प्राध्यापक डाक्टर अच्युतमणि आचार्यको बाल्यकाल

Highlights अडियो / भिडियो मेरो बाल्यकाल साहित्य

प्रा.डा. अच्युतमणि आचार्य वरिष्ठ बालरोग विशेषज्ञ हुनुहुन्छ। उहाँ समाजसेवाका क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । आचार्यले बालहितकारी, चिकित्सा, शिक्षा र धार्मिक अनुष्ठानहरुमा उत्कृष्ट प्रतिभाहरुलाई पुरस्कृत गर्न विभिन्न पुरस्कारहरुको पनि स्थापना गर्नुभएको छ। दुःखी गरीब बालबालिकाहरुलाई विभिन्न अनाथालमा गई निशुल्क उपचार गरिदिने र औषधीसमेत सहयोग गर्ने डा. आचार्य चिकित्सा क्षेत्रका आदरणीय व्यक्तित्व हुनुहुन्छ । यस अंकमा डा. आचार्यसँग उहाँको बाल्यकालका बारेमा कुराकानी गरेका छौं । उहाँ आफ्नो बाल्यकाल सुनाउँदै भन्नुहुन्छ :

म काठमाडौंको चावहिलमा वि.सं. १९९८ सालमा पिता विष्णुमणि र माता गोपी आचार्यको पुत्रका रुपमा जन्मिएको हुँ । म जन्मेको दुइ वर्षमा नै मेरो आमा बित्नुभयो । त्यसैले म मेरी हजुरआमासँगै खेल्दै, रमाउँदै र पढ्दै हुर्किएको हुँ । म सानो छँदा चाबहिल एउटा सानो गाउँ थियो । पशुपतिनाथको उत्तर-पश्चिम रुखै-रुख र मकैबारीले भरिएको हरियाली थियो । चाबहिल गणेशथानदेखि लिएर अहिलेको चाबहिल चोकसम्म भने सडकको दुबै छेउमा घर बजार थियो । त्यो चोकमा ठूलो खरीको बोट थियो । खरीको बोटमुनि दुइजना कपाल खौरने हजामहरु बस्दथे । उनीहरुले निकै दुखाएर कपाल खौरन्थे ।

त्यसबेला त्यो सानो गाउँमा पनि आवश्यक पर्ने कामका लागि सबै किसिमका कार्य गर्ने एक दुइ परिवार थिए । जसले गर्दा समुदायमा सजिलो हुन्थ्यो । चावहिलमा त्यहीका बासिन्दाले नै कपाल काट्ने, लुगा धुने, काठको काम गर्ने र इटा बनाउने, छाता बनाउने, जुत्ता बनाउने, लुगा सिउने, मासु काट्ने र भाँडा बनाउने लगायत हात हेर्ने र विरामी हेर्ने आदि जस्ता सबै काम गर्थे । सबै पेसाका मान्छेहरु हाम्रो समुदायमा थिए । जीवन सजिलो र रमाइलो थियो । कुनै काम परे हजुरआमाले फलानोको घरमा गएर भन न गर्दिहाल्छन् नि भन्नुहुन्थ्यो । पेट दुखे वैद्यकोमा जाने, लुगा च्यातिए दमिनी भाउजुकोमा जाने गर्थें । यसरी सबैजनाले मलाई जुनसुकै काम पर्दा सहयोग गर्थे । सहयोग गर्ने मानिसहरुले हाम्रो घरमा आएर चामल, मकै र पैसा लिएर जानुहुन्थ्यो ।

यसरी समाजमा मानिसहरु एक आपसमा मिलेर बसेका थिए ।चाबहिल गाउँभरिका मान्छेहरुले एकअर्कालाई चिन्दथे । एक आपसमा मित्रता थियो । मलाई लाग्छ त्यतिबेलाको समाज एकदमै रमाइलो थियो । अलि ठूलो भएर म पद्मोदय स्कुल नजाउन्जेलसम्म सानै छँदा मेरी आमा बित्नुभएको कुराले मलाई केही पिर पारेको थिएन । त्यतिबेलासम्म पनि मलाई मेरो बुवा को हो भन्ने कुरा थाहा थिएन । किनकि मैले बुवालाई हेर्नै पाएको थिइन । म सँधै हजुरआमाको वरिपरि नै घुमिरहेको हुन्थें ।

