काठमाडौं, पुस २६
कार्तिकेय ट्रस्टका संस्थापक अध्यक्ष/संरक्षक मोहन कार्कीकी ममतामयी माता कमला कार्कीको स्मृतिमा स्थापित कमला कार्की स्मृति प्रतिष्ठानले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा ६ जनालाई सम्मानित गरेको छ ।
सम्मानित हुनेहरुमा निस्सहाय सेवा केन्द्रकी अध्यक्ष सगुन शाह, पत्रकार आरती लम्साल, गायिका सृजना केसी, भलिबल खेलाडी सलिना श्रेष्ठ र चन्द्रागिरी नगरपालिका वडा नं १४ र १५ का ज्येष्ठ सदस्यहरु धनमाया महर्जन र मिठु केसी रहनुभएको छ । कार्यक्रममा निस्सहाय सेवा केन्द्रकी अध्यक्ष सगुन शाहलाई नगद असी हजार र अन्य प्रतिभाहरुलाई जनही नगद दश-दश हजार एक रुपियाँ सहित सम्मानित गरिएको थियो ।
प्रतिष्ठानले निस्सहाय सेवा केन्द्रले लामो समयदेखि असहाय महिलाहरूको संरक्षणमा योगदान पुर्याउँदै आएकोले यो सम्मान प्रदान गरेको जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूले नारीलाई सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले नारीबिना यो सृष्टि अधुरो हुने भएकाले हरेक नारी अर्थात् आमाको महत्व असल पुस्ता निर्माणका लागि महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो । मन्तव्यका क्रममा जोशीले नयाँ पुस्ता आफ्नो सास्कृतिक ज्ञान लिनका लागि अग्रसर हुनुपर्ने धारणा राख्दै पाका पुस्ताले पनि नयाँ युवा पुस्ताबिच सास्कृतिक ज्ञान हस्तान्तरणका लागि प्रयास गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । उहाँको कथन थियो, ‘हाम्रो सास्कृतिक ज्ञानप्रति नयाँ पुस्ताको रुचि जगाउन सकियो भने यो अझ बढी फैलिँदै जान्छ । त्यसका लागि विशेष पहल हुनुपर्छ ।’
काठमाडौँको नैकापस्थि ब्राइट फ्युचर हाइस्कूलको प्रांगणमा आयोजित कार्यक्रम कमला कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीको सभापत्तिवमा सम्पन्न भएको थियो । अध्यक्ष कार्कीले सम्मान र पुरस्कारलाई निरन्तरता दिँदै जाने दृढता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका संरक्षक अम्बिका कार्की, सल्लाहकारहरु अ.प्रा. रथी निरञ्जन कार्की, प्रमिला सिंह, डा. सुभाष घिमिरे, समाजसेवी भीमसेन कार्की, जेसिस स्कूलका प्रिन्सिपल सरोज महर्जन लगायत अन्य विभिन्न विद्यालयका प्रिन्सिपलहरु, बालसाहित्य लेखक कार्तिकेय, स्थानीय जन प्रतिनिधिरु लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा बोल्दै संघीय सांसद कृष्ण गोपाल श्रेष्ठ र सांसद एवम् वरिष्ठ शिक्षासेवी उमेश श्रेष्ठले बालबालिकाहरुलाई सानैदेखि आमाबुबा र गुरुलाई आदर गर्न प्रेरित गर्दै उनीहरुलाई सकेको दान गर्न पनि प्रेरित गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । वरिष्ठ शिक्षासेवी श्रेष्ठले उक्त अवसरमा मोहन कार्कीको कदमबाट प्रभावित भई आफूले पनि आफ्नी माताजीको नाममा २५ लाखको अक्षय कोश स्थापना गरी वाङ्मय सेवामा अग्रसर हुन लागेको जानकारी गराउनु भएको थियो ।
शिक्षक राम पौडेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकारहरु डा. नवराज लम्साल,गोपीचन्द्र कार्की, ब्राइट फ्युचर स्कूलका विद्यार्थी लगायत अन्य कविज्यूहरुले आमासम्बन्धी मार्मिक कविताहरु वाचन गरी सुनाउनुभएको थियो । आमाको स्मृतिमा आयोजित यस कार्यक्रममा आमाको स्मरण गर्दै हरेक सहभागीका आँखा रसाएका थिए । कार्यक्रम आमाप्रति समाजको सम्मान भावप्रति कमी हुन हुन नदिन उत्प्रेरित गर्ने एउटा सशक्त मन्च बन्न सफल भएको थियो ।