आदरणीय लेखक रोचक घिमिरे वरिष्ठ साहित्यकार हुनुहुन्छ । उहाँ नेपालको प्रसिध्द साहित्यिक पत्रिका ‘रचना’ का प्रधान सम्पादक पनि हुनुहुन्छ । निवन्ध लेखनमा सुपरिचित लेखक रोचकको बाल्यकालको रमाइलो संस्मरण यस अंकमा हामीले प्रस्तुत गरेका छौं ।
मेरो उमेर त्यो बेला १२ वर्षजतिको थियो होला । दशैंको रमझम सकिएर तिहार लाग्दो बेला थियो । तिहारको खुशीयालीमा फाट्टफुट्ट पटखा पड्काउने, फुलझडी बाल्ने, आतिसबाजी गर्ने चलन भर्खर भर्खर काठमाडौंमा शुरु भएको थियो । बाले हामी तीनजना दाजुभाइ म, रघु र केशवलाई के काम परेर हो कुन्नि लप्टन बा तारानाथ (शङ्कर घिमिरे र डा.मधु घिमिरेका पिता) कहाँ भाटभटेनी पठाउनुभो । लप्टन बा कहाँबाट हामी दाजुभाई गहिरीधारातिर लाग्यौं । त्यहाँको हलुवाई पसलेको बर्फीको स्वाद लिन पल्केका थियौं हामी । हामीसंग एकदुइ रुपियाँ थियो । बर्फी खाएर केही पैसा बच्यो । त्यहीं छ्याके साहूको पसल अगाडि पटखा, भैंचम्पा, टीनको सिटी, टीनकै बन्दुक, कागतको सर्प आदि विभिन्न खेलौना फिंजाएर बेच्न राखिएका थिए । ती सामानको वरिपरि केटाकेटीहरू झुम्मिइरहेका थिए । हामी पनि तमासे भएर हेर्न थाल्यौं । भाइ रघुले सिटी किन्यो, केशवलाई कागतको सर्प मन पर्यो । मैले चाहिं टीनको कालो खेलौना बन्दूक र त्यसलाई पड्काउन चाहिने बारूदको टिके रील किनें । बन्दूकमा त्यो रील हालेर प्याट्ट प्याट्ट पड्काउँदै हिड्न थालें म । ठूलो आनन्द र खुसी अनुभव भो मलाई । भाइहरू पनि रमाएर सिटी फुक्दै, सर्प हल्लाउँदै हिडिरहेका थिए ।
हामी त्यसै क्रमले गैरीधाराबाट टङ्गाल गणेशथानतर्फ आइरहेका थियौं । उताबाट कर्णेल डम्बर शमशेर थापा (१५ साले चुनावमा डा.के.आइ.सिंहको पार्टीबाट विजयी सांसद लोचन समशेर थापाका पिता) घोडा चढेर आइरहेका थिए । घोडाको पछिपछि सइस हिडिरहेको थियो । त्यो वेला घरानियाहरू घोडा, साइकल चढ्थे । कार मोटरसाइकल त ज्यादै कम थिए र ती राणा परिवारकै एकलौटी थिए भनेपनि हुन्छ । एक सुरले म बन्दुक पड्काउँदै, रमाइलो गर्दै हिडिरहेको थिएँ । अचानक डम्वर समशेर बूढा घोडाबाट तल सडकमा डङ्ग्रङ्ङ पछारिए । ती मोटा, सुकुमार बूढा उठ्न सकेन्, सइस भाग्न लागेको घोडा समाउनतिर लाग्यो । जम्मा भएका बटुवाहरूले कर्णेल बूढालाई उठाएर उभ्याए ।
हामी तीन भाइ फुच्चे मग्न भएर यो सबै रमीता हेरिरहेका थियौं । कर्णेल बूढाले चारैतिर हेरे । खेलौना बन्दुक मेरो हातैमा थियो । डम्बर शमशेर मेरो नजिकै आए अनि मेरो हातको बन्दुक खोसेर भने-‘यै हो तेरो बन्दूक ! बड, बन्दूक पड्काउने भा’को !’ यति भनेर उनले त्यो बन्दूक नीलकाँडाको झ्याङ्तिर हुर्र्याइदिए । मैले पड्काएको बन्दुकबाट तर्सिएर घोडाले कर्णेल बूढालाई लडाएको रहेछ । त्यसैले मेरो त्यो दोषी बन्दुकसँग उनले त्यसरी बदला लिएका रहेछन् भन्ने कुरा बल्ल बुझ्यौं हामीले । मैले अँध्यारो मुख लगाएँ ।
‘दाजुले होइन ! दाजुले होइन !’ भनेर भाइ केशव रुन लाग्यो । बूढाको आँखा सिटीमा पनि पर्ला र फ्याँकिदेलान भनेर अर्को भाइ रघु सिटी लुकाउन लाग्यो । त्यहाँ उभिएका पाका मान्छेहरू पनि ‘कर्साबलाई लडाउने, बदमास केटाहरू !’ भन्दै हामीलाई नै गाली गर्न लागे । कसैले त हामीलाई चिनेका पनि रहेछन् र यी गहनापोखरीका पण्डित बाजेका छोरा हुन् भनेको पनि सुनियो ।
बाले थाहा पाउनुहोला भनेर हामीलाई डर लाग्यो ।हामी तीनभाइ लुत्रे कान लगाएर घरको बाटो लाग्यौं । डम्बर शमशेर बूढा खोच्याङ् खोच्याङ् गर्दै पैदलै हिडे । सइस घोडा डोर्याएर लुखुर लुखुर उनको पछिपछि लाग्यो ।
लप्टनबा तारानाथले चाहीं यो कुरा थाहा पाउनुभएछ । एकदिन उहाँले मलाई भन्नुभो- ‘तिमीहरूले बन्दुक पड्काएर घोडाबाट पछारिएका कर्णेल बूढा केही दिन थला परेर बल्ल उठेछन् बिचरा !’
एक्लै यो घटना सम्झदा अहिले पनि मलाई रमाइलो, नरमाइलो, कस्तो कस्तो लाग्छ । हामी तीन दाजुभाइ भएको वेला यसको चर्चा चल्दा चाहिं एकै पटक गलल्ल हाँसोको फोहोरा छुट्ने गर्छ !