काठमाडौँ, २०७७ साउन २३
बुढानीलकण्ठ, काठमाडौँस्थित केयर बालगृहबारे बालगृहहरुको महासंघ नेपालले प्रेस विज्ञप्ती जारी गरेको छ । महासंघका अध्यक्ष दुर्गादेवी मैनाली द्वारा हस्ताक्षरित विज्ञप्तीमा बालबालिकाको बाँच्न पाउने अधिकारको सम्मान गर्न आव्हान गरिएको छ।
विज्ञप्तीमा भनिएको छ – “केही दिन यता समाचार तथा सामाजिक सञ्जाल मार्फत काठमाडौँ कपन नजिक झाडीमा कार्टुन भित्र राखी भर्खर मात्र जन्मेकी एक बालिकालाई कसैले छाडि गएको र निज बालिकालाई केयर बालगृहले उद्दार गरेको समाचार आइरहेको छ । उक्भ झाडीमा फालिएकी बालिकाको बारेमा सर्वत्र चासो हुनु स्वाभाविकै हो । फेरि केयर नेपाल बालगृह र ती बालिकालाई जन्म दिने आमासँगको प्रत्यक्ष सल्लाहमा बालगृहले उद्दार गरेको जस्तो देखिने गरी समाचारहरु प्रकाशन भएका छन् ।
निज बालिकालाई जन्म दिने आमासँगको मिलेमतोमा बालगृह संचालिकाले आफूबाट उद्दार हुन गएको भनी एक भिडियो अन्तर्वार्तामा पनि स्वीकार गरिसकेको देखिन्छ । यसमा देशैभरि संचालनमा रहेका बालगृहहरुको छाता संगठन बालगृहहरुको महासंघ नेपालको पनि गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारबाट अनुमोदन भएको बालअधिकार महासन्धी सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी १९८९ अनुसार बालबालिकाको बाँच्न पाउने हक अधिकार र नैसर्गिक बालअधिकारको पूर्ण समर्थन जनाउँदै सत्यतथ्य पत्ता लगाउन र दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ ।”
आज केटाकेटी अनलाइनसँग गरिएको कुराकानीमा अध्यक्ष मैनालीले उद्दार गरिएका बालबालिकाको पालन पोषण र संरक्षणमा विशेष ध्यान दिन सम्बन्धित पक्षलाई आव्हान गरेकी छिन् । उनले भनिन्– हामी बालबालिकालाई जोर जर्वजस्ती गरेर दुःख दिइएकोमा खुसी छैनौँ । सबै पक्षलाई बालबालिकाको शान्तिपूर्वक सुरक्षित साथ बाँच्न पाउने अधिकारको सम्मान गर्न अपिल गर्दछौँ ।