ललितपुरको टुटेपानीमा अवस्थित मदरहुड केयर नेपाल बालगृहमा आश्रित अनाथ बालबालिकाहरु माझमा कथावाचन र भिडियो नाटक प्रदर्शन गरिएको छ । बालसाहित्य लेखक कार्तिकेय घिमिरेले कथावाचन गर्नुभएको कार्यक्रममा लेखक कार्तिकेयले नै लेख्नुभएको बालनाटक पाँच रुपियाँ को भिडियो पनि प्रदर्शन गरिएको थियो । प्रेम पौडेल र मानसराजले निर्देशन गर्नुभएको एक घन्टाको यस नाटकमा एघार वर्षीय बालिका आयुशी सामरीले मुख्य चरित्र आशा को भूमिकामा अभिनय गर्नुभएको छ ।
धनी परिवारमा जन्मिएका सक्षम बाबालिकाहरुले असहाय, दुःखी र गरीब बालबालिकाहरुलाई सहयोग गर्नुपर्छ भन्ने मुख्य सन्देश रहेको मनछुने कथावस्तु रहेको यस नाटकमा अभिनय गरेपछि नाटकको सारबाट प्रभावित भई हरेक दिन आफ्नो खाजा खर्चबाट पाँच रुपियाँ जोगाएर यस नाटककी प्रमुख पात्र आयुशीले बालगृहमा आश्रीत तीसजना बालबालिकाहरुलाई सो समारोहमा कपि र चकलेट उपहार दिनुभएको थियो ।
उक्त अवसरमा बालगृहका बालबालिकाहरु गीत गाएर, नाचेर, क्यारिकेचर गरेर र चुटि्कला सुनाएर आ-आफ्नो प्रतिभा प्रदर्शन कार्यक्रममा सहभागी हुनु्भएको थियो । कार्यक्रम बालसाहित्य प्रतिष्ठान नेपालले आयोजना गरेको थियो