वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Featured Highlights राष्ट्रिय समाचार

रासस

काठमाडौं/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले वैशाख ६ र ७ गते बिहीबार र शुक्रबार पाँच वर्षमुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
भाेलि बिहीबार र पर्सी शुक्रबार दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।

विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले करिब ३२ लाखलाई भिटामिन ‘ए’ र करिब २९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको जानकारी दिनुभयो ।

‘हरेक वडामा स्वास्थ्य स्वयंसेविकाहरूले बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाउने छन्,’ उहाँले भन्नुभयो, ‘अभिभावकले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन सक्नुहुन्छ ।’

कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मीहरुले खटिएर काम गर्नुहुने भएको थापाले जानकारी दिनुभयो ।

सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ । भिटामिन र जुकाको औषधिले स्वास्थ्य जटिलता र कुपोषणको जोखिम न्यूनीकरण गर्ने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *