कार्तिकेय बालप्रतिभा पुरस्कार मुगुका बालकलाई

समाचार

काठमाडौँ, वैशाख ४, २०७८

विगत २५ वर्षदेखि प्रतिभाशाली बालबालिकालाई प्रदान गरिँदै आइएको कार्तिकेय बालप्रतिभा पुरस्कार २०७७ सालका लागि मुगु जिल्लाका प्रतिभाशाली बालक कर्णसिंह खड्कालाई प्रदान गरिने भएको छ । कार्तिकेय ट्रस्ट नेपालका अध्यक्ष मोहन कार्कीको अध्यक्षतामा आज बसेको बैठकले यो निर्णय गरेको हो । सानैदेखि कविता लेख्न र गाउन रुचि राख्दै आएका बालप्रतिभा खड्काले २ सय ५० भन्दा बढी बालकविताहरु सिर्जना गरेका छन् । उनको चारवटा कपीमा लेखिएका कविताहरुको पाण्डुलिपि अध्ययन गरेपछि ट्रस्टले यो निर्णय गरेको अध्यक्ष कार्कीले बताउनु भयो । गीत लेखन, गायन र कविता लेखनमा रुचि राख्ने कर्णसिंह विद्यालय स्तरीय प्रतियोगिताहरुमा धेरै पटक पुरस्कृत भइसकेका छन् । उनी थ्री स्टार स्कुलमा कक्षा ७ मा अध्ययन गर्छन् ।

मुगु जिल्लाको लुम गाउँमा जन्मिएका बालप्रतिभा कर्णसिंह हाल बुढानीलकण्ठ नगरपालिका पासिकोट ४ स्थित चाइल्ड केयर क्लबमा बस्छन् । जीवनमा जस्तोसुकै कठिनाई आइपरेपनि सिर्जनात्मक समुज्ज्वल भविष्यतर्फ अग्रसर मिहिनेती बालक कर्णको हौसला र उनको लेखन क्षमताको कदर गर्दै यस पुरस्कार प्रदान गरिएको ट्रस्टले जनाएको छ । पुरस्कृत प्रतिभालाई नगद रु दस हजार ५ रुपियाँ र ताम्रपत्र प्रदान गरिने छ ।

पुरस्कृत बालप्रतिभा कर्णसिंहको एउटा बालकविताकृति प्रकाशनका लागि कार्तिकेय ट्रस्ट नेपाल र चाइल्ड केयर क्लबले प्रयास गर्ने क्लबका प्रमुख समाजसेवी रोज गार्डेन प्रधानले बताउनुभएको छ ।

यसरी फरक परिवेशमा बाँचेर जीवनमा संघर्ष गर्दै आफ्नो सिर्जनात्मक भविष्य उज्ज्वल बनाउन अग्रसर कर्णसिंह खड्काजस्ता प्रतिभाशाली बालप्रतिभालाई पुरस्कृत गर्न पाएकोमा ट्रस्ट परिवार आभारी भएको ट्रस्टका अध्यक्ष कार्कीले बताउनुभयो ।

कार्तिकेय ट्रस्ट नेपाल लेखक कार्तिकेय घिमिरेको लेखकस्ववापत जम्मा भएको रकमको कोषबाट स्थापना गरिएको हो । लेखक घिमिरेद्वारा लिखित, सम्पादित र अनुदित १ सय ५९ वटा बालकृतिहरु प्रकाशित छन् । वर्ष २०७७ मा यस ट्रस्टले ब्रेललिपिमा बालपुस्तक प्रकाशन, बालपुस्तक सहयोग, नयाँ बाललेखकलाई बालपुस्तक प्रकाशन सहयोग र कथा सुनौँ र सुनाऔँ शिविरहरु तथा फरक क्षमताका बालबालिका माझमा कथावाचन तथा विविध सिर्जनात्मक लेखन कार्यक्रमहरुका लागि च्यारिटी सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *