बालसाहित्य एकेडेमी स्थापना हुनुपर्छ : पूर्व राजदूत प्रा.डा. जयराज आचार्य

Featured Highlights समाचार

काठमाडौँ, वैशाख २५
पन्त स्मृति प्रतिष्ठानको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न लेखकलाई सम्मान गर्न आयोजित समारोहका प्रमुख अतिथि विद्वान् व्यक्तित्व पूर्व राजदूत प्रा.डा. जयराज आचार्यले बालसाहित्य ऐकेडेमी स्थापना हुनुपर्छ भन्नुभएको छ । उहाँले बालबालिकालाई असल नागरिक बनाउन बालसाहित्य बलियो हुनुपर्ने विचार राख्दै नेपाली बालसाहित्यको गुणस्तरीय विकासका लागि बालसाहित्य एकेडेमी स्थापना हुनु आवश्यक रहेको धारणा राख्नुभएको थियो । उक्त समारोहमा उहाँले बालसाहित्यमा विशेष योगदानका लागि केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेय घिमिरेलाई २५ हजार राशिको सुशीला पन्त स्मृति बालसाहित्य पुरस्कार २०८१/०८२ प्रदान गर्नुभएको थियो । पन्त स्मृति प्रतिष्ठानबाट प्रदान गरिने यस पुरस्कार आमा सुशीला पन्तको स्मृतिमा छोरीहरु कविता पराजुली र कल्पना नेपालले स्थापना गर्नु भएको हो ।


२०५८ सालदेखि विभिन्न विधामा पुरस्कार र सम्मान प्रदान गर्दै आएको पन्त स्मृति प्रतिष्ठानले वि.सं. २०८१-८२ का लागि अन्य वरिष्ठ लेखक, समालोचक, चित्रकार र समाजसेवी एवम् बालप्रतिभालाई पनि पुरस्कृत गरेको छ ।
पुरस्कृत अन्य व्यक्तित्वहरुमा रामराज पन्त स्मृति पुरस्कारबाट उपन्यास विधामा शकुन्तला उपन्यासका लागि लेखक आचार्य कमल रिजाल, हाँस्य विधामा गोपालराज पन्त स्मृति पुरस्कारबाट हाँस्य कलाकार मनोज गजुरेल, साहित्यिक पत्रिकातर्फ इन्दिरा–बन्धु पन्त स्मृति पुरस्कार हाम्रो पुरुषार्थ साहित्यिक पत्रिकालाई, समाजसेवा विधामा आमा इन्दिरा पन्त स्मृति सम्मान पुरस्कार समीक्षा घिमिरेलाई, समालोचना विधामा टीका मुकुन्द पन्त स्मृति पुरस्कार गोपी मैनालीलाई, चित्रकला विधामा रसिक राईलाई सीताश्री पुरस्कार र सदिच्छा बालप्रतिभा पुरस्कारबाट नृत्य विधामा बालमन्दिरकी छात्रा सुमना थापालाई पुरस्कृत गरिएको थियो । समाराेहमा प्रतिष्ठानका सल्लाहकारहरुकाे विशेष याेगदानका लागि कृतज्ञता व्यक्त गर्दै अभिनन्दन गरिएकाे थियाे । अभिनन्दित हुनेमा राेचक घिमरे, प्रा.डा. वीणा पाैड्याल, ठाकुर शर्मा भण्डारी, रामप्रसाद पन्त र माणिकरत्न शाक्य रहनु भएकाे थियाे ।

प्रतिष्ठानका सदस्य विजया पन्तले पुरस्कृत व्यक्तित्वहरुबारे प्रकाश पार्नुभएकाे उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष इन्दु पन्तकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे । कार्यक्रममा प्रतिष्ठानका स‌स्थापक अध्यक्ष वरिष्ठ लेखक गीता केशरीकाे स्वास्थ्य लाभकाे कामना गरिएकाे थियाे ।

पुरस्कृत र अभिनन्दित व्यक्तित्वहरुका साथमा पन्त स्मृति प्रतिष्ठान परिवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *