काठमाडौँ, पुस १५
साहित्यकार महेश पौड्यालले आफ्नो दिवङ्गत पुत्र पराक्रम पौड्यालको स्मृतिमा स्थापना गर्नुभएको “पराक्रम बालप्रतिभा पुरस्कार” वर्ष २०७६ का लागि काभे्र जिल्लाको पाँचखाल ५, रायलेकी १३ वर्षीय प्रतिभा तारा तामाङलाई प्रदान गर्ने निर्णय गरिएको छ । मङ्गलबार काठमाडौँमा पुरस्कार कोषकी प्रमुख संरक्षक रमा अधिकारीको अध्यक्षतामा बसेको कोषको बैठकमा रू ११,१११ नगद र प्रमाणपत्र रहेको उक्त पुरस्कार श्रीगणेश मावि, पाँचखाल, भमरकोटकी छात्रा तामाङलाई प्रतिकूल आर्थिक अवस्थामा रहेर पनि वक्तृत्व, कविता लेखन र सिर्जनाका अन्य फाँटमा असामान्य प्रतिभा प्रदर्शन गरेकोमा कदरस्वरूप प्रदान गर्न लागिएको हो । बालसाहित्य प्रतिष्ठान नेपालले व्यवस्थापन गर्दै आएको उक्त पुरस्कार माघ महिनामा प्रदान गरिने छ ।
गत साल यो पुरस्कार नाकले टाइप गरेर साहित्य सिर्जना गर्ने बालस्रष्टा दर्शन सङ्खुलाई प्रदान गरिएको थियो ।