अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बालसाहित्य

मैले पढेको किताब

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), अमेरिकाबाट लेखक, अधिवक्ता एवम् मानवअधिकारकर्मी हाल राष्ट्रिय मानव अधिकार आयोगको प्रवक्ता रहनुभएकी अधिकारकर्मी कमला ओलीको जेलभित्रकी सानी बालकथासंग्रह प्रकाशित भएको छ । आदरणीय लेखक एवम् अनेसासका ट्रस्टी गीता खत्री अध्यक्ष रहनुभएको कार्यकालमा प्रकाशित यस कृतिमा सपनाको संघर्ष, बदलाको भावना, बिछोड–मिलन, जेलभित्रकी सानी, व्यस्तताको परिणाम, गरिब जीवन, उसमाथि गोली चलेको रात, छाउपडी र वेदना  र शंकाको परिणाम गरी ९ वटा  कथाहरु रहेका छन् ।

यी कथाहरु पढ्दै जाँदा नेपाली समाजमा बालबालिकाहरुले भोगिरहेको समस्या र पीडाले पाठक मनलाई भावुक बनाउँछ । लेखक ओली भन्नुहुन्छ– “जेलभित्रकी सानी मैले विभिन्न समयमा लेखेका कथाहरुको संग्रह हो । यसमा नेपाली समाजको दर्द, पीडा र यथार्थ प्रतिबिम्बित गर्ने कोसिस गरेकी छु । देशमा २०५२ सालदेखि २०६२ सालसम्मको द्वन्द्वको समयमा बालबालिकामा परेको नकारात्मक असरलाई मैले कथामा विषयवस्तु बनाएकी छु । समाजको यथार्थलाई उजागर गर्ने र सकारात्मक सन्देश दिने मेरा कथाहरुको मूल विशेषता हो भन्ने मलाई लागेको छ ।”

अनेसासका ता. अध्यक्ष गीता खत्रीेले प्रकाशकीय मन्तव्यका भन्नुभएको छ – “लेखक कमला कानुन व्यवसायी मात्र होइनन्, उनी पत्रकार पनि हुन् । खास गरी बालबालिकाको हितका लागि लेख्ने र संघर्ष गर्ने पत्रकार पनि ।”

अनेसासको ७६ औँ थुँगाका रुपमा प्रकाशित यस कृतिमा भर्खरै निवर्तमान हुनुभएका अनेसासका अत्यन्त सक्रिय पूर्व अध्यक्ष राधेश्याम लेकालीले शुभकामना मन्तव्यका क्रममा भन्नुभएको छ – “कथाकार ओलीको प्रस्तुत कथासंग्रहमा उनका नवीन सोच र बलियो शिलपकला उद्घाटित भएको छ ।”

जम्माजम्मी ३२ पृष्ठ, आवरण रंगीन र भित्री एकरंगी छपाइ रहेको यस कृतिको मूल्य रु. ७० रहेको छ । चित्रकार उमेशचन्द्र अधिकारीका सुन्दर चित्रहरुले सजिएको यस कृति लेखक ओलीले आफ्ना मातापिता स्व. नारायण ओली र सावित्रा ओलीलाई समर्पण गर्नुभएको छ । मातापितालाई कृति समर्पण गर्नेक्रममा लेखक ओलीले लेख्नुभएको भनाइ पनि मार्मिक रहेकोले यहाँ साभार गरेका छौँ । समर्पणका क्रममा उहाँ भन्नुहुन्छ – “मेरा परमपुज्य पिता स्व. श्रीनारायण ओली र ममतामयी माता सावित्रा ओली जसले मलाई यस धर्तीमा जन्म दिएर सभ्य मान्छेका रुपमा बाँच्न सिकाउनुभयो, आमजनसमुदायको पक्षमा शिर ठाडो पारेर उभिरहने र बाँचिरहने प्रेरणा दिनुभयो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *