मैले धेरै वर्ष झुम्राको बल खेलें – वरिष्ठ साहित्यकार रामबाबु सुवेदी

मेरो बाल्यकाल साहित्य

रामबाबु सुवेदी वरिष्ठ साहित्यकार हुन् । यिनी छन्दमा राम्रा-राम्रा कविता र गीत लेख्न सिपालु साहित्यकार पनि हुन् । यिनै आदरणीय साहित्यकार सुवेदीसँग यस अंकमा हामीले उनको बाल्यकालवारे कुराकानी गरेका छौं । उनी यसरी सुनाउँछन् आफ्नो बाल्यकालको कथाः


मेरी आमाको नाम पवित्रा सुवेदी (घिमिरे) हो र बाको नाम देवीदास सुवेदी हो । मेरी बहिनीको नाम पार्वती न्यौपाने (सुवेदी) हो ।
मेरो न्वारानको नाम झलकनाथ हो, दोस्रो नाम वसन्त हो । मेरो खास नाम बाबुराम थियो तर मेरो गाउँको अर्को एकजना भाइको नाम पनि बाबुराम भएको हुँदा मेरा गुरु गोविन्द बरालले मेरो नामको अक्षरलाई उलटपुलट पारेर मेरो नाम रामबाबु बनाइदिनु भयो । त्यसपछि म रामबाबु भएँ । साहित्यमा मेरो नाम राजीव पनि हो ।

मेरो गाउँको नाम हंसपुर हो । यो कास्की जिल्लामा पर्छ । मादी नदीको छेउमा मेरो रमाइलो गाउँ छ । उत्तरमा अन्नपूर्ण हिमाल, पश्चिममा रुपा र बेग्नासताल, काखमा पास्तो खोलो र घना जंगल रहेको छ । काफल, ऐंसेलु, चुत्रो, जामुनो, तिँदु, कटुस र दक्यौली जस्ता फलहरु मैले थुप्रै खाएको छु । म सानो छँदा मेरो गाउँमा सुन्तला र आँप पनि टन्नै थिए ।

मेरो गाउँमा बाहुन, क्षेत्री, गुरुङ, मगर, कामी, सार्की आदि जातिको बसोबास छ । ती नङ र मासु झै मिलेर बसेका छन् । यिनै जातिका बालुन, सोरठी, भजन, चुड्का, ठाडोभाका, रोदी आदिले मेरो कलिलो मनमा ठूलो प्रभाव पारेका हुन् । दशैं, तिहार, तीज र रतेलीको रमाइलो वातावरणको मज्जा पनि मेरो मनमा ताजा छँदैछ ।

म सानो छँदा मेरो गाउँमा कुनै विद्यालय थिएनन् । त्यतिखेर गाउँमा पीँढीशिक्षा (कसैको पीँढीमा पढाइने शिक्षा) को चलन थियो । मेरा गुरु वृहस्पति न्यौपानेले मलाई पीँढीमै अक्षर चिनाउँनु भएको हो । मैले पेचबहादुर गुरुङ र गणेश श्रेष्ठ गुरुहरुसँग चौतारीमा पढ्न पाएँ । त्यसपछि गुरु स्थानानाथ न्यौपाने र छँगेनी रुद्रनाथसँग मैले कटेरा-झुप्रोमा पढें । त्यसपछि मैले पोखराको संस्कृत पाठशालामा गएर अमरकोश र लघुकौमुदी पढ्न थालें । यसरी कहिले मामाघरमा र कहिले पुरन्चौरमा बसेर पढ्दा पढ्दै वि.सं. २०१४ सालमा मेरो प्रभात प्राइमरी स्कुल खुल्यो । म त्यही स्कुलमा पढ्न थालें ।

गाउँमा खेलकुदमा रमाएका ती दिनहरु सम्झँदा मलाई निकै आनन्द लाग्छ । पांग्रा गुड्काउँदै रमाउँनु, डन्डीबियो खेल्नुको मज्जा नै अर्को थियो । झुम्राको फुटबल खेल्दा त झन म बढी रमाउँथें । मैले धेरै वर्ष झुम्राको बल खेलें ।
मलाई र मेरी बहिनीलाई आमाको काखमा छाडेर मेरो बुवा लाहुर जानुभएको थियो । उहाँको लाहुर भारतको कलकत्ता थियो । केही समय पछि दुइवटा भरिया लगाएर बुवा घर आउँदा म पाँच वर्षो फुच्चे थिएँ । उहाँलाई लिन आमा र म गाउँको छेउसम्म पुगेका थियौं । त्यो बेला मलाई देख्नासाथ बुवाले मलाई अंगाल्नु भयो र बर्र आँसु झार्नु भयो । बुवा रोएको देखेर आमा र म पनि रोयौं । मलाई लाग्छ त्यो आँसु खुसीका पनि थिए र दुःखका पनि थिए ।

मेरो घरमा गाई, भैसी र बाख्रा थिए । भेडा थिएनन् । म गाई-बाख्रा चराउन जान्थें । पाठापाठी मलाई एकदमै मनपर्थे । पाडाबाच्छालाई म एकदमै माया गर्थें । म भकारा सोर्थे, घाँस काट्थें । बाआमालाई सघाउँथें ।

म सात वर्षो हुँदा मेरो बुवा बित्नुभयो । म टुहुरो भएँ । बहिनी टुहुरी भई । आमाले सेता लुगा लगाउनु भयो । आमालाई दुःख थियो । एक्ली नारी विधवा भनेर मानिसहरु हेप्थे । उहाँले धेरै दुःख गरेर मलाई र बहिनीलाई हुर्काउनुभयो र पढाउनुभयो । समाजसँग डराउनु भएन । उहाँले हिम्मत साथ हामीलाई हुर्काउनुभयो, पढाउनुभयो र योग्य बनाउँनु भयो । आमालाई हौसला दिएर मामा चन्द्रकान्त घिमिरेले ठूलो गुन लगाउनु भयो । मलाई थपी-थपी घिउँ खुवाउँने माइजू झनै जाती हुनुहुन्थ्यो । 

मेरी आमा अहिले हुनुहुन्न । उहाँ बित्नुभयो । मलाई लाग्छ मेरी आमा पानीको थोपो र समुद्र दुबै हो । किनकि आमाको माया अपार छ । आमाको देखाएको बाटो अहिले म हिडिरहेको छु । सँधै श्रम र मिहिनेतलाई माया गर भन्ने आमाको आज्ञाले गर्दा नै आज मेरो जीवन खुसी भएको छ ।

1 thought on “मैले धेरै वर्ष झुम्राको बल खेलें – वरिष्ठ साहित्यकार रामबाबु सुवेदी

  1. जिबनीको छोटो सार प्रस्तुत गरिएको पढ्न पाउँदा खुसी लाग्यो। हरेक नेपालीले आफ्नो जिवनको सुरुवात भएको जस्तै लाग्ने गरि लेख रचना राख्नु भएको रहेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *