।
– शरीरमा रोगसंग लड्ने क्षमता कम भई छाला तथा शरीरका अन्य भागमा विभिन्न प्रकारका संक्रामक रोगहरूले तुरुन्त आक्रमण गर्न सक्छन् ।
– बारम्बार झाडापखाला लागेर मृत्यु हुन सक्छ ।
– दादुराले सिकिस्त पार्न सक्छ ।
– कुपोषण भई मृत्यु हुन सक्छ ।
रतन्धो भएमा के हुन्छ ?
यो रोग लागेको मानिसले दिनको उज्यालो प्रकाशमा राम्रोसंग देख्न सक्दछ तर जब सूर्य अस्ताउँछ र साँझ पर्न थाल्छ तव राम्रोसंग देख्न सक्दैन । साँझको झिसमिसे वा मधुरो प्रकाशमा देख्न नसक्ने भएकोले नै यसलाई रतन्धो वा रतौनी भनिएको हो । लामो अवधिसम्म नियमित रुपमा भिटामिन ए नपाएमा बालबालिकादेखि किशोर किशोरी र वयस्कहरूलाई समेत यो रोग लाग्दछ । रतन्धो भई सकेपछि यसको समयमै उपचार गरिएन भने मानिस पूर्ण रुपमा अन्धो हुनसक्छ ।
रतन्धो हुनुका कारणहरू के के हुन् ?
– भिटामिन ए युक्त खानेकुराहरू नियमित रुपले नखानु ।
– बालबालिकाहरूमा जूका, झाडापखाला, आउँ, दादुरा रोगहरू
लागेर उनीहरूको शरीरले भिटामिन ए प्राप्त गर्न नसक्नु ।
– बालबालिकाहरूमा रुन्चे र सुकेनास जस्ता गम्भीर कुपोषण
भएको बेलामा उनीहरूलाई बढी मात्रामा भिटामिन ए को
आवश्यकता पर्दा पर्याप्त भिटामिन ए भएका खाद्य पदार्थहरू
नखुवाउनु ।
– गर्भवती र सुत्केरी आमाहरूले आवश्यक मात्रामा भिटामिन ए नखानु ।
रतन्धोका लक्षणहरू के के हुन् ?
– बाहिरको उज्यालोबाट भित्र मन्द उज्यालोमा पस्दा पूरै अध्यारो भई केही पनि नदेख्ने ।
– शुरुमा आँखामा पीडा हुने र हेर्नका लागि बढी जोड पर्ने जस्ता लक्षणहरू बढी देखापर्ने ।
– लाल्टिन, सानो टुकी, मैनवत्ती आदिको उज्यालोमा पनि कुनै वस्तु ठम्याउन वा राम्रोसँग चिन्न
नसक्ने ।
– रतन्धो भएका व्यक्तिहरूले रातपरेपछि आफ्नै अगाडि राखेको खाना, सामान पनि छामेर मात्र पत्ता
लगाउने ।
– आँखाको नानीमा र बाहिर पट्टीको सेतो भागमा समेत नराम्रो असर पार्दछ । यस अवस्थामा उपयुक्त
उपचार नपाएमा अन्धो समेत हुने ।

के के उपायहरू गरेमा रतन्धोको रोकथाम गर्न सकिन्छ ?
– गर्भवती र सुत्केरी आमाहरूलाई समान्य भन्दा बढी परिमाणमा भिटामिन ए भएको खाद्य पदार्थहरू
खान दिनुपर्दछ ।
– स–साना बालबालिका र विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई नियमित रुपमा भिटामिन ए पाइने खानेकुराहरू जस्तै हरियो सागपात, अण्डा र राता पहेंला फलपूmलहरू खुवाउनु पर्दछ ।
– बालबालिकाहरूलाई लामो समयसम्म झाडापखाला, दादुराजस्ता संक्रामक रोगहरू लागेको समयमा भिटामिन ए युक्त खाद्य पदार्थका साथसाथै भिटामिन ए को क्याप्सुल पनि खुवाउनु पर्दछ ।
– सुकेनास र फुकेनास जस्ता कुपोषण भएको समयमा त्यसको उपचार गराउनुको साथै भिटामिन ए पाइने खानेकुरा र भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ ।
– आँखाको महत्व र भिटामिन ए को कमीबाट हुन सक्ने अन्धोपनबाट बच्ने उपाय तथा रोकथामका उपाय बारेमा विद्यालय र समुदायमा व्यापक स्वास्थ्य शिक्षा दिनुपर्दछ ।

कस्तो अवस्थामा भिटामिन ‘ए’ क्याप्सुल खुवाउनु पर्छ ?
– साँझपख वा राती आँखा नदेख्ने रोग रतन्धो-रतौनी भएमा ।
– आँखाको सेतो भागमा साबुनको फिज जस्तो दाग (विट्ट स्पट) देखा परेमा ।
– आँखाको देख्ने पर्दा (केराटोमालेसिया) नष्ट भएमा ।

आँखामा भिटामिन ‘ए’ का लक्षणहरू नदेखिए तापनि रोकथामको निम्ति निम्नानुसारको अवस्थामा भिटामिन ‘ए’ एक्याप्सुल खुवाउनु पर्छ :
– दादुरा आएका बालबालिकाहरूलाई
– अति कुपोषित बालबलिकाहरूलाई
– चौध दिनभन्दा बढी समयसम्म झाडापखाला लागेका बालबालिकाहरूलाई ।

स्रोत : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखा, पोषण शाखा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *