काठमाडौँ विद्याकुञ्ज स्कूलमा साहित्य मेला

समाचार

काठमाडौँ, मंसिर १५

काठमाडौँ विद्याकुञ्ज स्कूल, टोखारोड, काठमाडौँमा प्राथमिक तहमा अध्ययनरत बालबालिकामा पठन संस्कृतिको विकासका लागि साहित्य मेला आयोजना गरिएको छ । मेलामा लेखकसँग भेटघाट, अन्तरक्रिया र कथावाचन तथा बालप्रतिभा प्रस्तुति, फेस पेन्टिङ लगायत पुस्तक प्रदर्शनी पनि गरिएको थियो ।
कार्यक्रममा बालबालिकाहरु प्रतिभा प्रस्तुति कुनोमा पुगेर आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउँदा, लेखकसँग विभिन्न किताबका चित्र हेर्दै कथा सुन्न पाउँदा र आमाबुवासँग रमाउँदै गएर आफूलाई मन परेको किताब किन्न पाउँदा निक्कै रमाएका थिए ।
पुस्तक प्रदर्शनीमा बुकआर्ट नेपाल र बालसाहित्य प्रतिष्ठान नेपालले आफूले प्रकाशित गरेका रंगीन बापुस्तकहरु र युनिभर्सल पुस्तक भण्डारले विविध साहित्य कृतिहरु उपलब्ध गराएका थिए ।
कार्यक्रममा लेखक भेटघाट र छलफलमा बालसाहित्य लेखकहरु रञ्जुश्री पराजुली, जलेश्वरी श्रेष्ठ, कार्तिकेय र चित्रकार सोनाम तामाङसँग बालबालिकाहरुले अन्तरक्रिया गर्नुभएको थियो । कार्यक्रममा प्रमुख आतिथ्यता गर्दै बालसाहित्य लेखक रञ्जुश्री पराजुलीले असल बालसाहित्यको अध्ययनले नै एउटा बालक असल र सभ्य नागरिक बन्न सक्ने भएकाले पुस्तक पढ्ने बानी बसाल्न जोड दिनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा तीन जना लेखकहरुले कथावाचन गर्नुभएको थियो भने चित्रकार सोनाम तामाङले चित्र बनाउने तरिकाबारे बालबालिकालाई रमाइलो खेल खेलाउनु भएको थियो ।
काठमाडौँ विद्याकुञ्ज स्कूलका कार्यकारी अध्यक्ष द्वारिका श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साहित्य मेला उक्त स्कूलका प्राथमिक तह प्रमुख प्रार्थना श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *