प्रभा भट्टराई आचार्य बालसाहित्य लेखनमा एउटा स्थापित लेखक हुनुहुन्छ । उहाँ वि.सं. २०१२ कार्तिक १६ गते चुँदिरम्घा, तनहुँमा जन्मनुभएको हो । उहाँ हाम्रा आदिकवि भानुभक्त आचार्यका पनातिनी हुनुहुन्छ ।
उहाँका मातापिता आमा मिठ्ठु आचार्य र पिता नारायणदत्त शास्त्री आचार्य हुनुहुन्छ । उहाँले नेपाली विषयमा एम.फिल. सम्मको अध्ययन पूरा गर्नुभएको छ । हाल विद्यावारिधिका लागि अनुसन्धान गरिरहनुभएको छ ।
उहाँले लामो समयदेखि पद्मकन्या क्याम्पसमा पढाउँदै आउनुभएको छ । उहाँको पहिलो प्रकाशित रचना ‘आमा’ कविता हो । जुन २०३३ सालमा ‘बालक ‘ पत्रिकामा प्रकाशित भएको थियो । यसैगरी उहाँका ‘पोसिला’, २०६०, ‘मेरो सानो भाइ’ लगायत बालकविता संग्रहहरु र ‘सन्तु र सुगा’, २०६१ लगायत थुप्रै बालकथा र बालचित्रकथाकृतिहरु प्रकाशित छन् । छन्दोबद्व कवितामा विशेष दख्खल राख्नुहुने कवि आचार्यको वि.सं. २०६२ मा ‘सरित संगम’ नामक कवितासंग्रह प्रकाशित भएको थियो । उहाँले लेखन, सम्पादन र अनुवादका क्षेत्रमा पनि काम गर्नुभएको छ ।
विद्यार्थी जीवनमा स्कूल/कलेजमा पढ्दा कवि आचार्यले साहित्यिक प्रतियोगिताहरुमा धेरै पुरस्कारहरु प्राप्त गर्न सफल हुनुभएको छ । उहाँले राष्ट्रिय स्तरका पुरस्कार र सम्मानहरु पनि प्राप्त गर्नुभएको छ । उहाँको सुमधुर स्वरमा सजिएका रामायण वाचन लगायत अन्य छन्दमा कविता वाचनका अडियो सामग्रीहरु अत्यन्त रुचिकर छन् । तिनले पाठक र स्रोताबाट निक्कै प्रसंशा बटुलेका छन् । उहाँ हाल ताहाचाल, काठमाडौँमा छोरा र छोरीसँगै बस्नुहुन्छ ।
उहाँले बाल स्वभाव, चरित्र, जीवन शैली र बाल संवेगलाई टपक्क टिपेर उनीहरुकै लोलीमा, उनीहरुकै बोलीमा सुन्दर काव्यहरु सिर्जना गर्नुभएको छ । यस कारण उहाँका रचनाहरु अत्यन्त लोकप्रिय छन् । उहाँका बालगीतहरुले बालबालिका माझमा राम्रो प्रभाव पारेका छन् । गहिरो छाप छोडेका छन् ।
एउटा असल बालसाहित्य लेखकले बालबालिकाले जसरी नै सोच्न सक्नुपर्छ अनि मात्र ऊ सफल लेखक हुनसक्छ भन्ने बालसाहित्य लेखनको सिद्वान्तलाई हृदयङ्गम गरी भन्ने हो भने लेखक भट्टराईका बालरचनामा त्यो छाप देखिन्छ । उहाँ बालबालिकाले जस्तै साचेर र महसुस गरेर लेख्नुहुन्छ । जसमा सुनमा सुगन्ध थप्ने काम उहाँमा रहेको छन्द लेखन कलाको विलक्षण क्षमता र कवि हृदयले गरेको देखिन्छ ।
- कार्तिकेय