२२ औं भूकम्प दिवस विद्यार्थीले स्थलगत कविता लेखेर मनाए

समाचार

रामेछाप ।

यस पटकको २२ औं राष्ट्रिय भूकम्प दिवस मन्थली नगरपालिका भित्रका सामुदायिक र संस्थागत माध्यमिक विद्यालयका विद्यार्थीहरूले स्थलगत रुपमा कविता लेखेर मनाएका थिए । सदाझैँ यसपटक विद्यार्थीहरू माघको चिसो बिहानीमा प्ले कार्ड बोकेर प्रभातफेरीमा हिँडेनन् । नारा लगाएनन् । भाषणको कार्यक्रममा स्रोता बनेर करतल ध्वनिका साथ ताली बजाएनन् ।
यसपटक नयाँ कार्यक्रम नयाँ स्वाद्मा आयोजना भएको थियो ।
मालश्री साप्ताहिकको आयोजना र मन्थली नगरपालिकाको सहयोग तथा समन्वयमा मन्थली माविको मिडिया हलमा आयोजित ‘भूकम्प र अवसर’ विषयक स्थलगत कविता लेखन प्रतियोगितामा मन्थली नगरपालिका क्षेत्र भित्र रहेका १९ सामुदायिक र ३ वटा संस्थागत विद्यालयहरूमध्ये ११ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयका कूल २३ जना कक्षा ९ देखि १२ मा अध्ययन गर्ने विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सो प्रतियोगितामा सेतीदेवी मावि, सालुकी कक्षा ११ मा अध्ययन गर्ने कविता श्रेष्ठ प्रथम, मावि हर्रेचिण्डेमा कक्षा १० मा अध्ययन गर्ने मेरिना कटुवाल द्वितीय, सेतीदेवी मावि, सालुमा कक्षा १२ मा अध्ययन गर्ने मुकुन्द अधिकारी तृतीय र सिद्धेश्वर मावि, गैराथोकको कक्षा ९ मा अध्ययन गर्ने राधिका श्रेष्ठ सान्त्वना भएकी थिइन् । पुरस्कृत भाइबहिनीहरूलाई मन्थली माविका प्रअ तथा सो २२ औं राष्ट्रिय भूकम्प दिवस समारोहका विशिष्ट अतिथि टंकप्रसाद दहालले नगद, पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभयो ।
कविता प्रतियोगिता अघि सोही कार्यक्रममा सहभागी प्रतियोगी बालबालिका २३ जना र मन्थली माविका ४० जना गरी करिब ६५ जना विद्यार्थीहरूलाई काठमाडौँबाट आउनु भएका अतिथि कवि तथा निर्णायकद्वय रुपक अलङ्कार र देवु लुइँटेलले ‘बाल कविताको लेखन’ विषयमा १ घन्टा तालिम प्रदान गर्नुभयो । विद्यार्थीहरूले सो कार्यक्रमलाई रुचिपूर्वक लिएका थिए । सहभागी विद्यार्थीहरूलाई नयाँ स्वाद दिनकै लागि आफूहरूले स्थलगत कविता लेखनको कार्यक्रम र तालिम कार्यशालाको संयोजन गरेको जानकारी सो कार्यक्रमका आयोजक तथा पत्रकार प्रकाश न्यौपानेले गराए । सो कार्यक्रम मन्थली माविका सहायक प्रधानाध्यापक पेशल आचार्यको सञ्चालनमा भएको थियो ।
कार्यक्रमबाट ‘आफूले बाललोरी, गजल, सवाई र झ्याउरे कविताका बारेमा केही कुरा थाहा पाएको र आगामी दिनमा जिल्लाका जिम्मेवार शैक्षिक संस्थाहरूले यस्तै सिप उन्मुख र रचनात्मक प्रकृतिका कार्यक्रमहरू आयोजना गर्नुपर्ने’ धारणा मन्थली माविमा कक्षा १२ मा अध्ययनरत छात्रा नवीना सुनुवारले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *