काठमाडौं, २०७७/०९/२७
बालसाहित्य प्रतिष्ठान नेपाल (सी.एल.एफ.एन.) को हजुरबुवा हजुरआमा भन्नुहुन्छ मेरो गाउँको कथा नामक ‘लोककथा सङ्कलन’ कार्यक्रम काभ्रेका जिल्लाको तिमाल गाउँ, गत शुक्रबार सम्पन्न भएको छ । सी.एल.एफ.एन. भक्तपुर जिल्ला अध्यक्ष रश्मी खागीको संयोजकत्वमा तथा युवा कवि ईश्वर थोकरको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा रोशी खोलाको किनारमा रहेको तिमाल गाउँका स्थानीय वयोवृद्ध पदमवीर दोङले कथा वाचन गर्नुभएको थियो । ८७ वर्षका उहाँ विस्तारै हिँडडुल गर्न सक्नुहुन्छ । उहाँले नेपाली भाषा र तामाङ भाषामा गरी ४ वटा कथा सुनाउनुभयो भने उहाँसँगै हौसिएर स्थानीय राम बहादुर दोङले पनि भूतको कथा वाचन गर्नुभयो ।
केटाकेटी उमेरमा हजुरबा–हजुरआमासँगै बसेर कथा सुन्ने र कथा सुनाउनुहोस् भनी उहाँहरुको पछि लाग्ने परम्परा भने अहिले हराइसकेको छ । आधुनिकीकरण र प्रविधिको बढ्दो पहुँचमा रम्न थालेका अचेलका केटाकेटीहरु कथा सुन्न भन्दा मोबाइलमा गेम खेल्नमा व्यस्त भेटिन्छन् । कवि तथा साहित्यकार ईश्वर थोकरले आफू सानो छँदा हजुरबाले सुनाउनुभएको ‘बेल रानीको कथा’ निकै रोमाञ्चक रहेको जुन कथा हाल राम्ररी सम्झन नसकिएको बताउनुभयो । “सानोमा त धेरैपल्ट हजुरबाले सुनाउनुभएको हो, आफैले लेख्न थाल्दा पनि सङ्ग्रह गर्नुपर्छ भन्ने हेक्का भएन, हजुरबा बित्नुभएकाले अब त्यो कथा कसलाई थाहा होला भन्ने जानकारी नै छैन”, उहाँको दुखेसो थियो ।
संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार लोककथा भनेका अमूर्त सम्पदा ९क्ष्लतबलनष्दभि ज्भचष्तबनभ० हुन् जुन पुराना पुस्ताबाट नयाँ पुस्तालाई मौखिक रुपमा प्रदान गरिन्छ । यी सम्पदाहरुलाई संरक्षण गर्न जानिएन भने हाम्रा अमूल्य सम्पदाहरु एक–एक गरेर नष्ट भई हराएर जान सक्ने उहाँ बताउनुहुन्छ ।
“सरकारी तथा अन्तर्राष्ट्रिय निकायहरु मूर्त सांस्कृतिक धरोहरहरुमा चासो देखाइरहँदा लोककथा जस्ता अमूर्त सम्पदाहरु ओझेलमा परेका छन् । हाम्रो प्राचीन सभ्यता र लोकसंस्कृति बोक्ने यी सम्पदाहरु ती मूर्त सम्पदा भन्दा पनि चाँडो हराउँदै गइरहेका छन्,” कार्यक्रम संयोजक रश्मी खागीले भन्नुभयो । अझै पनि पुराना पुस्ताका अग्रजहरुबाट लोककथाहरु पाउन सकिने सम्भावना रहेको हुँदा निरास भइहाल्नुपर्ने अवस्था नभएको तर ती लोककथाहरु नष्ट हुनु अगाडि नै यसको सम्वद्र्धनमा जुट्नुपर्ने र भावी पुस्ताका लागि यसको संरक्षण गरिनु निकै आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले ‘लोककथा सङ्कलन’ कार्यक्रमबाट सङ्कलन गरिएका लोककथाहरु छिट्टै प्रकाशन गरिने र देशव्यापि रुपमा सो अभियान सञ्चालन गर्ने प्रतिष्ठानको सोच रहेको पनि जानकारी दिनुभयो ।