मेरी हजुरआमा कलिलै उमेरमा विधवा हुनुभएको थियो । उहाँको संसार भनेको नै गौरीघाट, गुहेश्वरी र पशुपति नै थियो । उहाँ विहान चारबजे रुमाल धोती लिएर गौरीघाटमा नुहाउन जानुहुन्थ्यो । उहाँले सधै मलाई विहान चार बजे उठाएर जाने बेलामा ढोका लगाएर बस् है बाबु भन्नुहुन्थ्यो । म उठ्न अल्छी गरें भने उहाँले मलाई संस्कृतको काग चेस्टा स्वान निन्धा भन्ने श्लोकको गीत गाएर उठाउनुहुन्थ्यो । हजुरआमा बिहान उठेर अँध्यारोमा हिड्नुभएको म टुलुटुलु हेरिरहन्थे । उहाँ अँध्यारोमा नदेखिने हुनुभएपछि म ढोका बन्द गरेर कहिले पढ्थें भने कहिले भुसुक्कै निदाउँथें । म सुतें भने चाहिं मेरी दिदीले दिउँसो हजुरआमालाई सुटुक्क पोल लाइदिन्थिन् । त्यसैले म धेरै जसो विहान उठेर पढ्ने गर्थे । अहिले पनि बिहान उठेर पढ्दा मलाई मज्जा लाग्छ ।

हाम्रो घरमा जोडिएको आधा घर पल्लापट्टी बाजे र बज्यैको घर थियो । उहाँहरु मेरो हजुरआमाको जेठाजु जेठानी रे । तर, मलाई आफ्नै बाजे बज्यै जस्तो गरी माया गर्दथे । किनकि उहाँहरु मलाई सम्झनाको लागि बारबार आमा नभएको टुहुरो र बाबुले पनि अर्की बिहे गरेपछि बनेको अनाथको रुपमा हेर्नुहुन्थ्यो र माया दर्शाउँनुहुन्थ्यो । हुन पनि हाम्रो घरमा मलाई सुत्ने-पढ्ने कोठा थिएन । हजुरआमालाई थकाई लागेको दिन वा फूपु माइत बस्न आएको बेला मलाई शरण दिने काम पल्लापट्टी बाजे-बज्यैको नै थियो । यसैकारण मेरो सानो बेला वल्लो घर कि पल्लो घर थियो । वास्तवमा खाने बस्ने ठेगान थिएन । जत्ता गए पनि भयो । जसको नाति भइदिए पनि भयो । पल्लापट्टी बाजे बज्यैको छोराछोरी कोही नभएकाले मलाई पाल्दा केटाकेटी पाल्ने उहाँहरुको रहर केही हदसम्म पूरा भएको अनुभूति गर्नुहुन्थ्यो होला । उहाँहरुको संर्सगले मलाई पनि फाइदै पुगेको थियो ।

केटाकेटी अवस्थामा काम गर्नेसँग चिसो छिडीमा सुत्न पनि परेन । भोको बस्न पनि परेन । सबभन्दा ठूलो फाइदा भनेको मेरो मन किताब र अध्ययनतिर गयो । किनभने पल्लापट्टी बाजे दरबार हाई स्कुलमा वेदको पण्डित अध्यापक हुनुहुन्थ्यो । उहाँका धेरै पुस्तकहरु थिए र धेरै चेलाहरु पनि थिए । यसैले पनि होला मलाई पनि पढ्ने र पढाउने पट्टी अभिरुचि बढ्यो र म प्राध्यापक पनि बन्न सकें ।मेरो पहिलो विद्यालय पशुपति गौशालाको सत्तल हो । मेरो कक्षा चाहीं भन्डारखाल पट्टी थियो । म सँगै पढ्ने साथीमा मेरी दिदी र अर्का साथी निबु ढुंगाना थिए । अरु साथीलाइ मैले याद गर्न सकिन । निबु अहिले क्यानडामा छन् ।

