रमेश विकल बालसाहित्य पुरस्कार ध्रुव घिमिरेलाई

समाचार

काठमाडौँ, पुस ६, २०७६

यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्य लेखक ध्रुव घिमिरेलाई प्रदान गरिएको छ । नेपाली आख्यान साहित्यका शिखर पुरुष यशस्वी साधक तथा आदरणीय अग्रज बालसाहित्यकार रमेश विकलको १२ औँ स्मृति दिवसका अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा आयोजित समारोहमा उक्त पुरस्कार वितरण गरिएको थियो । नगद १० हजार राशिको उक्त पुरस्कार प्रा.डा. ध्रुव घिमिरेले बालसाहित्य लेखन, सम्पादन र अनुसन्धानका क्षेत्रमा गर्नुभएको महत्वपूर्ण योगदानका लागि प्रदान गरिएको रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा. हेमनाथ पौडेलले बताउनु भयो ।
उक्त अवसरमा रमेश विकलका नाममा स्थापित अन्य विभिन्न पुरस्कारहरुबाट क्रमशः अग्रज पत्रकार भैरव रिसाल, वरिष्ठ कथाकार किशोर पहाडी, समाजसेवीद्वय सुदर्शन सिग्देल र रेणु उप्रेती र वरिष्ठ गायक शिशिर योगी पुरस्कृत हुनुभएको थियो ।
रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा सम्पन्न उक्त समारोहमा नेपाल ललितकला एकेडेमीका कुलपति के.के. कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, रमेश विकल प्रतिष्ठानका महासचिव विजय चालिसे लगायत वक्ताहरुले विकलबारे विभिन्न विचार व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा चित्रकला प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।

गत पुस ५ गते आयोजित यस कार्यक्रमपछि भएको उक्त प्रतिष्ठानको साधारण सभाले आगामी कार्यकालको लागि यही कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *