– सरिता अर्याल
बालगृह जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाका लागि स्थापित सुरक्षित आवास हो । बाबुआमा र अभिभाावक गुमाएका र सडकमा बेवारिसे भेटिएका अनाथ बालबालिकालाई विभिन्न सरकारी तथा गैरसकारी स्तरमा सञ्चालित बालगृहहरूले आश्रय दिएर उनीहरूको पालनपोषण गर्दै आएका छन् । यो वास्तवमै एक पवित्र कार्य हो ।
यस्ता बालगृहहरुले गर्दा नै सहाराविहीन अनाथ बालबालिकाले गाँस, बास, कपास र सुरक्षा पाएका छन् । उनीहरूले आकाशको छानामुनि सडकमा धुवाँ, धुलो, घाम पानी सहेर बेवारिसे र अपहेलित जीवन बिताउनु परेको छैन । त्यो बालगृह उनीहरूको घर बनेको छ भने उनीहरूको स्याहार सुसारमा निस्वार्थ रूपमा खटिएका आया उनीहरूका ममतामयी आमा बनेका छन् । त्यहाँका बालबालिका एक अर्काका दाजुभाइ र दिदीबहिनी बनेका छन् । यसरी सरकारी मापदण्ड पूरा गरी दर्ता भई सम्पूर्ण रूपमा बालमैत्री वातावरणमा सञ्चालित बालगृहहरूमा बालबालिकाले आफ्नो गुमेको घर परिवार फिर्ता पाएको महसुस गरेका हुन्छन् । यस्ता बालगृहमा उनीहरूले उचित शिक्षा र संस्कार पाएका छन् । उनीहरूले समाजमा सम्मानित जीवन बाँच्न पाएका छन् ।
तर समाजसेवालाई नाफामुखी नजरले हेर्ने त्यस्ता गलत मानसिकताबाट सञ्चालित केही बालगृहहरुमा भने हाल बालबालिकाहरू थप असुरक्षित हुनुका साथै जोखिममा पर्न गएका छन् ।
बीबीसी अनलाइनमा प्रकाशित एक समाचारका अनुसार बेलायतका चार बालगृहहरूले हाल विश्व माहामारीको रूपमा रहेको कोरोना भाइरस (कोभिड १९) को यस सङ्कटकालीन परिवेशमा आफ्ना बालगृहमा रहेका बालबालिकालाई उचित नेतृत्त्वका साथ सुरक्षित राख्न नसकेको भनी अधिकारीहरूबाट आलोचना भएपछि बन्द भएका छन् । निरीक्षकहरूले बालगृहका सुत्ने कोठामा ओछ्यान नभएको, गोप्य कागजात जथाभावि राखिएको र ब्यवस्थापकरहित बालगृह सञ्चालनमा रहेको लगायतका विभिन्न गम्भिर त्रुटिहरू निरीक्षणका क्रममा फेला पारेको बताएका छन् । हरेक बालगृहमा दुइदेखि आठ बालबालिकामा गरिएको अनुसन्धानका आधारमा तयार पारिएको प्रतिवेदन अनुसार,
एउटा बालगृहमा धेरै महिनादेखि व्यवस्थापक थिएन र अनुगमनका क्रममा उक्त बालगृहमा थुप्रै कमि कमजोरी देखियो र दोश्रो अनुगमनका क्रममा पनि कुनै सकारात्मक प्रभाव देखिएन । बालबालिकाको संख्या घटाउन भनी दुई पटकसम्म सुचना जारी गर्दा पनि पालना नभएपछि अन्ततः उक्त बालगृह बन्द गरियो । अर्को बालगृह अप्रिल महिनामा पुनः सञ्चालन गरियो र अनुगमनका क्रममा फेरि गम्भिर त्रुटि फेला परेपछि पुनः जुन महिनामा बन्द भयो । गत महिना तेश्रो बालगृह निरीक्षणका क्रममा निरीक्षकहरूले डिसेम्बर २०१९ मा गरेको अन्तरिम निरीक्षणमा उठाइएका दश आवश्यक्ता पूरा गर्ने सम्बन्धमा थोरै प्रगति भएको पाए । चौँथो बालगृहको अनुगमनका क्रममा अनुगमनकर्ताले केही सुत्ने कोठामा ओछ्यान नभएको र बालबालिकाका जानकारी समेटिएका गोप्य कागजात बैठक कोठामा र डाइनिङ हलमा जोसुकैको पहुँचमा पुग्ने गरी राखिएको पाइएपछि जुन महिनादेखि बन्द भयो । धार्मिक समूहका प्रवक्ताका अनुसार त्यसको गृह सञ्चालन गर्ने सम्झौता जनावरी २०२१ मा समाप्त हुँदै थियो र कोभिड १९ को महामारीका कारण बालबालिकाको स्याहार गर्ने कर्मचारीको व्यवस्था गर्न र बालबालिकाका आवश्यकता पूरा गर्न पनि त्यहाँ कठिन थियो । अधिकारीका अनुसार यस विश्व महामारीका बेला बालबालिकाको उचित हेरचाह गर्न नसकेकाले बालगृहको दर्ता स्थगित भएको छ ।
नेपालमा पनि केही बालगृहमा बालबालिका असुरक्षित रहेको पाइन्छ । यही श्रावण १२ गतेका दिन काठमाडौको कपनस्थित एउटा खुला चौरमा एउटी नवजात सिशुलाई कार्टुनमा राखेर छोडिएको अवस्थामा भेटेको भनी केयर बालगृहकी संस्थापकले सञ्चार माध्यममा एकपछि अर्को गर्दै अन्तरवार्ता दिइन् । त्यसपछि ती बालिकाका लागि देशविदेशमा रहेका सहयोगी नेपालीहरूले धमाधम सहयोग पठाए तर त्यसको केही दिनमा नै उक्त घटना सुनियोजित रूपमा मिलेमतोमा कपोलकल्पित ढंगमा पैसा कमाउने उद्देश्यका लागि निर्माण गरिएको भनी पर्दाफास भएपछि त्यस बालगृहमा आश्रित ११ बालिकाको सुरक्षामा समेत प्रश्न चिन्ह खडा भयो र यथासमयमा बालअधिकार परिषद्ले उनीहरुलाई अस्थायी संरक्षण गृहमा स्थानान्तरण गर्यो । उक्त घटनाको दोषी भनिएकी महिलाको विषयमा अहिले प्रहरीले थप अनुसन्धानको गरिरहेको छ । यो घटनाले अन्य बालगृहका बालबालिकाको अवस्थाबारे पनि उचित अनुगमन गर्नु पर्ने आवश्यकताको आभास गराएको छ ।
बालगृह भगवान रूपि अबोध बालबालिकाको पवित्र मन्दिर हो । तसर्थ उनीहरूको जिम्मेवारी बहन गरेका बालगृहका सञ्चालक र अन्य सम्पूर्ण सदश्यले उनीहरूको सुरक्षाको प्रत्याभूति गर्नु जरुरी छ । बालबालिकालाई पैसा असुल्ने माध्यम वा अन्य गलत प्रयोजनका लागि दुरुपयोग गर्नु उनीहरूको भविष्यमाथि गरिएको अक्षम्य अपराध हुनेछ । यस्ता घटनाहरूले हरेक बालगृह माथि “के ती बालगृहमा बालबालिका सुरक्षित छन् त?” भन्ने शंका पैदा गर्दछन् । तसर्थ अबका दिनमा यस्ता घटनाहरू दोहोरिन नदिनु नै उचित हुन्छ र त्यसका लागि देशभर स्थापित बालगृहरूको निरन्तर अनुगमन हुनु अत्यावश्यक देखिन्छ ।