विशेष च्यारिटी शोमा कार्तिकेय घिमिरेको ‘पाँच रुपियाँ’

राष्ट्रिय समाचार

रुसि सांस्कृतिक केन्द्रमा भइरहेको साताव्यापि बालनाटक महोत्सब, बालनाटकको रमाइलो मेला २०६६ को पाँचौ दिन आज कार्तिकेय घिमिरे लिखित बालनाटक पाँच रुपियाँको मन्चन भएको छ ।

बिहान १२ बजे र तीन बजे गरी जम्मा दुइ शो देखाइएको यो नाटकको निर्देशन प्रेम पौडेल र मानस राजले गरेका हुन् । यो नाटकको मुख्य पात्र आशा एघार वर्षीय बालिका आयुषी सामरी हुन् । उनी आलोक विद्याश्रममा पढ्छिन् । उनले यस नाटकमा एउटी दयालु बालिकाको चरित्रमा जोडदार र जीवन्त अभिनय गरेकी छिन् । त्यस्तै यस नाटकलाई मनछुने बनाउँने काम जुम्सीको अभिनयले गरेको छ । त्यो भूमिकामा दश वर्षीय बालिका पूजा अधिकारीले अभिनय गरेकी छिन् । उनी श्री बालव्यवसायी मावि सिफलमा पढि्छन् । यो नाटक शैली थिएटरको प्रस्तुतिमा मन्चन भएको हो ।       

हाम्रो देश विविधताको देश हो । यहाँ धनी गरिब सबै खालका बालबालिकाहरु छन् । जापानदेखि आएर जापानका बालबालिकाहरुले नेपालका गरिब बालबालिकाहरुलाई सहयोग गर्छन् । तर नेपालकै सक्षम धनी बुवाआमाका छोराछोरी बालबालिकाले गरिब नेपाली बालबालिकालाई सहयोग गर्दैनन् किन ? किन धनी परिवारका आमाबुवाहरुले गरिब बालबालिका प्रति मानवीय सेवा गर्न आफ्ना छोराछोरीलाई प्रेरित गर्दैनन् ? यहाँ एकथरी बालबालिकाहरु जाडोमा लुगा लाउँन नपाएर मरिरहेका छन् र अर्कोथरि बालबालिकाहरु भने लुगा धेरै भएर स्टोर कोठामा राखेर सढाइरहेका छन् । किन उनीहरुको मनमा असहायलाई सहयोग गर्नुपर्छ भन्ने भावना जगाउँन धनी आमाबुवाहरुले प्रयास गरिरहेका छैनन् ? किन उनीहरु गरिब बालबालिकामाथि बालश्रमिकका नाममा पशु सरहको व्यवहार गर्छन् ? यस्ता थुप्रै प्रश्नहरु बोकेर नाटककी मुख्य पात्र आशा यो नाटकमा एउटी विद्रोही मानवतावादी चरित्रको रुपमा उभिएकी छिन् ।

उनी आफ्नै घरभित्र आफ्नी आमासँग संघर्ष गरेर सबै बालबालिकाहरु असहाय साथीहरुलाई हामी सहारा भएका सक्ने साथीहरुले सहयोग गर्नुपर्छ भन्ने आव्हान गर्न चाहन्छिन् । त्यसैले उनी हरेक शहरी भेगका धनीमानी बालबालिकालाई के आब्हान गर्छिन् भने आउँनुस्, हामीले आफ्नो खाजा खर्चबाट हरेक दिन पाँच रुपियाँ जोगाएर हिमालकी पेमा दिदीलाई, तराइकी धनिया बहिनीलाई र जुम्सी जस्ता स्कुल जान नपाएका साथीहरुलाई सहयोग गरौं ।    चुस्त निर्देशन र कलाकारहरुको मन छुने अभिनयले यो नाटक उत्कृष्ट भएको छ । सुरुमा हँसाउँने र बिस्तारै दर्शकलाई गम्भीर बनाउँदै लगेर वियोगान्त अन्त्य भएको यो नाटकमा निर्देशकद्घय प्रेम पौडेल र मानसराजको काम तारिफयोग्य रहेको छ ।

एक महिना लामो अभ्यास पछि विशेष च्यारिटी शोका लागि तयार गरिएको यो नाटक देशका प्रमुख शहरी भेगमा पनि आर्थिक रुपमा सम्पन्न बालबालिकाबीच मानवीय संवेदना जगाउँने र झकझक्याउने उद्देश्यसहित मन्चन गरिने कार्यक्रम रहेको छ । यस नाटकको निर्देशनमा शैली थिएटरका अध्यक्ष नवराज बूढाथोकीले विशेष सहयोग गरेका छन् ।    

रुसि साँस्कृतिक केन्द्र, कार्तिकेय बालप्रतिभा पुरस्कार कोष र शैली थिएटरको संयुक्त पहलमा आयोजना गरिएको यस बालनाटक महोत्सब २०६६ भब्य सफल भएको छ । गरिब र असहाय बालबालिकालाई शैक्षिक प्रोत्साहन छात्रबृति प्रदान गर्न आयोजित यो महोत्सबलाई करिब दुइ हजार चारसय बालबालिकाहरुले हेरी हार्दिक सहयोग गर्नुभएको छ । हामी ती सम्पूर्ण नाटकप्रेमी दर्शक बालबालिका र सहयोगी विद्यालयहरुप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं । यो महोत्सबले नाटक हेर्ने संस्कृतिको विकासमा ठूलो टेवा पुर्याएको महसुस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *