- सादवी खड्का, कक्षा ९, विङ्स एकेडेमी, भक्तपुर ।
हरेक बिहान म उठ्थेँ, विद्यालय जान्थेँ, साथीहरूसँग हाँस्थेँ र दिन बिताउँथेँ। बाहिरबाट हेर्दा म अरू सबैजस्तै सामान्य देखिन्थेँ। तर मेरो मनभित्र भने अर्कै संसार थियो। त्यहाँ अर्को “म” बस्थ्यो ।
एउटा म थियो जसले धेरै सपना देख्थ्यो, कविता लेख्न चाहन्थ्यो, कार्यक्रममा भाग लिन चाहन्थ्यो, हात उठाएर उत्तर दिन चाहन्थ्यो।अर्को म थियो जसले सधैं सोच्थ्यो, “यदि गल्ती भयो भने ?”, “यदि सबैले हाँसे भने ?”, “यदि म सकिनँ भने ?”यी दुई “म” हरू सधैं एकअर्कासँग कुरा गर्थे । कहिले एउटा जित्थ्यो, कहिले अर्को ।
एक दिन विद्यालयबाट फर्किएर म ऐनाअगाडि बसेँ । लामो समयसम्म आफूलाई हेरिरहेँ। अचानक यस्तो लाग्यो ऐनाभित्रको म बोल्न थाल्यो।
उसले भन्यो,“तिमी किन सधैं आफूलाई रोक्छौ?”
मैले बिस्तारै भनेँ,“किनकि म डराउँछु।”
उसले फेरि सोध्यो,“डर केको ?”
मैले उत्तर दिएँ,“गल्तीको असफलताको अरूले के भन्लान् भन्ने कुराको।”
ऊ केही बेर चुप लाग्यो अनि मुस्कुराउँदै भन्यो, “तिमीले कहिल्यै सोचेकी छौ ? प्रयास नगर्दा पनि त हारिन्छ।”
त्यो वाक्य मेरो मनमा बसिरह्यो।
अर्को दिन विद्यालयमा शिक्षकले प्रश्न सोध्नुभयो। धेरैलाई उत्तर थाहा थिएन। मेरो मनमा उत्तर आएको थियो तर फेरि डर लाग्यो। त्यही बेला मलाई ऐनाभित्रको त्यो अर्को “म” सम्झना आयो । मैले बिस्तारै हात उठाएँ ।
उत्तर सही निस्कियो।
त्यो ठूलो उपलब्धि थिएन, तर मेरो लागि धेरै ठूलो थियो।
त्यसपछि मैले आफूमा सानो सानो परिवर्तन गर्न थालेँ। कार्यक्रममा भाग लिन थालेँ, आफ्ना विचार भन्न थालेँ, गल्ती होला भनेर डराउन छाडेँ । सबै कुरा एकैदिनमा बदलिएको थिएन, तर म बदलिँदै थिएँ। त्यसपछि मैले एउटा कुरा बुझें त्यो अर्को “म” कहिल्यै अलग व्यक्ति थिएन । त्यो त मेरो भित्र लुकेको साहस, आत्मविश्वास र सपनाहरूको आवाज रहेछ।
आजकल पनि कहिलेकाहीँ डर लाग्छ। अझै पनि गल्ती हुन्छन् । तर अहिले म भाग्दिनँ किनकि अब मसँग मेरो साथमा म नै छु । आज ऐनामा हेर्दा म दुई जना देख्दिनँ । म केवल आफूलाई देख्छु ।
अलि साहसी, अलि आत्मविश्वासी र पहिलेभन्दा धेरै आफ्नै ।
मानिसले संसार जित्नु भन्दा पहिले कहिलेकाहीँ आफ्नै मनलाई जित्नुपर्ने रहेछ ।
अनि त्यो यात्राको सुरुवात हुन्छ “म अनि म” बाट।