त्यो विद्यालयमा विहान जान त गइन्थ्यो । बेलुका वा दिउसो आउन परे नसकिने । बनकालीको जंगल अँध्यारो थियो । दिउसै काग कराइरहन्थे र कोही पनि एक्लै दुक्लै गौशालाबाट चावहिल आउँदैनथे, पत्याउनुहुन्छ ? यो सत्य हो । यसैकारण दोस्रो वर्षमा म स्कुल सरें । कुटुबहाल लामपोखरी चावहिलको विनायक स्कुलमा । यो स्कुलमा मैले तीनवर्ष बिताएँ । जुन कक्षामा पनि पहिलो-पहिलो भएकाले त्यस स्कुलको हेडमास्टरको सिफारिसमा म मेरो अन्तिम स्कुल पुतलीसडकको पद्मोदय हाइस्कुलमा भर्ना हुन पुगें । त्यसबेला काठमाडौंमा दरवार स्कुल, जुद्धोदय र पद्मोदय मात्र हाईस्कुल थिए । चावहिलको गाउँबाट शहरमा पढ्न आउने भनेको भाग्यै थियो । उतिबेला मोटर, बस, रिक्सा आदि थिएनन् ।मोहन शमशेर महाराज सिंह दरबारमा बस्नुहुन्थ्यो । हामी उहाँको ढोका अगाडि जान पाउँदैनथ्यौ । दरवार हेर्न पाइदैनथ्यो । पुतलीसडकबाट थापाथली जानलाई महाराजको बाटो मुनि सुरुङ जस्तो बनाइएको थियो । जहाँबाट हामी हिड्ने गर्दथ्यौ । त्यो बेला तीन चारवटा गाडी मात्र थिए । सबैजना गाडी हेर्न र गाडीको धुवा खान सडकमा कुदाकुद गर्थे ।

एक वर्ष पद्मोदयमा बिताउँदा नबिताउँदै २००९ साल आयो । त्यसपछि धेरै परिवर्तन आयो । हामीले राजा हिड्ने बाटोमा हिड्न मात्रै पाएनौ । राजा सुत्ने खोपी पनि हेर्न जान पायौं । राजा त्रिभुवनले सिंहदरबार हेर्न र्सवसाधारणलाई खुल्ला गरिदिए । पद्मोदयका विद्यार्थी सबैले एसियाको सबैभन्दा ठूलो घर, चोक, बगैचा चहारे र संसारकै सबैभन्दा ठूलो परेड ग्राउण्ड टुडिखेलमा दौडन पुगे । टुडिखेल पनि दुइवटा थिए । ठूलो टुडिखेल रानीपोखरीदेखि अहिलेको रंगशालाको उत्तरपट्टीको बारसम्म र सानो टुडिखेल डाँडामुनि कमलको फूल फुल्ने पोखरीदेखि त्रिपुरेश्वरसम्म । त्यसबेला बिहान नौ बजे भात खाई हिड्दै पद्मोदय स्कुल आएका केटाकेटी साँझ छ बजेसम्म फुटबल खेली सानो टुडिखेलबाट हिड्दै बेलुका सातबजे चावहिल घर पुग्दथ्यौ ।

त्यसरी खेलेको र हिडेको कारणले होला आज ६८ वर्ष लाग्ने बेलातिर पनि मेरा खुट्टा बलिया छन् ।यसरी मैले जीवनमा थुप्रै दुःख गरेर पढें । डाक्टर बन्न पनि सफल भएँ । तर मलाई आजकल के लाग्छ भने मान्छे जो जे-जे बने पनि, जुन पेशामा लागे पनि, साँच्चैको सुख पाउँन त दिनदुःखी मान्छेहरुको नै सेवा गर्नुपर्ने रहेछ । त्यसमा नै भगवानको पूजा र जीवनको ठूलो सुख लुकेको हुँदोरहेछ । अहिले म त्यही सुख भोगिरहेको छु ।

Leave a Reply

Your email address will not be published.