बालसाहित्य प्रतिष्ठान नेपालका दुई नयाँ किताब

Featured बजारमा नयाँ बालपुस्तक मेरो आवाज मैले पढेको किताब

– कार्तिकेय

बालसाहित्य प्रतिष्ठान नेपालबाट दुईवटा बालकविता सङ्ग्रहहरु प्रकाशित भएका छन् । प्रतिष्ठानबाट प्रकाशित यी कृतिहरु शैलेन्दुप्रकाश नेपाल लिखित ‘जूनलाई चुम्ने इच्छा’ र देवु लुइँटेल लिखित ‘मेरो गाउँ’ हुन् ।

प्रतिष्ठानबाट प्रकाशित पहिलो कृति ‘जूनलाई चुम्ने इच्छा’ लेखक नेपालको चौथो बालकवितासङ्ग्रह हो । यसअघि उहाँका ‘झुल्के घाम’, ‘मकमक घुर्र’ र ‘सानी नानी’ गरी ३ वटा बालकाव्य कृतिहरु प्रकाशित छन् । केटाकेटी मिडियाबाट उहाँको ‘फूलको साथी’ बालकथासङ्ग्रह पनि प्रकाशित भएको छ ।

‘जूनलाई चुम्ने इच्छा’ बालकविताकृतिमा १५ वटा कविताहरु छन् । पढ्न बस, स्कुल कहिले जाने, मलाई मनपर्छ, हजुरआमा, दसैँ आयो, मुसो आयो, गुच्चा लगायत यी कविताहरु बालबालिकाको रुचि र भावनालाई समेटेर लेखिएका छन् ।

    राष्ट्रकवि माधव घिमिरेले बालकविता रचना गर्दा लेखक आफूले आफू के सोचिरहेको छु भन्ने होइन बालबालिकाका सुख र दुःखलाई उनीहरुकै भाव र बोलीलाई पक्रेर सरल भाषामा लेख्न सक्नुपर्छ भन्ने धारणा केटाकेटी अनलाइनका लागि गरिएको कुराकानीमा भन्नुभएको थियो । बालकवितामा सरल ठेट नेपाली भाषा र लयात्मकता पनि महत्वपूर्ण हुन्छ भन्ने राष्ट्रकविज्यूको जोड थियो ।         

वास्तवमा राष्ट्रकविज्यूको बालकवितालाई हेर्ने यो चश्मा लगाएर हेर्ने हो भने लेखक नेपालका यी बालकविताहरु उत्कृष्ट छन् । यी कवितामा बालबालिकाको हाँसो, समस्या र बाल इच्छा अनि अकांक्षालाई सरल भाषामा व्यक्त गरिएको छ । हरेक कवितामा लयले मिठास थपेको छ । बालकविता लेख्दा शब्दहरुको लयात्मक संयोजनका साथै तिनमा भाव पक्ष पनि बलियो बनाउन सकियो भने ती कविता सुन्दर र पठनीय बन्न सक्छन् भन्ने सन्देश लेखक नेपालका यी बालकविताहरुबाट लिन सकिन्छ । ७ वर्षमुनिका बालबालिकालाई पढेर सुनाउन र त्योभन्दा माथि उमेरकाले आफैँ पढ्न सक्ने यो बालकविताको किताब शुद्ध नेपाली भाषामा बालकविताको स्वाद आफ्ना बालबालिकालाई दिन चाहने हरेक अभिभावक, विद्यालय र पुस्तकालयहरुका लागि यो कृति पठनीय र उपयोगी रहेको छ । यो किताबमा रंगीन २० पृष्ठ रहेका छन् । मूल्य रु. १ सय ३५ रहेको छ ।
किताबमा चित्रकार पल्पसा मानन्धरका चित्रहरु रहेका छन् । चित्रकार पल्पसा मानन्धर बालसाहित्य प्रतिष्ठान नेपालका नियमित चित्रकार हुनुहुन्छ । रिड मिडियामा संलग्न चित्रकार मानन्धरले यस कृतिमा आकर्षक चित्रहरु बनाउनु भएको छ । तिन दर्जन बढी कृतिहरुमा चित्र बनाइसक्नुभएकी मानन्धर नयाँनयाँ शैलीमा चित्र बनाउन सिपालु युवा चित्रकार हुनुहुन्छ । उहाँले चित्रकला विषयमा ललितकलाबाट स्नातकोत्तर गर्नुभएको छ । उहाँ वर्षका उत्कृष्ट चित्रकार पुरस्कारबाट पुरस्कृत चित्रकार हुनुहुन्छ । उहाँले थुप्रै पटक एकल तथा सामूहिक चित्रकला प्रदर्शनीहरुमा भाग लिइसक्नुभएको छ । उहाँको सुन्दर चित्राङ्कनले यस कृतिलाई अझ बढी आकर्षक बनाएको छ । 

प्रतिष्ठानबाट वर्ष २०७६ मा प्रकाशित अर्को कृति मेरो गाउँ देवु लुइँटेल लिखित बालकविता सङ्ग्रह हो । लेखक लुइँटेल बालसाहित्य लेखनमा सक्रिय प्रतिभा हुनुहुन्छ । छन्द वाचन, लेखन तथा सम्पादनमा उहाँको सक्रियता प्रशंसनीय रहेको देखिन्छ । यसअघि उहाँका स्वाभिमान (२०७०), नेपाली हिज्जे स्वरुप र प्रयोय (२०७०) लगायत कृतिहरु प्रकाशित छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित बालपत्रिका बालप्रज्ञाका सम्पादक उहाँले जदौका निबन्ध, ड्रिम्स, स्पन्दन, सहकार्य आदि पत्रपत्रिका तथा कृतिहरुको सम्पादन गर्नुभएको छ । ग्लोबल थिएटर फेस्टिबल मुभमेन्ट, उडिसा, भारत र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, काठमाडौँबाट पुरस्कृत उहाँले पुष्पराग सर्वोत्कृष्ट रचनाकार सम्मान, बुद्ध डेन्टल हस्पिटल सर्वोत्कृष्ट प्रतिभा पुरस्कार साथै काव्य गुञ्जन, छन्द तरङ्ग लगायत संघसंस्थाहरुबाट पुरस्कार सम्मानहरु प्राप्त गर्नुभएको छ । साहित्य सिर्जनाका अतिरिक्त उहाँ बालकविता, कथा र गजल लेखक/प्रशिक्षकका रुपमा पनि चिनिनुभएको छ । उहाँ हाल एसओएस स्कुल, काभ्रेमा नेपाली विषय शिक्षकका रुपमा कार्यरत हुनुहुन्छ ।

 मेरो गाउँ कृतिमा रहेका सुन्दर चित्रहरु चित्रकार पल्पसा मानन्धरले बनाउनु भएको हो । यस कृतिमा रमाइला १२ वटा बालकविताहरु रहेका छन् । मेरो गाउँमा, पुतली र फूल, इन्द्रेणी, हावा, पानी, साथी, कमिला, मौरी, बादल, आच्छुआच्छु जाडो लगायत विविध शीर्षकमा रहेका यी कविताहरु बालरुचि र विषयका कविताहरु हुन् । यी कवितामा बालबालिकाको भावना पोखिएको छ । बालबालिकाले स्कुलप्रति राख्ने दृष्टिकोण, जाडो हुँदा उनीहरुले पाएको दुःख अनि बादल र इन्द्रेणीलाई हेर्दा बालमनमा उत्पन्न हुने जिज्ञासालाई लेखकले सुन्दर शैलीमा प्रस्तुत गर्नुभएको छ ।

 वास्तवमा वर्तमान समयमा बालबालिकाको सोचाइको स्तर मल्टिमिडियाले गर्दा निकै फराकिलो बनिसकेको छ । उनीहरुलाई शिक्षा दिन्छु भन्ने भावनाबाट प्रेरित भएरबालसाहित्य लेखनमा प्रवृत हुन खोज्नु लेखकका लागि जोखिमपूर्ण हुनसक्छ । एउटा शिक्षक भएका नाताले लेखक लुइँटेल यो कुरामा सचेत देखिनुहुन्छ । यस कृतिमा समावेश कविताहरुमा लेखक कतै पनि शिक्षकका रुपमा प्रस्तुत हुनुभएको छैन । लेखक बालबालिकाको साथीको रुपमा वा बालबालिका स्वयं भएर प्रस्तुत भएका यी कविताहरु पठनीय छन् । बालमैत्री छन् । यस कारण यी कवितामा बाल लोली र बोली सुन्न सकिन्छ । बाल हृदयको स्पन्दन महसुस गर्न सकिन्छ ।  सरल र शुद्ध नेपालीमा लेखिएका बालकविता आफ्ना बालबालिकालाई पढाउन चाहने सबैका लागि यो कृति किनेर पढ्न योग्य रहेको छ । बुकआर्ट नेपाल, कुलेश्वर, काठमाडौँबाट वितरीत यो किताबमा रंगीन २० पृष्ठ रहेका छन् । मूल्य रु. १ सय ४५ रहेको छ । यी कृतिहरु वि.सं. २०७६ मा प्रकाशित हुन् ।

 अन्त्यमा प्रतिष्ठानबाट कृति प्रकाशित लेखकद्धय नेपाल र लुइँटेल तथा चित्रकार मानन्धर, डिजाइनर रश्मी खागी लगायत सबैमा हार्दिक बधाई छ । यी सर्जकहरुलाई भविष्यमा पनि यस्तै स्तरीय रचनाहरु सिर्जनाका लागि शुभकामना व्यक्त गर्दछु । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *