मेरी छोरीलाई तेस्रो जन्म दिवसको शुभकामना पत्र

Featured Highlights साहित्य
  • सिर्जना खड्का

प्यारी छोरी भाषा,

तेस्रो जन्मदिनको शुभकामना !

आमा हुम डु यु लभ द मस्ट ? भनेर तोते बोलीमा सोध्न थालेको पनि २/४ महिना भएछ । म कसरी तिमीलाई मेरो मायाको परिभाषा दिउँ छोरी?  तिमीले केवल अहिले महसुस मात्र गर्न सक्छौं हाम्रो मायालाई ।

 नानी आज तिम्रो तेस्रो जन्मदिन । ओहो, समयले कत्ति चाँडै नेटो काट्यो है ।  बिस्तारै तिमी ठुली हुँदै छौं, हिजोआज गीत गाउने, नाच्ने, साथी बनाउने र बिन्दास भएर खेल्न अनि हाँस्न थालेकी छौं । तिम्रो बालसुलभ मुस्कानले सबैलाई मोहित बनाउँछौं । हरेक कुराहरु प्रयास गरी आफैँ गर्न चहान्छौं । तिमी आजभोलि गुलाबी र निलो रंग मन पर्नुका साथै जंगल सफारी, वाईल्ड लाईफ हेर्न र पेन्ट गर्न औधी मन पराउँछौं । छोरी तिमी ठ्याक्कै तिम्रो बा जस्तै देखिन्छौं, तर म कहिलेकाहीं तिम्रो आँखा अनि मुस्कानमा आफूलाई देख्छु ।

 सधैं जसो तिमीलाई मनपर्ने गीत गाउँदै सुताउने क्रममा तिम्रो जन्मदिनको सन्दर्भमा केही लेख्न मन लाग्यो, नानी तिमी अहिले सानै छौं र यो पत्रको अर्थ पूर्ण रुपमा बुझ्दैनौ, तर जब तिमी ठुलो हुनेछौं मैले तिम्रो लागि लेखेका यी शब्दहरुले तिमीलाई सधैं मार्गदर्शन गर्नेछन् भन्ने आशा गरेकी छु ।

   प्रिय भाषा, तिम्रो सानो संसार बिस्तारै ठुलो हुदैछ र तिमी धेरै नयाँ कुराहरु सिक्दैछौ । जिवन सधैं सोचे जस्तो सहज हुँदैन । यसमा अनेकौं उतारचढाव र चुनौतीहरु आउँछन् । तर, समस्याहरुसँग डराएर भाग्ने होइन, चुनौतीहरुको डटेर सामना गर्नु । असफलताले पनि तिमीलाई केही न केही नयाँ पाठ सिकाएको हुन्छ त्यसैले आत्मविश्वास कहिल्यै कमजोर हुन नदिनु । छोरी, किताबी ज्ञान मात्र पर्याप्त हुँदैन जिवनमा, व्यवहारिक रुपमा पनि समझदार बन्नू । सधैं नयाँ कुराहरु सिक्ने र आफ्नो व्यक्तित्वलाई निखार्ने प्रयास गर्नु । ज्ञान नै त्यस्तो शक्ति हो जसले तिमीलाई सही र गलत छुट्याउन मद्दत गरी जीवनमा अघि बढ्न मार्गनिर्देशन गर्छ ।

    अनि छोरी, आफ्नो शारीरिक र मानसिक स्वास्थ्यलाई सधैं प्राथमिकतामा राख है । जीवनका हरेक निर्णय आफैं लिन सक्ने आँट गरी आफ्नो अधिकार र स्वतन्त्रताको रक्षा आफैं गर । तिम्रो जीवन आफ्नै सर्त र नियमहरुमा अघि बढोस्, गलत कुराको अगाडि कहिल्यै शिर नझुकाउनु, न्यायको पक्षमा उभिनु ।  छोरी यो संसारमा तिमी छोरा सरह समान छौं । अवसर, शिक्षा र सपनाहरुमा तिम्रो बराबरी हक छ, यो कुरा सधैं मनन् गर है ।

मेरी छोरी, तिम्रो शरीर र भावनाको मालिक तिमी आफैं हौं । यदि कसैले तिमीलाई अंकमाल गर्दा तिम्रो नजिक आउँदा तिमीलाई अप्ठयारो लाग्छ भने तिमीले सिधै नाइँ वा हुँदैन भन्न पाउँछौं । चाहे ती कोही नजिकका आफन्त हुन् वा साथीहरु तिमीलाई मन नपर्ने कुरामा रोक्ने अधिकार तिम्रो हो ।

   तिमी मेरो जीवनको सबैभन्दा ठुलो खुशी हौं । मलाई विश्वास छ छोरी तिमीले आफ्नो जीवनमा यी कुराहरुलाई आत्मसात गर्दै अघि बढ्नेछौं । हामी सधैं तिम्रो हिम्मत बनेर साथमा उभिनेछौं । तिम्रो सुख्द बाल्यकालको कामना सहित उज्जवल भविष्यको शुभकामना मेरी राजकुमारी ।

धेरै माया अनि आशिष

तिम्रो आमा र बाबा

Leave a Reply

Your email address will not be published. Required fields are marked *